फित्काैली डटकमभूकम्प व्यापार
एकजना नाम चलेका ‘समाजसेवी’ छन् । उनी आधा विदेश, आधा स्वदेश बस्छन् । उनको गोजीमा एउटा एनजीओ छ । त्यसलाई गोजीमै राख्छन्, राखेरै चारै दिशा चहार्छन् । मीठो बोल्न खप्पिस छन् । उनको मन्तव्य सुनेपछि खल्ती टकटक्याउन जो पनि तयार हुन्छ ।
विदेशीलाई जमघट गराई नेपालीका दुस्ख–पीडाका तस्बिर देखाउँछन् । स्कुल जान नपाएर सिँगानका लाप्रा चुहाउँदै गोठालो लागिरहेका बालबालिका, भूकम्पपीडितका शिविरमा जाडोमा लुगलुग काँपिरहेका वृद्धवृद्धा, कम्मरमुनि प्वाल परेका कट्टु लाएका नानी–बाबुहरू, कति छाकदेखि खान नपाएका अभिव्यक्ति सर्लक्क उतार्छन् । उता लगेर देखाउँछन् । ठूलो मात्रामा सहयोग जुटाउँछन् । सानो अंश नेपाल ल्याएर नेपालीकरणमा नगद बनाउँछन् । यता त्यो ठूलै हुन्छ । कुनै गाउँ छिर्छन् । लाख–लाख छर्छन् । सर्वसाधारण मक्ख पर्छन् ।
फेरि त्यहाँ पनि त्यस्तै पात्र खोजी–खोजी फोटो खिचाउँछन् । त्यसलाई लगेर अर्को ठाउँमा बेच्छन् । लाखौं डलर बटुल्छन् । लाख रूपैयाँ यता सुँगाउन ल्याइपुर्याउँछन् । अचेल उनको झन् ठूलो खेती बनेको छ भूकम्प । त्यसमा मल थपेको छ नाकाबन्दीले । त्यसैले उनको उत्पादन मौलाएको छ । उनको मात्र होइन, आफूलाई आफैंले ‘समाजसेवी’ भनाउने सबैको खेतीपाती हराभरा भएको छ ।
भूकम्पले धेरैलाई ‘समाजसेवी’ देखिने मौकासमेत दिएको छ । अरूसँग पैसा उठायो, ठूलो हिस्सा खल्तीमा हाल्यो, सानो हिस्सा बाँडेर देखायो । आफ्ना प्रशंसाका भाषण गरिदिने मान्छे गाडीभरि हालेर लग्यो, बोल्न लगायो । निरीह जनताले परर ताली बजाउँछन् । सकेसम्म पत्रकारलाई लैजान चाह्यो । सके ठूलैमा, नसके सानातिना मिडियामा छाप्ने वातावरण बनायो । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनायो । त्यही कामका लागि राखिएका कर्मचारीलाई विभिन्न व्यक्तिका नाममा ट्याग गर्न अह्रायो । आफन्तबाट सकेसम्म सेयर गरायो । त्यही देखायो । अर्को दयालुसँग ‘माल’ र्झायो । त्यसलाई पनि त्यही रित पूरा र्गयो । यो धन्दा खुब मौलाएको छ ।
हाम्रो कार्यालयमा धेरैको फोन आउँछ, ‘फलाना गाउँमा कम्मल बाँड्न जान लागेको गइदिनुर्पयो ।’ जान भ्याइँदैन भनेर पन्छाएपछि दोस्रो सर्त आउँछ, ‘त्यसो भए म लेखेर फोटोसहित ल्याइदिन्छु, छापिदिनुपर्छ है ।’ त्यो व्यक्ति जसले छाप्न पटक–पटक जोड गर्छ, हामी बुझ्छौं यो ‘धन्दावाल’ हो । भनिन्छ– जुन कुरो देखाउन बल गरिन्छ, त्यो विज्ञापन हो । जुन कुरो लुकाउन बल गरिन्छ, त्यो समाचार हो । समाचारको तागत भएको सामग्री पत्रकारले आफैं खोज्छ ।
