साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठट्यौली

Nepal Telecom ad

१. थेगोमा आत्मनिर्भर

एक जना ग्राहक भन्दै थिए, ‘साहूजी, चिया खाउँ नाकाबन्दी लगाएर ।’ साहूले भने, ‘ल हुन्छ, नाका ढुकेर ।’ साहूको चाहिँ ‘नाका ढुकेर’ थेगो रै’छ ।

प्रचण्डले ‘मने’ भन्न छाडे । उहिले गिरिजाप्रसाद कोइराला ‘म भन्छु’ थेगो बोल्थे, अचेल जो पनि भन्छन्, सुन्ने कोही छैन । सुशील कोइराला ‘ऊ’ थेगो प्रयोग गर्छन्, जेमा पनि ‘ऊ’ गरिहाल्छन् । ग्यासको लाइनमा बसेर हैरान एक गृहिणीको थेगो भएछ, ‘ग्यास छैन ।’ छोराले चकलेट किन्न पैसा माग्दा भनिछन्, ‘पर्दैन चकलेट खान, ग्यास छैन ।’ छोराले रिसाउँदै भनेछ, ‘मलाई चकलेट किनिदिनैपर्छ नरेन्द्र मोदीले ।’ मोदी को हुन् थाहा नभएका छोराको थेगो रैछ, ‘नरेन्द्र मोदीले ।’ स्कुलमा उसले भनेछ, ‘आज होमवर्क गर्न पाइनँ नरेन्द्र मोदीले ।’ शिक्षकले भनेछन्, ‘किन नगरेको त लाइन लागेर ।’ शिक्षकको थेगो ‘लाइन लागेर’ रैछ ।

एकखाले नेताले ‘पहिचान’लाई थेगो बनाउँदै आएका थिए । दसगजाको धर्नामा पुगेर पहिचानले आत्महत्या गरेको छ । अचेल प्रधानमन्त्री केपी ओलीको थेगो छ, ‘म झुक्दिनँ ।’ अनि, मन्त्रीहरूको सामूहिक थेगो छ, ‘जसरी भए पनि’ । चीनबाट पेट्रोल ल्याउने ‘जसरी भए पनि’, कालो बजारी अन्त्य गर्ने ‘जसरी भए पनि’, देशलाई आत्मनिर्भर बनाउने ‘जसरी भए पनि’ । अनि, एक वर्षमा लोडसेडिङ हटाउने ‘जसरी भए पनि’ ।

अरूमा नभए पनि थेगोमा चाहिँ हामी आत्मनिर्भर रहेछौँ जस्तो देखियो !

२. नाकाबन्दी र आँखाबन्दी

अहिले भारतले नाकाबन्दी र नेपालले आँखाबन्दी गरिरहेको छ । नाकाबन्दी जस्तै आँखाबन्दीले पनि चौतर्फी असर परेको छ । आँखाबन्दीले सरकारको यावत इन्द्रिय र अंग प्रभावित छ । आँखाबन्दीकै असर हो– सरकारले कान सुन्न छाडेको छ । कान नसुन्ने भएपछि मुखले पनि राम्रोसँग बोल्न नसक्दो रै’छ । नाकाबन्दीले सिर्जना गरेको अभाव न्यून गर्न के गर्दैछौ सरकार ? यस्तो प्रश्न सोध्नूस्, सरकार बोल्दैन । किनभने, कानले प्रश्न सुने पो मुखले बोल्नू ! आँखाबन्दीकै कमाल हो– सरकारको हात पनि राम्ररी चल्दैन ।

नाकाबन्दीको प्रतापले मौलाएका कालाबजारियालाई च्याप्प समातेर कठघरामा उभ्याउने काम सरकारको हो । तर, उनैले सरकारलाई कठघरामा जाक्लान् भन्ने पिर ! आँखाबन्दीको चौतर्फी असरले सरकारको खुट्टा पनि चल्दैन । नाकाबन्दीको विकल्पमा दौडँदै गएर चिनियाँ नाकाको सडक बनाए हुने हो तर खुट्टा चले पो दौडोस् !

मन्त्रीहरूले अहोरात्र भाषण गरेको सुन्दा लाग्न सक्छ, आँखाबन्दीले सरकारको मुखमा चाहिँ असर गरेको छैन । कुरा त्यसो होइन, सरकारको मुखमा पनि असर गरेको छ, त्यसैले राम्रोसँग बोल्न सक्दैन । बोल्न सक्ने भए भारतले अघोषित होइन, घोषित नै नाकाबन्दी लगाएको छ भन्थ्यो होला । आँखाबन्दीले सरकारको सिर्फ एउटा अंगमा असर गरेको देखिन्न, त्यो हो– पेट ।

३. रिमोटको कमाल

एक्काइसौँ शदीको गजब आविष्कार हो– रिमोट कन्ट्रोल । यो जिनिसले चीजबस्तुलाई मात्र नभएर टाढैबाट मान्छेलाई पनि नियन्त्रण गर्न सक्छ । मान्छेको जिब्रोदेखि पेट्रोल पम्पको धारासम्मलाई रिमोटले नियन्त्रण गर्न सक्छ । थोरै पेट्रोलियम दिएर ठग्न पनि रिमोट काम आउँदो रै’छ । दैनिक जीवनदेखि राष्ट्रिय राजनीतिसम्ममा रिमोट भन्ने मालको कमाल देखिन्छ । औँलाले थिचेर टेलिभिजन सेटमा च्यानल चेन्ज गरेजसरी मान्छेको मुखको च्यानलसमेत फेर्न सक्छ रिमोटले । आँखा फेर्दैन तर दृष्टि फेर्न सक्छ । दिमागको च्यानल पनि च्वाट्ट फेर्न सक्छ । बोली मात्र होइन, भाषासमेत फेर्न सक्छ ।

केही बुद्धिजीवीले भारतले नाकाबन्दी लगाएको छैन भने । अर्का बुद्धिजीवीले नेपाल बेठीक, भारत ठीक भने । रिमोटकै करामत हो यो । रिमोटले मानिस मालामाल पनि हुन्छ, बर्बाद पनि हुन्छ । नेपालमा सबैभन्दा धेरै रिमोट कन्ट्रोल टेलिभिजन सेटको र दोस्रो धेरै दक्षिण छिमेकी भारतको छ भनिन्छ । रिमोट दबाएको भरमा नेपालमा अनेक उत्पात मच्चिन सक्छ, राजनीतिको च्यानल चेन्ज हुन सक्छ । हुन पनि भारत भन्या विज्ञान प्रविधिमा राम्रै तरक्की गरेको देश हो । नेपालमा संविधान बनाउँदा भारतको रिमोट बिग्रियो रे, त्यसपछि नाकाबन्दी लगाएको रे !

भारतको रिमोट कहिले बन्छ अनि नाका खुल्छ ? रिमोटलाई नै मर्मत गर्ने रिमोटचाहिँ नहुँदो रैछ, नत्र नेपालीले यस्तो दु:ख पाउँदैनथे ।

नेपाल, मङ्सिर १७, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x