सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तुजुक

Nepal Telecom ad

तागतमान सरकारी कार्यालयका कार्यालय प्रमुख हुन् । सरकारी कार्यालयका प्रमुख भएकाले तागतमान भएका हुन् या तागतमान भएका कारणले कार्यालय प्रमुख भएका हुन् भन्ने विवाद जनमत सङ्ग्रहले मात्र सफलताका साथ टुङ्गो लगाउला । तागतमानका टेबुलमा दुईवटा टेलिफोन छन् । एउटा फोन यताबाट गर्ने र अर्कोचाहिँ अर्कोतिरबाट आउने । तागतमान उनको अफिसमा प्रायजसो प्रत्येक दिन बाह्रबजेतिरै पुगिसक्छन् । उनी त त्यो अफिसका सञ्चालक भने पनि सभापति भने पनि अध्यक्ष भने पनि सबैभन्दा ठूला मान्छे हुन् । हुन त सबै अफिसका आ–आफ्नै नियम भए पनि सरकारी अफिसको नियम निक्कै ननिको हुन्छ । उनी त्यस्तै ननिको र कडा नियम भएको ठूलो सरकारी अफिसका हाकिम हुन् ।

तागतमान अफिसमा पुग्नासाथ सबै कर्मचारीहरू त्राही–त्राही हुन्छन् । उनको आदेशले ‘यत्रतत्र सर्वत्र’ भनेझैं सबैतिर भ्याउँछ । तागतमानको तोकआदेश सिफारिस सबैतिर चल्छ । जसले गर्दा सबै कर्मचारीहरू उनका भक्त छन् । उनका टेबुलमा महिनौंसम्म हस्ताक्षरको प्रतिक्षा गरेर कागजपत्र पर्खिरहन्छन् । तागतमान निक्कै जाँगरिला मान्छे हुन् । उनलाई झोंक चलेको दिन सबै कागजपत्रमा दायाँ–बायाँ नहेरी खुरुखुरु हस्ताक्षर ठोकी दिन्छन् । उनको स्वभावको सुईंको पाउनेहरू झोंक चलाउने जमर्को जुटाउँछन् । हाकिमको हस्ताक्षरको सङ्कटकालीन खुड्किलो उक्लेपछि जाम भएका कामको ढोका खुल्छ । कोही चटपटेहरू झटपट काम गराउन खुसामत गर्न आउँछन् । उनी कामअनुसारको दाम हुनैपर्छ भन्ने कुरामा अडिग छन् । यदि कामअनुसारको दाम र नाम पनि हुने हुँदा, उनी पाकेको माम पनि हाम नपारी दगुर्छन् ।

तागतमानको दाम र नामको विषयमा धारणा स्पष्ट छ । दुःख गरेर सर्टिफिकेट र पद हात पारेपछि निःशुल्क केही नगर्ने । आफ्नो सान र मानलाई जीवनको महत्वपूर्ण स्थान दिने । कुरो हो पनि तागतमान कसैका स्वयमसेवक होइनन् । उनले कसैको मर्म बुझेर कर्म दिनुपथ्र्यो भने त गाउँमै बसेर महाजन माइला साहूको हलो जोतेको भए भैहाल्थ्यो नि । यति ठूला ठाउँमा आएर ठूलो मान्छे हुनै पर्ने थिएन । आफ्नो कुरो उनी यसरी नै स्पष्ट अघि सार्छन् । उनको प्रमाणपत्र किनेको हुनाले, सहीछापको प्रमाण अरूले नकिनी सुखै छैन ।

उनले टेबुलमा भएको घण्टी क्यार्र–क्यार्र पार्नासाथ चाहिएको कुरा टेबुलमै ट्याक्र्याक्कै आइपुग्छ । उनलाई भेट्न आउने जाने आफन्तको लर्को पनि थर्कोेसँग दिनभरि नै चलिरहन्छ । टेबुलमा भएका दुईवटा फोनमा आउने फोन उनी मनलागे उठाउँछन्, नलागे उठाउँदैनन् । यताबाट गर्ने फोन आफन्तको आगमनमा व्यस्त रहन्छ । कोही गफ गर्ने, कोही फोन गर्ने, कोही चिया खाने, कोही चुरोट ओ हो † बडो घञ्चमञ्च हुन्छ तागतमानको अफिसकोठा । उनी आफ्नो कोठामा कोही नभएको कुनै बेला परेछ भने अत्यन्त व्यस्त रहन्छन् फोकट्मा समय नष्ट गर्दैनन् । आफ्नोफोन डायरी पल्टाउँछन् र फोन गर्न थाल्छन् । आफ्ना पुराना गाउँले साथीभाइ कुलकुटुम्ब, इष्टमित्र, नातागोता सबैसँग पालैपालो फोनबाजामा बातचित गर्छन् । उनी असाध्यै सामाजिक प्राणी हुन् । एकैछिन् एक्लो रहन सक्दैनन् । बाहिरफेरबाट विचार गर्नेले कतै यो चुनाव त लड्दै छैन ? भनेर अड्कल काट्छन्, नेतामा हुनुपर्ने सबै गुण छ उनमा । आश्चर्यको कुरा नेता चाहिँ चुनावकै बेला मात्र यस्तो रूप देखाउँछन् तर तागतमानको व्यवहार भने सदावहार छ ।

तागतमान आफन्तको फोनवार्तामा आफूकहाँ आउन अनुरोध गर्छन् । चोकचोकमा लिनजाने बाचा गर्छन् । निश्चित समय र स्थानको किटान गर्छन् । पाहुनाको जात न हो नबोलाउँदै त आउने । झर्कोफर्को गर्नेकहाँ त भेटघाटका बहाना गर्दै लुसुलुसु आउँछन् । त्यसमा पनि फोन गरी गरी चोकचोकमा लिन आउने पक्कापक्की भएपछि त नजाने कुरै भएन । सुको खर्च नगरी मुख फेर्न पाउँदा म पनि पक्कै नाइँ भन्दिन । तागतमानको घरमा भीडभाड भैरहन्छ । धन्न, भगवान्को कृपा उनको दिनचर्या चलेकै छ ।

तागतमान यही कारण सबैका हाईहाई छन् । उनी सबै कुराले भरपूर छन् । तैपनि उनका तीनैवटी श्रीमती तीन महिना नबित्दै ससुराली पुग्छन् । तागतमान पनि पितृसत्ताका पति न हुन् । श्रीमतीले कुरा काट्ने र वचन फर्काउने कुरै आएन । सहनशील नारीले किल्किले नभएजस्तो मजेरी खनेर आ“गन पुर्नु पनि भएन । त्यसैले तैँ चुप मै चुप भन्दै तीनैवटी माइत गएछन् । शङ्काले लङ्का जलाउँछ भनेजस्तो नक्कली प्रमाणपत्रको छानविनको डरले तागतमानका श्रीमतीहरूले सुईंकुच्चा ठोकेछन् । तागतमानको तागत बुझ्न नसकेर विचरीहरूले आफै धोका खाएछन् । तागतमानको तुजुक अहिले पनि उत्तिकै जल्दोबल्दो छ । श्रीमतीहरूले उनलाई बाईबाई गर्दै गए पनि उनी तपाईं हामी सबैका त्यत्तिकै हाईहाई छन् । यस्ता तागतमानहरू युग–युगान्तर यस्तै दलमलसँग रहिरहनेछन् र रहिरहून् अ–शुभकामना  !

‘विश्व समीक्षा’ मासिक, बैशाख–जेठ ०५०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती