साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुजुक

Nepal Telecom ad

तागतमान सरकारी कार्यालयका कार्यालय प्रमुख हुन् । सरकारी कार्यालयका प्रमुख भएकाले तागतमान भएका हुन् या तागतमान भएका कारणले कार्यालय प्रमुख भएका हुन् भन्ने विवाद जनमत सङ्ग्रहले मात्र सफलताका साथ टुङ्गो लगाउला । तागतमानका टेबुलमा दुईवटा टेलिफोन छन् । एउटा फोन यताबाट गर्ने र अर्कोचाहिँ अर्कोतिरबाट आउने । तागतमान उनको अफिसमा प्रायजसो प्रत्येक दिन बाह्रबजेतिरै पुगिसक्छन् । उनी त त्यो अफिसका सञ्चालक भने पनि सभापति भने पनि अध्यक्ष भने पनि सबैभन्दा ठूला मान्छे हुन् । हुन त सबै अफिसका आ–आफ्नै नियम भए पनि सरकारी अफिसको नियम निक्कै ननिको हुन्छ । उनी त्यस्तै ननिको र कडा नियम भएको ठूलो सरकारी अफिसका हाकिम हुन् ।

तागतमान अफिसमा पुग्नासाथ सबै कर्मचारीहरू त्राही–त्राही हुन्छन् । उनको आदेशले ‘यत्रतत्र सर्वत्र’ भनेझैं सबैतिर भ्याउँछ । तागतमानको तोकआदेश सिफारिस सबैतिर चल्छ । जसले गर्दा सबै कर्मचारीहरू उनका भक्त छन् । उनका टेबुलमा महिनौंसम्म हस्ताक्षरको प्रतिक्षा गरेर कागजपत्र पर्खिरहन्छन् । तागतमान निक्कै जाँगरिला मान्छे हुन् । उनलाई झोंक चलेको दिन सबै कागजपत्रमा दायाँ–बायाँ नहेरी खुरुखुरु हस्ताक्षर ठोकी दिन्छन् । उनको स्वभावको सुईंको पाउनेहरू झोंक चलाउने जमर्को जुटाउँछन् । हाकिमको हस्ताक्षरको सङ्कटकालीन खुड्किलो उक्लेपछि जाम भएका कामको ढोका खुल्छ । कोही चटपटेहरू झटपट काम गराउन खुसामत गर्न आउँछन् । उनी कामअनुसारको दाम हुनैपर्छ भन्ने कुरामा अडिग छन् । यदि कामअनुसारको दाम र नाम पनि हुने हुँदा, उनी पाकेको माम पनि हाम नपारी दगुर्छन् ।

तागतमानको दाम र नामको विषयमा धारणा स्पष्ट छ । दुःख गरेर सर्टिफिकेट र पद हात पारेपछि निःशुल्क केही नगर्ने । आफ्नो सान र मानलाई जीवनको महत्वपूर्ण स्थान दिने । कुरो हो पनि तागतमान कसैका स्वयमसेवक होइनन् । उनले कसैको मर्म बुझेर कर्म दिनुपथ्र्यो भने त गाउँमै बसेर महाजन माइला साहूको हलो जोतेको भए भैहाल्थ्यो नि । यति ठूला ठाउँमा आएर ठूलो मान्छे हुनै पर्ने थिएन । आफ्नो कुरो उनी यसरी नै स्पष्ट अघि सार्छन् । उनको प्रमाणपत्र किनेको हुनाले, सहीछापको प्रमाण अरूले नकिनी सुखै छैन ।

उनले टेबुलमा भएको घण्टी क्यार्र–क्यार्र पार्नासाथ चाहिएको कुरा टेबुलमै ट्याक्र्याक्कै आइपुग्छ । उनलाई भेट्न आउने जाने आफन्तको लर्को पनि थर्कोेसँग दिनभरि नै चलिरहन्छ । टेबुलमा भएका दुईवटा फोनमा आउने फोन उनी मनलागे उठाउँछन्, नलागे उठाउँदैनन् । यताबाट गर्ने फोन आफन्तको आगमनमा व्यस्त रहन्छ । कोही गफ गर्ने, कोही फोन गर्ने, कोही चिया खाने, कोही चुरोट ओ हो † बडो घञ्चमञ्च हुन्छ तागतमानको अफिसकोठा । उनी आफ्नो कोठामा कोही नभएको कुनै बेला परेछ भने अत्यन्त व्यस्त रहन्छन् फोकट्मा समय नष्ट गर्दैनन् । आफ्नोफोन डायरी पल्टाउँछन् र फोन गर्न थाल्छन् । आफ्ना पुराना गाउँले साथीभाइ कुलकुटुम्ब, इष्टमित्र, नातागोता सबैसँग पालैपालो फोनबाजामा बातचित गर्छन् । उनी असाध्यै सामाजिक प्राणी हुन् । एकैछिन् एक्लो रहन सक्दैनन् । बाहिरफेरबाट विचार गर्नेले कतै यो चुनाव त लड्दै छैन ? भनेर अड्कल काट्छन्, नेतामा हुनुपर्ने सबै गुण छ उनमा । आश्चर्यको कुरा नेता चाहिँ चुनावकै बेला मात्र यस्तो रूप देखाउँछन् तर तागतमानको व्यवहार भने सदावहार छ ।

तागतमान आफन्तको फोनवार्तामा आफूकहाँ आउन अनुरोध गर्छन् । चोकचोकमा लिनजाने बाचा गर्छन् । निश्चित समय र स्थानको किटान गर्छन् । पाहुनाको जात न हो नबोलाउँदै त आउने । झर्कोफर्को गर्नेकहाँ त भेटघाटका बहाना गर्दै लुसुलुसु आउँछन् । त्यसमा पनि फोन गरी गरी चोकचोकमा लिन आउने पक्कापक्की भएपछि त नजाने कुरै भएन । सुको खर्च नगरी मुख फेर्न पाउँदा म पनि पक्कै नाइँ भन्दिन । तागतमानको घरमा भीडभाड भैरहन्छ । धन्न, भगवान्को कृपा उनको दिनचर्या चलेकै छ ।

तागतमान यही कारण सबैका हाईहाई छन् । उनी सबै कुराले भरपूर छन् । तैपनि उनका तीनैवटी श्रीमती तीन महिना नबित्दै ससुराली पुग्छन् । तागतमान पनि पितृसत्ताका पति न हुन् । श्रीमतीले कुरा काट्ने र वचन फर्काउने कुरै आएन । सहनशील नारीले किल्किले नभएजस्तो मजेरी खनेर आ“गन पुर्नु पनि भएन । त्यसैले तैँ चुप मै चुप भन्दै तीनैवटी माइत गएछन् । शङ्काले लङ्का जलाउँछ भनेजस्तो नक्कली प्रमाणपत्रको छानविनको डरले तागतमानका श्रीमतीहरूले सुईंकुच्चा ठोकेछन् । तागतमानको तागत बुझ्न नसकेर विचरीहरूले आफै धोका खाएछन् । तागतमानको तुजुक अहिले पनि उत्तिकै जल्दोबल्दो छ । श्रीमतीहरूले उनलाई बाईबाई गर्दै गए पनि उनी तपाईं हामी सबैका त्यत्तिकै हाईहाई छन् । यस्ता तागतमानहरू युग–युगान्तर यस्तै दलमलसँग रहिरहनेछन् र रहिरहून् अ–शुभकामना  !

‘विश्व समीक्षा’ मासिक, बैशाख–जेठ ०५०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x