लेख निरौलागोप्य वार्ता !
भए भेट वार्ता सबै रङ्ग मिल्थे
दुपट्टा र धोती समानै सजिन्थे
कतै बोल बोली नबुझ्ने थिएनन्
उही चाहनाले दुबै पक्ष खिल्थे ।।
त्यहाँ हेपियौँ बेसरी दुःख पायौँ
रडाको मचायौँ र नाका सिलायौँ
भए बन्द सारा अझै नै सुनेनन्
प्रभो ! साथ साँच्चै खुलेरै भजायौँ ।।
अनेकौँ निसाना कतै तोडफोड
कतै अग्निज्वाला भनी बस्न छोड
गरेका कुराको कुनै छाप छैन
प्रभो ! साथ पाऔँ यही नै छ जोड ।।
भयौँ बन्द आफैँ र आफन्त सारा
सुनेनन् बुझेनन् तिनैले इसारा
सकेसम्म हामी डटेरै बसेका
गरौँ के भयौँ वृद्ध हामी पसारा ।।
प्रभो ! बुझ्न सक्ने दया दृष्टि पाऔँ
बुझेनन् कसैले प्रभो ! सामु आयौँ
भए दृष्टि सानो सबै फर्किइन्थ्यौँ
त्यहाँ धाकधम्की दिने आस लायौँ ।।
त्यहाँ दुःख भन्ने कुरा छैन उस्तै
पकाएर खान्छन् र हिँड्छन् प्रशस्तै
सकेनौँ त्यहाँको अहो ! देशभक्ति
हटाएर हामी लडायौँ खुलस्तै ।।
निशा भोजको जोसमा व्यक्त बोली
दुबै एक हौँ भिन्नता छैन रोली !
दबाए तिनैले तिनै डस्न पाऊँ
भनेको सुनिन्थ्यो मिलाएर बोली ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































