साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोराछोरी बराबरी

Nepal Telecom ad

‘बावु आमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गा मूढामाथि’ । प्राणी विशेषका छोराछोरी हुन्छन्, तर मानवले जस्तो सन्तानको मामलामा राष्ट्रै तहसनहस हुने गरी बहस गर्नमा भने पशु जातिहरू विमुख छन् । मानव र पशु समान प्राणी भए पनि लिङ्गको आधारमा छोराछोरी के हो, आफ्नो पराई छुट्याउने अद्भुत् क्षमता भने मानवमा मात्र भएको हुनाले यसले आफूलाई भगवानै ठानिसक्यो । भगवानको जस्तो दूरदर्शी विवेक अन्य प्राणीमा नसल्किएर मानव दानवमै किन सल्किन आएछ कुन्नि । यसै पट्यारलाग्दो या पत्यार लाग्दो बुद्विको घमण्डले गर्दा नै एउटा लिङ्गले अर्को लिङ्गलाई हर्दम ऐठन गर्न तम्सिराखेका हुन्छन् । एउटा बीरले अर्को बहादुरलाई बम्किराखेका हुन्छन् । एउटाको छविले अर्काको रवि चम्किराखेको हुन्छ ।

यस्तो मनोहर बौद्धिक चापको चरम अवस्थामा पनि बावु आमाको अंशमा अडेस लागेर ज्ञानी छोराछोरीले गहतको झोलमा जात फाल्न खोजेको देख्दा यो मगजलाई हुनसम्म उदेक लागेको छ । जनावरले जस्तो स्तनपान गराएर पन्छिनु मान्छेको ब्रह्मले अलौकिक अन्याय ठान्छ । तैपनि बिरलै बेहोसीहरूले गर्भ तुहाएर पुलिसप्रशासनलाई खुवाउनु पनि आफ्नो कर्तव्य ठानेका छन् । अक्कल भएका सक्कली समाजमा रहेका होशीको हातमा अवतरित सन्तानको चाहिँ न्वारान, पास्नी, छेवर, गुरुशिक्षा, व्रतबन्ध, बिहे, आदि जिउँदो छउन्जेल गर्ने धर्म कर्मदेखि लिएर मृत्युपर्यन्त गरिने कृयाकर्मको लागि पनि मानव उत्तिकै लालायित हुन्छन् । यस्तो लतलाई सचेत मानवको भरपर्दो सबूतको रूपमा लिन सकिन्छ । यसै सचेतताको आधारमा पुरस्कारको माध्यमबाट एकताको तोरण बाट्न आमा बावुले अंशरूपी पुरस्कारले सन्तानलाई प्रफुल्ल पारेको घटना इतिहासभन्दा पनि अभूतपूर्व हो । तर आजको नव युगमा पुरानो प्रचलन अपचलन भएको हुनाले जावो पैत्रिक अंशमा हंस साँचेर, हाँसो हाँसेर धित छोड्नु पनि हुतिहाराको चरम अवस्थामा पुग्नु हो । मैले भनेर हुने भए गति छाड्नु, हुती नहार्नु ।

यति भएपछि छोराछोरी कर्मठ । एकान्तमा पुर्पुरो समाएर सोच्ने हो भने अंश लिनु दिनु पनि ज्यादै पाखे परम्परा हो । फेरि पाखे प्रवृत्ति हाम्रो मुलुकमा टिक्न र विक्न बहुत गाह्रो पर्छ । त्यसैले पुत्रपुत्रीलाई अंशको नदौडाई कलमकापीमा मात्र खोज्नुपर्ने र हराएमा पाठशालामा मात्र खोज्नु पर्ने दिनको आगमन भएको छ । बुद्धि तिखारिएपछि मान्छे छुरा हुन्छ । यसैको प्रभावले सारो गारो पनि कमलो बन्छ । बुद्धिको कुपोषणले चाउरिएपछि हरक्षेत्रमा ननिहुरिए सिन्को भाँच्न पनि बलवान छाप सुर्ती खाएर फुर्ती लगाउनु पर्छ । त्यसैले छोराछोरीलाई हर क्षेत्रमा दक्ष होस् या अध्यक्ष बराबरी या सराबरी गर्न शिक्षा नै यसको अंश हो, जुन हितोपदेश मित्रलाभ को तपसीलको श्लोकबाट पनि बुझ्न सकिन्छ ।
विद्या ददाति विनयं विनयाधाति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्म ततः सुखम् ।।
अर्थात् विद्याबाट नम्रता हत्याउनुको साथै अरूले पत्याउने सत्पात्र भएर नै धन, धर्म र सुखार्जन गर्न सकिन्छ । शिक्षाको ठूलो हिस्सा कुम्ल्याउन सकेमा आमा बावुले दिएको अंशभन्दा पनि भरपर्दो र फारु हुन्छ । त्यसैले शिक्षालाई नै रोजौँ अंशलाई छोडौँ ।