तपाईं पनि केलाउनुहोस्– दाता धेरै छन्, ठेगदार अलि कम छन् । ठेगदारले दाता चिन्छन्, दाताले ठेगदार चिन्दैनन् । त्यसैले आफूलाई गुमनाम राखेर ठेगदारलाई सर्लक्क दिन्छन् । ‘दिएँ’ भन्ने देखाउन चाहँदैनन् । त्यसकै फाइदा ठेगदारलाई पुगेको छ । आएको–गएको रेकर्ड नराख्दा पनि हुन्छ । मिडियाबाट दाताका नाम र काम सार्वजनिक गर्नु पर्ने भए पो उनीहरूले होरहोइन ठम्याउँथे । विश्वासका भरमा पैसा दिन्छन्, लक्ष्यित वर्ग हेरेको हेर्यै हुन्छन् । बडो स्वतन्त्रतापूर्वक चल्न पाइरहेछ ‘समाजसेवा’ धन्दा ।
धेरैलाई भूकम्प यस्तो व्यापार बनेको छ, जुन नाकाबन्दीमा गाडीमा तेल हाल्ने माध्यम बनेको छ । देश–विदेश घुम्ने, रवाफिलो जीवन जिउने, फूर्तिफार्ती लाउने सजिलो साथी यही छ । कतिपयले सहयोग माग्दै सामाजिक सञ्जालका भित्ता रङ्ग्याएका हुन्छन् । भावुक बनाउने, आँसु नै झारौं–झारौं लाग्ने शब्दावली राखेका हुन्छन् । दिने पनि मूर्ख नै हुन्, त्यत्तिकै भरमा दिइहाल्छन् । तिनीहरू कसले कसबाट कति उठाए भन्ने कतै सार्वजनिक गर्दैनन् । कसलाई दिएँ भन्ने त झन् देखाउँदैनन् । दिने कुन सामान कतिमा किनेँ भन्ने त शायद श्रीमतीलाई पनि सुनाउँदैनन् ।
धेरै नेपालीलाई फाप्ने व्यवसाय नै सहयोग बटुल्ने ‘ठेक्का’ बनिरहेको छ । भूकम्पपीडितका सहयोगार्थ करोडौं बटुलेको प्रचार गर्नेले कुन रकम केमा खर्च गरे सार्वजनिक गरेका छैनन् । लेखन्दास, लेखापाल र लेखापरीक्षकसँग कुरा मिलाएर सरकारी निकायमा आय–व्यय सन्तुलित देखाउने कला उनीहरूसँग छ । त्यसैले उनीहरूको कार्य वैध बनिरहेको छ । संस्था नवीकरण हुन पाइरहेको छ । दाताले कहिल्यै खोज्दैन, मेरो पैसा कहाँ गयो ? कहिल्यै सोध्दैन मजस्ता कतिसँग उठायौ, के–के गर्यौ ?
अरूको त कुरै छाडौं, सरकारी कर्मचारीलाई कमाउने अवसर बन्यो भूकम्प । कतिवटा पाल किनियो, कतिवटा बाँडियो पुष्टि गर्ने आधार केही हुँदैन । कमसल किनेर महँगोको बिल बनाएका घटना धेरै पाइएका छन् । संख्या ढाँटेका आधार भने कुनै छानबिनले नभेट्ला ।
म केही दिनअघि चितवन, धादिङ र गोरखाका दुर्गम चेपाङ बस्ती पुगेको थिएँ । त्यहाँ भूकम्पपीडितको बिल्लीबाठ छ । बिजोग तालले बसेका उनीहरूलाई सहयोग गर्न कोही गएको छैन । सरकारले दिने राहतसमेत सबैले पाएका छैनन् । गैरसरकारी संस्था र व्यक्तिहरू जाँदै फोटो खिच्दै फर्कने, राहत लिएर छिटै आउँछौं भन्ने तर दोर्होयाएर मुखसम्म नदेखाउने अनुभव उनीहरूले सुनाए । जसले फोटो खिचे, तिनले पक्कै बिचल्लीमा परेका चेपाङका नाममा ठूला–ठूला कमण्डलु थापे, भिख मागे । त्यो आफ्नै गोजीमा राखे । त्यही भएर फर्किएर आएनन् ।
किनकि, त्यो उनीहरूको ‘व्यापार’ थियो ।
कान्तिपुर, माघ ११, २०७२
Subscribe
Login
0 Comments
Oldest






































