प्रेम ओली ढकलपुरेईश्वरघरमा आन्दोलन
मालिक !
हामी सधैं पीडित भाका छौँ
हाम्रो सुनुवाई भएन भने
हामी त
आन्दोलन गर्ने भनी आका छौँ
राजाले पनि हामीलाई
शोषण गरे, दमन गरे
धनीलाई छेउछाउ राखी
हामीलाई त अमन गरे
खास खासलाई खास भयो
हामी त खाली आस भयौ
हामी मकै भटमास भयौँ
बिरोध गर्दा एकै गास भयौ
मालिक !
हामी त केवल दास भयौँ !
प्रजातन्त्रवादी आए
स्वतन्त्रका कुरा गरे
वाकतन्त्रका कुरा गरे
हामीलाई प्रयोग गरेर
आफ्ना इक्षा पूरा गरे
हामी त,
ती गधा र गोरुका घाँस भयौ
भर्याङ बनाउने बास भयौ
मालिक ! हामी त तिनका पनि दास भयौ ।
साम्यवादीहरू पनि आए
समानताका कुरा गरे
घर जग्गा तनामका कुरा गरे
गास बासको जमानका कुरा गरे
तीनले पनि आफ्नै इक्षा पूरा गरे
गरिवको कुरा गरेर
हाम्रो नै उठिबास बनाए
मालिक ? पालैपालो सबैले
हामीलाई त दास बनाए
हामी त नफर्किने गरी आका छौँ
झन्डा तुल पनि ल्याका छौँ ।
हाम्रो माग पूरा भएन भने
आन्दोलन नै गरिन्छ
जे होला होला
उता मरे गोली नपाई मरिन्छ
यता मरे गोली खाइ मरिन्छ ।
हामीले पनि उनीहरूले जस्तै
घण्टा बजाका छौँ मन्दिर सजाका छौँ
मन्त्र फुकेका छौँ भाकल भाकेका छौ
मालिक !
तपाईं त साँच्चैको
साम्यवादी होइसिन्छ
सर्बहरावादी होइसिन्छ
यहाँ पनि राजालाई झै फटाहरूबाट घेरिन्छ
हामीलाई उस्तै नजरले हेरिन्छ भने
चक्काजाम गरिन्छ ,नेपाल बन्द गरिन्छ
मरे गरीबकै लागि मरिन्छ ।
हामीले पनि उनीहरूले जस्तै
बत्ती बालेकै हो, फुल अछेता फालेकै हो
दुई चार दाम हालेकै हो, पूजारीलाई पालेकै हो
सतिदौँ देखे तिम्रो नाममा ब्रत बस्न थालेकै हो
हामीलाई राजादेखि रङ्कले
नेतादेखि डङ्कले धोका दिए
फल्छ भन्दै नफल्ने घोका दिए
बम बारुदको पोका दिए
लल्चाउदै पानीको फोका दिए
एकछिन रणभुल्ल पार्ने हावाको झोका दिए
जस्को कोही छैन त्यसको भगवान हुन्छ रे
मालिक !हामी त सदियौ देखी बिल्लिबास भयौँ
सधैंका हामी दास भयौँ
आज सुनुवाई भएन भने कडै आन्दोलन गरिन्छ
मरिएछ भने पनि केही छैन
मरे थप सहिदमा परिन्छ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































