अशोककुमार शिवाधरहराको टुप्पोबाट २०७१ निमोठिने
कुरो अचम्मको लाग्नसक्छ । आज २०७१ सालको अन्तिम दिन चैत्र ३० गते । भरे रातीको १२ ट्वाङ्ग ट्वाङ्ग हानेसंगै २०७१ स्वाहा हुन्छ । राती १२ वजेर १ सेकेण्ड जान नपाई २०७२ हवात्त निस्किन्छ । छैन त अचम्म ? अस्ति शनिवारका दिन बेलुकीतिर यसो सहरका सडक तिरका स्वच्छ सफा हावा खाउँ भनेर घरबाट फुत्त स्कुटीमा हुत्त हुत्त गर्दै रत्नपार्कतिर आएको खुल्लामञ्चमा झ्याम झ्याम बाजा बजेको सुनेँ । के रहेछ त भनेर छेउतिर गएको त्यहाँ त मज्जाले सांगीतिक माहौल पो चल्या रहेछ पिपुल्स कन्सर्टको नाममा । आफु पनि संगित भनेपछि बाबुकै सम्पत्ती नै हो झै मान्ने मान्छे दौडिईहालें । टुँडिखेललाई एक चक्कर मारेर वीर हस्पिटल अगाडिबाट स्वात्त खुल्लामञ्चतिर छिरेर स्कुटीमाथि नै बसेर संगीतको आनन्द लिईरहें ।
कार्यक्रममा देशको जल्दोबल्दो नेता पनि अतिथिको कुर्सिमा विराजमान रहेछन । उद्घोषक मित्र हास्यव्यङ्गय पनि फलाक्दै थिए । माहौल गलल गलल हास्दो थियो । एकछिन पछि नेता महोदय बाहिरिने उद्घोष भयो । अनिमात्र मञ्चमा को बडे नेता रहेछन भन्ने थाहा लाग्यो । मञ्चमा रहेछन ओली कामरेड । अगाडि आउरे, पछाडि धुपाउरे, साईडतिर चाहुरे, चम्चे धेरै थिए ओलीका वरिपरी बुढा कस्ता भएका थिए भिडले गर्दा राम्ररी हेर्नै सकिएन । मञ्च अगाडि च्याउको स्टल पनि राख्या रहेछ नेताज्यु च्याउको स्टल तिर हानिए । स्टल घुमेर च्याउ झै चाउरिएको अनुहार लिएर गाडी चढि सुईकुच्चा ठोकँे । ए बाबा यी ओली के गर्न थालेछन् नयाँ नयाँ तौरतरिका भन्ने लाग्यो । एकछिन गम खाएर बसे । केहि पत्तो हात लागेन । म पनि एकछिनपछि घर फर्किएँ । सुन्दैछु ओली कामरेड घरहराको टुप्पो चढ्ने रे अनि त्यही टुप्पोबाट संक्रमणकालको आडमा धेरै नारी बलात्कृत भएको यो मुलाको साग २०७१ को मुन्टो परक्क पारेर इहलिला समाप्त पारी नयाँ बत्तिस बहत्तर कुरा गर्न खप्पिस नेपाली सामु २०७२ सालको स्वागत गर्ने रे ।
गज्जब भएन त ? माघ ८ मा संविधान बन्या भए यतिबेला ओली कामरेड देशको प्रधान हुन्थे भन्नेहरू पनि छन । देशको प्रधान हुन पाएको भए सकिजान्थ्यो जावो धरहराको टुप्पो किन ताक्थे । तर त्यसो हुन सकेन त्यसैले उ त्यो गरेर उ त्यो गर्नुको लागि धरहरा चडेर उत्यो गर्ने रे । खै के गर्ने हो त्यो चाही चढेपछि थाहा होला । हुन त विचरा चड्दा चड्दै टुप्पो पुग्नै नसक्ने पो हुन कि । चढ्न सकुन् विचरा सकुन् जानेवेलामा त्यत्ति चिताएको त पुगोस् । भिमसेनले बनाएको स्तम्भमा अर्का भिमसेन ? चढ्नै पर्छ । चढेर नयाँ संकल्प लिए हुन्छ बरु, २०७२ ले तुक्का नजोडोस्, मुक्का नहानोस्, संविधानको प्रत्येक धारामा गोल्डेन जलप लागोस् अनि पहेँलपुर हुँदै निच्च हास्दै जेष्ठ १५ मा नै आओस । २०७१ का डनदेखि डकैत, तस्कर एवं बलत्कारीहरू सबैलाई ठेगान लगाउने गरी आओस् । कसैले संक्रमणकालमा यस्तै हुन्छ भन्न नपाउन् । गोविन्दे मरे के गर्नु त म भनेर पनि कसैले नभनुन् । मर्नु भनेको जो कोही मर्नु पनि राम्रो होईन । जय होस् नयाँ नेपालको ।
काठमाडौं
२०७१।१२।३०
Subscribe
Login
0 Comments
Oldest







































