साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सार‘मति’

Nepal Telecom ad

आज मैले पढेको छैन, जाँच सार्नुपर्यो भनेर विद्यार्थीले भन्दा सरमिसले के गर्लान् ? कि गाला पड्काउँछन्, कि आँखा तर्छन् । मरिगए पनि जाँच सार्दैनन् । तोकिएको दिन र समयमै जाँच हुन्छ, विद्यार्थीले तयारी गरुन् कि नगरुन् । आज मेरो तयारी पुगेको छैन, खेल्दाखेल्दै र बरालिँदा बरालिँदै पढ्न भ्याइएन भनेर तिनले सुख पाउँदैनन् । किनकी परीक्षाको तालिका निर्धारण गर्ने अधिकार उनीहरूलाई हुँदैन, शिक्षक शिक्षिकासित हुन्छ । परीक्षा तालिकाको अधिकार विद्यार्थीको हातमा भएको भए शायद धेरैजना एउटै कक्षामा डल्लो परेर बसेका बस्यै हुन्थे होला ।

विद्यार्थीकालमा यस्तै धेरै भोगेर र आपूm शिक्षक हुँदा विद्यार्थीलाई यसैगरी तालिका पालनामा जोड दिंदै आएका नेताज्यूहरूको कुरा नै बेग्लै । भनेको समयमा पाठ गरेन भनेर उबेला शिक्षक भएका हाम्रा नेताहरूले विद्यार्थीलाई कति पड्काए होला ? आफू विद्यार्थी भएको बेला कति झापड खाए होला ? हुन त कसैले नमानेपनि सबैले मानेका झन् भनेर मख्ख पर्ने, आफैंले आफूलाई ठालु ठान्ने नेताज्यूहरू त विधि, विधान र नियमकानुन भन्दा माथिका मान्छे । त्यसमाथि विधान र कानुन बनाउने ठेक्का लिएका । उनीहरूले जे गरेपनि जनताले हो हजुर भनेर मान्नुपर्ने । त्यसैले त यिनले आफ्नो आयु र चाडपर्व बाहेकका तिथिमिति धकेल्दै धकेल्दै कहिल्यै नभेट्ने ठाउँमा पुर्याइरहे ।

समय छउञ्जेल यिनीहरू निदाएरै बसे । एकले अर्कोलाई सकेजति गाली गरे । अन्तै बरालिए । खेले, उफ्रे, कुदे, रमाए । गर्न हुने, नहुने सबैथोक भ्याए । जब तोकेको तिथि भेटिने बेला भयो अनि यिनीहरू जर्याकजुरुक उठे, आँखा मिचे । हस्याङफस्याङ गर्दै जम्मा भए । के के न बित्न लाग्यो, अब त केही गर्नुपर्यो भनेर झल्याँस्स भए झैं गरे । भोकनिन्द्रा सबै हराएझैं छटपटिए ।

घाम अस्ताउन लाग्दा बिस्कुन सुकाउन खोजेजस्तो बेला बित्न लागेपछि सधैं यिनीहरूले दौडधूप गरे । अन्तिम क्षणमा बस्ने बेला सबैको राय हुन्छ, यो पाला भ्याईएन अर्को पाला गर्ने । तर त्यो अर्कोपाला कसरी भ्याईन्छ भन्ने चाहिं यिनलाई थाहा हुन्न । यसलाई धकेलौं, त्योबेलासम्म कुनै उपाय गरौंला भन्ने यिनको सल्लाह हुन्छ । त्यसैले बुँदाबुँदा मिलाउने बेला झगडा गर्ने, सहमति जुटाउन नसक्ने उनीहरू सार्ने बेला भने एकमत हुन्छन् । उनीहरूबाट सर्वसम्मतिले भएको काम यही एउटै हो, समय भ्याइएन तिथि सार्ने ।

अरु कुरामा उनीहरूले कहिल्यै कुरा मिल्दैन । बल्लतल्ल मिलेकोमा पनि अर्कोले भाँझो हाल्छ । एउटा बुँदा सच्याउन चारथरीको बुँदामा सहमति जुटाउनुपर्छ । त्यही बुँदा खोज्न पनि दशतिर चाहानुपर्छ । अब त अलिकति मिल्यो भन्यो फेरि अर्कोले हैन मिलेको छैन भन्छ । त्यही दलका एउटाले यही हो भन्छ । उसकै अर्कोले हैन, यो हैन त्यो भन्छ । यो हो कि त्यो हो, जनताले न भेऊ पाउँछ । न जान्न नै खोज्छ । अरुबेला यिनका कुरा नबुझेर हैरान हुने जनताले तब मात्र कुरा बुझ्छन्, जब यिनले समय सार्नेमा सर्वसम्मति गर्छन् ।

भनेको समयमा खुरुखुरु काम गर्न कहिल्यै सहमति नजुट्ने, तर काम सार्न र टार्न सधैं सर्वसम्मति हुने यो विषय अब नौलो हुन छाड्यो । बेला घर्कँदासमेत पत्तो नपाएर सधैं निदाउने तर तिथिमिति सार्ने बेला झल्याँस्स हुने उनीहरूबीच कहिल्यै सहमति भएन, ‘सार’मति मात्र भयो । यही सारमतिले उनीहरू पछारिएका छन् । बानेश्वरको फाँटमा पछारिनुअघि उनीहरूलाई संविधानको काम सार्ने बानी परेको थियो । अहिले सार्ने पालो आएको छ चुनावको । सुनाब सारेपछि उनीहरू फेरि सहमति खोज्न पहिले झैं रिसोर्ट, होटल र चोटाकोठा चाहार्नेछन् । चाहार्दा चाहार्दै खुट्टा गलेपछि उनीहरूलाई फेरि सार्ने र टार्ने मति आउँछ । सहमति भन्दा सारमतिमै रमाउने नेताज्यूहरूको जय ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
नेताजीको म्याद

नेताजीको म्याद

मिलन तिमल्सिना
0
Would love your thoughts, please comment.x
()
x