विमल निभाभार त
भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन । यो मेरो भनाइ नभएर खुद भारतले नै भनिरहेको स्थिति हो । र यसलाई नाकाबन्दी लगाएको दिनदेखि नै एकहोरो भनेको भन्यै छ । नेपालमा भारतको राजदूत महोदयदेखि लिएर त्यहाँका विदेश मन्त्रीसम्मका मुखर वाणीलाई सुन्नोस् । भारतीय प्रधानमन्त्री भने अलिक भिन्न शैलीमा मौन रहेर यही अभिव्यक्त गरिरहेका छन् । मतलव, भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन । यस प्रकारको सुभाषित वाक्य नित्य–निरन्तर सुन्दासुन्दै अचेल मलाई पनि के लाग्न थालेको छ भने भारतले नेपालमाथि कुनै नाकाबन्दी–साकाबन्दी लगाएको छैन ।
भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन भने पहिलेझैं त्यहाँबाट निर्वाध आउनुपर्ने सरसामानहरू किन आइरहेका छैनन् ? न भारतको बाटो गरी नेपालमा खानेकुरा आइरहेको छ, न त त्यसलाई पकाउने ग्यास आदि नै । यदाकदा एकाध तरकारी तथा फलफूलले लादिएका गाडीचाहिँं एक्कासी गुड्न थाल्छन् । आजको मितिमा चार आलु र प्याजले भरिएका ट्रक रुपैडिया सिमानाबाट भित्रिएको ताजा खबर आएको छ । अस्तिन पनि केही कुहिएको केरा–सेरा बोकेका पुराना गाडीहरू नेपाल प्रवेश भएका थिए क्यारे ! यतिले मेरो सञ्चित भोक मर्छ त ? अहिले तीन करोड नेपालीहरू भोकमरीको बाध्यकारी अवस्थामा पुगेका छन् । यसरी पृथ्वीको एकातिरको गोलार्धमा रहेको नेपाल नामक देशलाई भोकभोकै निमिट्यान्न पार्ने व्यापकतम् खेलाँची चालु छ । यो पूर्णतस् मानवता विरोधी कदम होइन र ? यस्तो भए तापनि भारतले नेपालमाथि नाकाबन्दीचाहिंँ लगाएको छैन । हो, भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन ।
नेपाल एक भूपरिवेष्टित सानो राष्ट्र हो । चौतर्फी ठोस जमिनै–जमिनले घेरिएको । तीनतिर त विशालकाय मुलुक भारत नै ठिंग खडा छ । वास्तवमा हामीसँग कुनै समुद्र छैन । केवल कलकल ध्वनिसहित ठाडो पहाडबाट उत्ताल वेगले झरिरहेका नदी छन् । जस्तै— कोशी, कर्णाली, महाकाली इत्यादि । महाकालीको नाउँ आउँदा मलाई अनायास बहुचर्चित ‘महाकाली सन्धि’को स्मरण हुन्छ । नेपाल र भारत बीचको पारस्परिक सम्बन्धको न्याय–अन्यायपूर्ण जटिलताको यन्त्रणाग्रस्त साक्षी होइन र यो ? हाम्रा राजनीतिक नायकहरूले नै महाकाली नदी…। तर छाड्नोस्, यो बिलकुलै बेग्लै प्रसंग भएकोले म यहाँ हामीसँग नभएको समुद्रको कुरा कहन्छु ।
हो, हामीसँग एक पित्को समुद्र पनि छैन । यसकारण अन्तर्राष्ट्रिय नियम–कानुन बमोजिम नेपाललाई समुद्रसम्म बेरोकटोक पुग्ने अविच्छिन्न अधिकार रहेको छ । हामीले सहजै समुद्रादी आवागमनको शाश्वत सुविधा पाउनैपर्छ । यही संयुक्त राष्ट्र संघको बडापत्रमा सबैले बुझ्नेगरी सफासफी अक्षरमा अंकित छ । तर संयुक्त राष्ट्र संघमा सम्मिलित एक महत्वपूर्ण राष्ट्र भारतले यसको सरासरी उल्लंघन किन गरेको होला ? भारतले संयुक्त राष्ट्र संघको अर्काे सदस्य राष्ट्र नेपालले स्वतः पाउनुपर्ने आवत–जावतको स्वतन्त्रतालाई जबर्जस्ती मुढेबलले बाधित पारिरहेको छ । तथापि भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन । यही उसको एकमात्र रटान हो । ठिकै छ । नेपालको सन्दर्भमा भारतले अन्तर्राष्ट्रिय नियम–कानुनको विभत्स अवहेलना गरेको भए तापनि नाकाबन्दीचाहिंँ लगाएको छैन । भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन ।
भारत नेपालको मित्रराष्ट्र हो । यसका साथसाथै दक्षिणतर्फका छिमेकी पनि । तर कुन्नि किन दुवै छिमेकी राष्ट्रको मित्रवत सम्बन्धलाई सामान्य मानिएको छैन । यसमा ‘विशेष सम्बन्ध’को एउटा चमकदार एवं रंगीचंगी कनटोप लगाइएको छ । यसको कथित विशेषतासँग पहिले म त्यति परिचित थिइन । सायद यस सम्बन्धमा मेरो कुनै चासो पनि थिएन । यता केही दिनदेखि घरमा चुल्हो तातो हुन छाडेपछि बल्ल बुझ्न थालेको छु । सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका पनि यही भोगाइ त होला नि ! जे होस्, यो नेपाल र भारत बीचको विशेष सम्बन्धलाई ‘रोटी र बेटी’को सम्बन्ध भनेर पनि परिभाषित गर्ने गरिएको छ । हाम्रो तराई–मधेसतिर यस्तो थिति खुबसँग प्रचलनमा नभएको पनि होइन ।
यता र उताका छोरीबेटीका सहज तवरले बिहेबारी हुने गरेको छ । अब ‘रोटी र बेटी’मा बेटीको कुरा अति नै ‘नाजुक’ प्रकारको भएकोले बेसी केही नभनुँ ! एकताका झन्डै मेरो पनि भारतको कलकत्ता महानगरको बेटीसँग लगनगाँठो कसिन लागेको थियो । कुनै कारणवश भएन । यस सम्बन्धमा यति नै । जहाँसम्म रोटीको कुरा छ, यो त नेपाली तावामा पाक्नै छाडेको छ । तसर्थ तमाम् बेटीहरू रोटीको अभावमा भोका छन् । यसले नेपाल र भारत बीचको विशेष सम्बन्धलाई विशेष तवरले नै उजागर गरेको छैन र ? नेपाल र भारत बीचको विशेष सम्बन्ध अर्थात् रोटी र बेटीको सम्बन्ध जेजस्तो भए तापनि भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन ।
हो, भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन ।
अन्त्यमा,
संक्षेपमा भन्ने हो भने हाम्रो छिमेकी मुलुक भारत अन्ततः भार त रहेछ । अर्थात् वास्तविक अर्थमा भारत । तात्पर्य, मानवतामाथि भार । अनि संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय नियम–कानुनमाथि भार । यस्तै छिमेकी–छिमेकी बीचको इमानदार मित्रतामाथि भार । यस प्रकार एकमुष्ट रूपमा भार भएर भारतले आफ्नो शुभनाम सार्थक पारेको छ । तर नेपालमाथि भने नाकाबन्दी लगाएको छैन । भारतले नेपालमाथि नाकाबन्दी लगाएको छैन ।
कान्तिपुर, मङ्सिर १९, २०७२
Subscribe
Login
0 Comments
Oldest








































