सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खातका खात विश्वासघात

Nepal Telecom ad

प्रायः विशेष विषयमा विष वमन गर्ने भएपनि आजचाहिँ सामान्य विषयको कुरा खोतल्न पूरा तयारीका साथ उपस्थित भएको छु । सामान्य कुरो पनि किन गर्ने त ? भन्ने प्रश्न उठ्न सक्छ । विषय लाजमर्दो हिसाबले सामान्य बन्दै गएपछि बिचरोको इज्जत सम्म भएपनि जोगियोस् भन्ने मनसायले मात्रै तम्सिएको हुँ ।

विश्वासघात ! हो यही आलुजस्तै गजबको चीजको बारेमा कुरा गर्न खोज्दैछु । जसरी आलुलाई जहाँ, जहिले, जेसँग, जसरी पकाए पनि हुन्छ त्यस्तै विश्वासघात पनि जसलाई, जहिले, जहाँ, जसरी गरेपनि हुँदोरहेछ । विश्वासघात भन्ने कुरो कहिलेदेखि सुरु भयो भनेर ठ्याक्कै मुख फोर्न नसकिएपनि परापूर्वकालदेखि नै चलिआएको रीति भनेर ठोकुवा गर्न चाहिँ डराउनु पर्दैन ।

देउताका पालामा समेत अर्काको गालामा हात बजार्ने रिवाज त्यति फस्टाउन नपाएपनि यो विश्वासघात भन्ने रिवाज मौलाएकै थियो भन्ने कुरो बौलाएकै मान्छेले पनि भन्न सक्छ । महाभारत र रामायणमा सबभन्दा बढी के भएको थियो ? भनेर कसैले सोध्न आँट्यो भने विश्वासघात भन्दिए ढाँट्यो भन्न मिल्दैन । मानव सभ्यताकै इतिहास खोतल्ने हो भने पनि खातका खात विश्वासघात फेला पर्छ । हाम्रै पुरानो नेपालको इतिहास पल्टाउने हो भने पनि त्यहाँ बग्रेल्ती विश्वासघातका एकसेएक नमुना फेला पार्न सक्छौँ । एकताका प्रतीकको पालामा पनि आफ्नो साम्राज्य विस्तार गर्न अनगिन्ती विश्वासघात भएका÷गरेका कुरा छर्लङ्ग छन् । त्यसपछिका दिनहरूमा त झन् विश्वासघातले दह्रोसँग जरो गाडेको कुरो पूर्वइतिहासमात्र हैन भर्खर–भर्खर इतिहास बन्न पुगेको निवर्तमान व्यवस्थाले पनि पुष्टि गर्छ । आफूलाई फाइदा पुग्ने भए जोकोहीले त्यो जाबो फिस्टे विश्वासघात सजिलै गर्दिन्छन् ।

परापूर्वकालदेखि नै बेलाबेलामा हाम्रो मुलुकलाई विश्वासघात गरेर मित्रराष्ट्रले विचित्र गरिरहन्छ । विश्वास ग¥यो कोसी खाइदिन्छ । फेरि विश्वास ग¥यो महाकाली खाइदिन्छ । अझै विश्वास ग¥यो सुस्ता खाइदिन्छ । झन् विश्वास ग¥यो नेताहरूलाई नै चपाइदिन्छ तैपनि हामीले अझै विश्वास गर्न छाडेका छैनौँ । यो हामी नेपालीको बहादुरी हो । शायद त्यसैले नेपालीलाई मित्रराष्ट्रमा बहादुर भन्दाहुन् । मित्रले विश्वासघात गरेर हामीलाई हातले थप्पड हानेपनि हामी लात हान्न सक्दैनौँ । बरु घात सहन तयार छौँ तर लात हाने हाम्रो जात जान्छ । कुनदिन अवशेषै नरहने गरी देशै निल्दियो भनेपनि शायद हामीलाई चिन्ता हुनेछैन । यसै पीडित उसै पीडित । झन् स्वाद ! शरणार्थीलाई अमेरिका जान डि.भि. समेत भर्नु पर्दैन ।

देशको त लौ सीमा भएन भएन, विश्वासघातको त सीमा हुन्छ नि ! भन्थेँ म तर गलत रहेँछु । नेपाली जनताहरूलाई नेताहरूले गरेको विश्वासघातले सीमा नाघेपछि म गलत साबित भएको हुँ । हरेक विश्वासघातीले (नेता भन्न त मनले माने पो !) चुनावका बेलामा जनतालाई सपना बाँडेर विश्वस्त तुल्याउँछन् तर ठाउँमा पुगेर श्रीमतीका नाउँमा घर घडेरी जोडेपछि गाउँमा खुट्टो हाल्दैनन् । त्यस्ता जाबा जनताका सपना त व्हिस्की र ब्राण्डीले सललल ।

नेपाली राजनीतिमा त विश्वासघात पनि कति हो कति ! राष्ट्रपति बनाउँदा विश्वासघात, सरकार ढाल्दा विश्वासघात, नयाँ सरकार बनाउँदा विश्वासघात, जनताले विश्वासै नगरेकालाई मन्त्री÷मुख्यमन्त्री बनाउँदा विश्वासघात, पार्टी बाहिर विश्वासघात, पार्टी भित्र विश्वासघात, समझदारीमा विश्वासघात, सहमती र सहकार्यमा विश्वासघात, एक भोटको लागि विश्वासघात, नोट र कोटको लागि विश्वासघात, दक्षिणपन्थी र उत्तरपन्थीबीच विश्वासघात, वामपन्थी वामपन्थीबीच विश्वासघात, दिनदिनै विश्वासघात, घण्टा–घण्टामा विश्वासघात, मिनेट–मिनेटमा विश्वासघात, सेकेण्ड–सेकेण्डमा विश्वासघात, उफ ! विश्वासघातै विश्वासघात । अब त लाग्छ हरेकले कसै न कसैलाई विश्वासघात गरेन भने त्यसले खाएको भात पच्नेवाला छैन ।

कुरो गर्दागर्दै मैले पनि सुरुमा सामान्य कुरो गर्छु भनेपनि अहिले आएर असामान्य कुरो गरेर तपाइँलाई विश्वासघात गरिसकेँ । के गर्ने ! विश्वासघात नगरीकन जिन्दगी चलाउन गाह्रो छ । आफूले मात्रै नगरेर भएन ! कौवाको बीचमा बकुल्लो कसरी टिक्न सक्छ र ! आउनुस् तपाइँ हामी सबैले आजैदेखि जसलाई, जहाँ, जेमा मेसो पर्छ त्यहीँ विश्वासघात गरौँ । यसलाई नयाँ नेपालमा अझ समुन्नत र समृद्ध बनाऔँ । रातारात गरौँ । घातैघात गरौँ । विश्वासघातलाई राष्ट्रिय पहिचान बनाऔँ र विश्वभरि नै विश्वासघातमै भएपनि विश्वासिलो बनौँ ।
‘फुरौला’ सङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad