विमल निभाकसैलाई नभन्नू है
अचेल नेकपा एमालेको खुला गतिविधिमा कसैले चासो नराख्ने भएकोले केही थाहा हुँदैन । के थाहा पाउनुपर्यो र ? आज म यसको विपरीत एमालेको एक गोप्य मिटिङलाई खुला गर्न गइरहेको छु ।
यो अति नै गोप्य प्रकारको भएकोले नै मैले थाहा पाएको हुँ । वास्तवमा कुरो के हो भने मिटिङ सकिनासाथ ‘कसैलाई नभन्नु है’ भनी एक सहभागी कमरेडले प्वाक्क भनी त हाले । सायद गोप्यताको असहनीय भारबाट त्वरित मुक्ति चाहन्थे । र सोही आदर्श वाक्य ‘कसैलाई नभन्नु है’ ले एउटा व्यापक फैलाहट लिएर मसम्म पनि आइपुगेको हो ।
नेकपा एमालेको गोप्य मिटिङ–सिटिङ भनेको तीन गुटको पार्टी मुख्यालय बल्खु (हाल अन्यत्र सरिसकेको) मा यदाकदा हुने भेला हो । द्वन्द्वात्मक भेला । यी तीन द्वन्द्वात्मक (भौतिकवादी) गुटहरू हुन्– एक, कमरेड ओली गुट, दुई, कमरेड माधव गुट र तीन, कमरेड जेएन गुट ।
यद्यपि यो गुटगत सत्यतालाई तीनवटै गुट एक भएर अस्वीकार गर्ने गर्छन् । यसले गुटको अस्तित्व नभएको भान पनि हुनसक्छ ।
त, यो अति गोप्य मिटिङमा भयो के भने आफ्नो स्वाभाविक चरित्रको विलकुलै प्रतिकूल कमरेड माधव गुट एकदमै आक्रामक भएर प्रस्तुत भयो । अन्यथा यो कार्यको एकलौटी जिम्मेवारी कमरेड ओली गुटले लिएको थियो ।
र कमरेड जेएन गुट भने सदैव बकुल्ले तटस्थतामा रहने गथ्र्याे । यस पटक एउटा भिन्न दृश्यसहित कमरेड माधव गुटको एक जिम्मेवार कमरेडको क्रुद्ध स्वर भेलास्थलमा ठूलो अनुगुँजका साथ सुनियो ।
– कमरेडहरू, हाम्रो पार्टीको महाधिवेशनमा कमरेड केपी ओलीले अध्यक्ष पदमा कमरेड माधव नेपाललाई राम्रै मतको अन्तरले पराजित गरेका थिए । यसले स्वभावत मलाई खुसी प्रदान गर्ने कुरै थिएन । तथापि त्यसबखत त्यति बेखुसी पनि किन भइएन भने हामीलाई लागेको थियो, अब पार्टीलाई शुभ नै हुनेछ । यसको एकमात्र कारण अरु केही नभएर ‘डन’ थियो । किनभने अध्यक्ष कमरेड केपी डनहरूका अग्घोर पक्षपाती भएको वास्तविकता सबैसामु छर्लंगै छ । यसको सबल प्रमाणको रूपमा डन दिनेश अधिकारीलाई लिन सकिन्छ ।
याने जनभाषामा चरी । स्वर्गीय चरी । अब स्वर्गीय चरीको कुनै कारणवश अथवा अकारण देहान्त भइसकेकोले हाम्रो पार्टी नेकपा एमालेमा अस्वर्गीय डनहरूका जगजगी हुनेमा कुनै शंका–उपशंका थिएन । यही भयो पनि । म अस्वर्गीय डनहरूका नाम किन लिइरहेको छैन भन्ने कुरा कमरेडहरूबाट छिपेको छैन । यो भेलामा जति गोप्य भनिए पनि हाम्रा डनहरूका निम्ति के गोप्यता हुनसक्छ ? असलमा हामीले पनि डनहरूलाई सहज ढंगले ग्रहण गरिसकेकै स्थिति हो ।
मलाई पार्टीमा डनहरूका उपस्थितिसँग कुनै परहेज रहेको छैन । किनभने डनहरू पार्टीका लागि लाभदायक नै हुने गर्छन् । र हाम्रो पार्टीको सन्दर्भमा यो सही सावित भएको छ । आज नेकपा एमाले डनहरूकै सहयोगले एउटा महत्वपूर्ण स्थानमा पुगेर रमाइरहेको सत्यतालाई स्वीकार गर्नैपर्छ ।
कमरेड ओली गुटको एक असाध्यै गरम नवजवान प्रतिनिधि आफ्नो स्थानबाट लगभग उफ्रिएर भाषणमा हस्तक्षेप गर्दै गर्जिए– यदि हाम्रो सम्मानीय अध्यक्ष कमरेड केपी ओलीको सुखद आगमनले डनहरूका पार्टीमा जगजगी भएर फाइदा नै पुगेको छ भने तपाईको यो अनावश्यक गनगनको के मतलव हो कमरेड ?
