प्रेम ओली ढकलपुरेभन महादेव के चाहिन्छ ?
भन महादेव
तिमीलाई फेरि के चाहिन्छ ?
आज म पूरा खुसीको मुडमा छु
माग महादेव
आज मागेकै पाइन्छ ।
भोकाका छौ कि भनी फल पठाएँ
तिर्खाका छौ कि भनी जल चडाएँ
बर्षामा भिजौला भनी
तिम्रो छाना मैले नै हालिदिएँ
जाडोले कामौला भनी
तिम्रो घरको भित्ता पनि मैले टालिदिएँ
अँध्यारो होला भनी
तिम्रो घरमा बत्ती पनि मैले नै बालिदिएँ
तिम्रो हेरचाह गर्ने पुजारीलाई पनि
मैले नै पालिदिएँ
भन महादेव
तिमीलाई अब के के चाहिन्छ ?
माग महादेव
आज म खुुुसीको मुडमा छु
तिमीले मागेकै पाइन्छ ।
तिम्रो श्रीमतीको लागि पनि
बोको मैले नै ढालिदिएँ
अझ त्यसले हुँदैन कि भनी
राँगो नै ढालिदिएँ
तर मलाई अचम्म लागेको कुरो
तिमी चाहिँ भेजिटेरियन भएर पनि
तिम्री श्रीमती कसरी ननभेजिटेरियन भइन् ?
उनलाई चाहिँ बफ मटन सब चल्ने
तिमीलाई चाहिँ कुखुरो पनि नचल्ने ?
घरमा भात भान्सा पनि उनैले गर्छिन् होला
हामीले चढाएको बोका हाँस पक्कै पाक्छ होला
त्यो बेला तिमीलाई कस्तो लाग्छ होला
हामीले गुहेश्वरीमा चढाएको सोमरस पनि
त्यहाँ आउँछ होला
यो तिम्रो भेजिटेरियन भान्सामा कसरी चल्छ ?
के तिम्रो लागि छुट्टै चुल्हो बल्छ ?
भन महादेव तिमीलाई के चाहिन्छ ?
आज म खुसीको मुडमा छ
तिमीले मागेको सब पाइन्छ ।
हाम्रो घरमा
आफू ननभेज भए पनि
मेरी पार्वती त भेज परेकी छिन्
कहिलेकाहिँ ननभेज पकाउ भन्दा कम्ती गरेकी छिन्
तिमी त झन भेज
कम्ती सास्ती पाका छौ होला ?
कति दिनदेखि भोका छौ होला
भन महादेव
फलफूल चाहिन्छ कि दहीदुध चाहिन्छ ?
आज म अत्यन्त खुसीमा छु
माग महादेव
तिमीले आज मागेकै पाइन्छ ।
दाङ, हाल : काठमाडौ
Subscribe
Login
0 Comments
Oldest





