अंश र वंशको हकदार छोरा बुहारी नामर्द भएको हुनाले यिनको कृया कर्म घरमै सिध्याउने चलन छ भने छोरीको उमेर छिप्पिएपछि पराइको पयर समाउन नगए छिमेकी रमाउने या हिनहिनाउने प्रचलन नयाँ नौलो होइन । समानताको लागि पनि आइन्दा दिनहरूमा छोराले पनि पराइको पयर समाएर, पराई घरमा रमाएर पराईकै परिवेशमा शयर गरे नमरी स्वर्ग देखिने थियो कि ?

बावु आमाले छोराछोरीको निम्ति बिहान खाए बेलुका के खाऊँ बेलुका खाए बिहान के खाऊँ गर्दै जोडेको जमिन पलाप्पिएका पुत्रपुत्रीको थाप्लामा थोपर्नुभन्दा आफ्नो सास छउन्जेल सम्पत्तिकै रासमा गुडुल्किएर सास फेर्नु बेश हुन्छ । छोराछोरीलाई शिक्षा, आत्मर्निभर, एवं स्वावलम्वी बनाउन उत्तम र उचित शिक्षाको विकराल हात हुने हुनाले लात लगाएर भए पनि सन्तानलाई पठनपाठनमा हात हाल्न लगाउनुबाहेक सन्तानलाई अंश दिने सम्बन्धमा कानूनले काँध थाप्नुभन्दा आजीवन विचाराधीनमा राख्नु झनै बेश हुनेछ ।

यस युगमा छोराछोरीको हातको पौरख हत्याउने आशा पत्याउन धेरैले छोडिसके । भावी बावु आमामा पनि उदासीनताको लहरले साम्राज्य कायम गरेको देख्दा देख्दै मुठीको मुरी तन्नेरी छोराछोरीलाई दिऊँ अनि जींऊँ भनेर कुन मूर्खले भन्ला र ? तथापि इच्छा भए सन्तानले रिझाए पितृको आँखामा नबिजाए एकलौटी माया हत्याउन पनि सकिन्छ । पत्याउन पनि सकिन्छ । माया लिने दिने कुरा मालपोतमा गएर हाकिमको सामुन्ने जमीन राजीनामा या नामसारी वा बकसपत्र गरेजस्तो साक्षी प्रमाण र ल्याप्चे लगाएर गरिँदैन । यो त अन्तरात्मामा हासोन्मादको अरूणोदय भएमा स्वयंसिद्ध तथ्यअनुसार आफै प्रमाणित हुन्छ ।

शुद्ध मान्छेले छोरालाई काखा छोरीलाई पाखा जार या सौताकै सन्तान भए पनि नगर्नू । नाता भन्ने कुरा जन्मिएर लागू हुने तत्व भएको हुनाले यो शतप्रतिशत कृत्रिम हो । त्यसैले नाताको पछाडि लागेर कसैलाई भात खुवाउने र कसैलाई लात खुवाउने पक्षपातीपूर्ण कार्य झुक्किएर पनि नगरौँ । दुश्मनी नै भए पनि एक अर्काको मधुर मिलनबाट प्रक्षेपण गरिएका छोराछोरी नै दम्पतीका सम्पति हुन् । यस्ता चल सम्पति जति ठूलो हुँदै जान्छन् उति–उति चालू पनि हुँदै जानु र अन्तमा दम्पतीको ओहोदामा पुगेर सन्तानरूपी सम्पति उत्पत्ति गर्नु यिनको नैसर्गिक अधिकार हो । यस्तो नैसर्गिक अधिकारको दावेदारी या साझेदारी छोराछोरी दुबैले बराबरी चाहना राखेर बर बधु खोज्छन् या रोज्छन् यो घडीमा बावु आमाले बढी भन्दा बढी होस्टेमा हैंसे गरिदिन सक्नुपर्छ । आफ्ना सन्तानको होस्टेमा हैंसेको दाउन हाले पछि चक्षुबाट साउन बर्सिने र जन्म नेता देखे तर्सिने सम्भावना ज्यादै क्षिण भएर जान्छ । यसरी आफ्ना सन्तानको कदम कदममा होस्टेमा हैंसे गर्नसक्नु नै बावु आमालगायत कानुनको दृष्टिमा समेत सबै या दुवै सृष्टि अर्थात् छोराछोरी बराबरी हुने सम्भवना प्रवल रहन्छ ।

पोखरा सन्देश, २०५३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x