कमरेड माधव गुटको वक्ता कमरेडको अनुहार रगत चुहिएला जस्तोगरी रातो भयो ।
यो क्रोधको मौन किन्तु चरम प्रदर्शन थियो । त्यसपछि कमरेडको ओठबाट अरु तातो स्वर निस्कियो– म मतलव स्पष्ट गर्न गइरहेको थिएँ, तपाईले व्यर्थै मेरो कुरा काट्नुभयो कमरेड, लौ सुन्नोस् हामीले के ठानेका थियौं भने अध्यक्ष कमरेड ओली वस्तुत डनहरूका पनि डन हुन् । अर्थात महाडन । तर यो पूर्णरुपेण गलत सावित भएको छ । मेरो मतलव के हो भने उनी प्रधानमन्त्रीको कुर्सीमा आसिन भएपछि सबै गलत भयो । कमरेड ओली निस्सन्देह डन होइनन् ।
केही समयको गह्रुरुँगो मौनतापश्चात कमरेड माधव गुटका भाषणगत कमरेडले सबैका अनुहारमा सरसर्ती दृष्टि दिएर फेरि भारी आवाजमा थपे– प्रधानमन्त्री भएर हाम्रो अध्यक्ष कमरेड केपी ओलीले जुन प्रकारको हावादारी गफ गरिरहेका छन्, त्यसले उनलाई डनबाट डनक्विग्जोट बनाएको छ । अब डिनक्विग्जोट डेला मांचाको विषयमा मैले धेरै भनिरहनु पर्दैन ।
स्वर्गीय उपन्यासकार सरवान्तीस लिखित विश्व साहित्यको एक महान् हावादारी पात्र डनक्विग्जोटको आत्मा अहिले हाम्रो अध्यक्ष कमरेड प्रधानमन्त्री ओलीको शरीरमा सुस्तरी प्रवेश गरेको छ । अतएव उनी नित्य एक न एक हावा गफ आरम्भ गरिहाल्छन् । कहिले दुई—तीन दिनमा नाकाबन्दी खुल्ने संकेत आएको छ भनेर त कहिले एक वर्षमै लोडसेडिङ समाप्त गर्नेछु ।
यस्तै सबै नेपालीका घर–घरमा पाइपबाट ग्यास पुर्याइदिनेछु भनेका छन् । यो हास्यास्पद डनक्विग्जोट मार्का हावादारी गफ नभएर अरु के हो त ? यसरी उनी वर्तमान समयका डनक्विग्जोट भएकोमा कसैले सन्देह नगरे हुन्छ ।
एकाएक कमरेड ओली गुटका सबै कमरेडहरू आआफ्ना सिटबाट जर्याकजुरुक खडा भए । र एक स्वरमा जोडजोडले कराउन थाले– कमरेड, तपाई हाम्रो सम्माननीय प्रधानमन्त्री कमरेडको यसरी बेइज्जती गर्न पाउनुहुन्न । त्यसैले आफ्नै कुरा फिर्ता लिनोस् । यसलाई तुरुन्तै फिर्ता लिनैपर्छ । हामीले आफ्नो अध्यक्ष कमरेडको इज्जत गर्नुपर्छ । फिर्ता लिनोस् । यो हामी सहन गर्न सक्दैनौं ।
यसको परिणामस्वरुप सभास्थलमा ठूलो होहल्ला मच्चिएर मारामारको अवस्था पैदा भएकोले अन्तत कमरेड जेएन गुटको एक पाको कमरेडले मोर्चा सम्हाले । एउटा विशिष्ट हावभावका साथ उनको गुरुगम्भीर आवाज गुञ्जियो । कमरेडको लामो वक्तव्यको सार– कमरेडहरू, यो मुलुकमा अपूर्व ऊर्जा संकट जन्मिएको तथ्य कसैबाट लुकेको छैन । यस्तो बेलामा हामीले केही गर्नैपर्छ ।
यो मामलामा हाम्रो पार्टी नेकपा एमालेले चुप लागेर बस्न मिल्दैन । यस सिलसिलामा हाम्रो अध्यक्ष कमरेड प्रधानमन्त्री केपी ओलीको हावादारी गफको हामी कुशल एवं सार्थक उपयोग गर्न सक्छौं । हामीले गरे के सम्भव हुँदैन ? सबैलाई थाहा नै छ, हावाबाट ऊर्जा उत्पन्न हुन्छ । यस्तो भई पनि रहेको छ । त्यसो भए, यही आधुनिक तकनिकको सजग प्रयोग गरेर हामीले प्रधानमन्त्री कमरेड ओलीको तमाम हावादारी गफबाट किन ऊर्जा ननिकाल्ने ?
यसले मुलुकमा विद्यमान ऊर्जा संकट केही मात्रामा भए पनि समाधान हुने दिशातर्फ जानेछ । त्यसकारण प्रधानमन्त्री अध्यक्ष कमरेड ओलीको हावादारी गफको म हार्दिक स्वागत गर्छु । यो राम्रो संकेत हो । हाम्रो प्रधानमन्त्री कमरेडको हावादारी गफ सतत जारी रहनुपर्छ । यही मुलुकको हितमा छ ।
कुन्नि, कमरेड जेएन गुटको पाको कमरेडको ओजस्वी भाषणले अथवा यसबीच व्यापक रूपमा मच्चिएको हात हालाहालले नेकपा एमालेको त्रिगुटीय भेला समाप्तितिर उन्मुख हुन बाध्य भयो !
यसमा सभास्थलमा चलेको एकथान जुत्ता तथा एकजोर चप्पलको कति सहयोग रह्यो, यो शोधको विषय हुनसक्छ ।
(तपाईंहरू पनि ‘कसैलाई नभन्नू है’) ।
कान्तिपुर, माघ २, २०७२
Subscribe
Login
0 Comments
Oldest








































