डा. गाउँले बलदेवअङ्ग्रेजी गुरु अन्तर्धान भए !
“गुरुबा ! मलाई अङ्ग्रेजी राम्ररी बोल्न र लेख्न आउँछ तर नेपाली चाहिँ शुद्धसँग बोल्न पनि जान्दिनँ, लेख्न पनि जान्दिनँ । मलाई नेपाली भाषा सिकाउन भ्याउनुहुन्छ ?” लिम्बू थरका एक जना कुशाग्र बुद्धिशाली मेरा छात्रले मसँग नेपाली सिक्ने चाहना विनम्रता–पूर्वक व्यक्त गरे । “आठ कक्षामा पढ्दैदेखि नेपाली व्याकरण सिकिसकेका ती छात्रले नेपाली भाषालाई अङ्ग्रेजीभन्दा असजिलो ठान्नुको रहस्य के होला ?” मैले मथिङ्गललाई मथ्न थालेँ । निकैबेरपछि कारणको नौनी निस्कियो ।
उनलाई अङ्ग्रेजी पढाउनेले भाषा सिकाइसम्बन्धी अभ्यास गराउने क्रममा सुनाइ, बोलाइ, पढाइ र लेखाइ सँगसँगै सिकाएका रहेछन् । नेपालीमा चाहिँ एकोहोरो लेखाइ मात्रै गराइँदो रहेछ । मैले एउटा सर्तनामामा तिनलाई सहमत गराएर नेपाली सिकाउन थालेँ । सर्तअनुसार तिनले मलाई अङ्ग्रेजी भाषा सिकाउनुपर्ने थियो । मैले उनलाई अङ्ग्रेजी पढाउनेकै सूत्र लगाएर नेपाली सिकाउन सुरु गरेँ । कुशाग्र बुद्धि भएका तिनले थोरै दिनमा धेरै कुरा सिके । मेरो भुत्तो मस्तिष्कमा उनले सिकाएका कुरा पटक्कै पस्न सकेको थिएन । कहाँ–कहाँ भीमकायी वर्ण अर्थात् ‘क्यापिटल लेटर’ राखिन्छ र कहाँ–कहाँ भुसुने वर्ण अर्थात् ‘स्मल लेटर’ राखिन्छ ? ‘ए’ कहाँ लाग्छ, ‘एन’ कहाँ लाग्छ ? ‘द’ कहाँ रहन्छ र ‘दी’ कहाँ जडिन्छ ? ‘क्नाइफ’ लेखेर ‘नाइफ’ किन बोल्नुपरेको? ‘चल्क’लाई ‘चक’ किन भन्नुपरेको? यी र यस्ता अनेकौँ जिज्ञासाहरू थिए, मेरा ।
मैले तिनैका लागि विशेष पाठ्यक्रम बनाएको थिएँ । त्यसैका आधारमा सिकाएँ । उनले बनाएको पाठ्यक्रम चाहिँ मेरा लागि स्वीकार्य हुन सकेन । म जे–जे सोध्थेँ, उनले त्यसै–त्यसै अनुसार मेरो चित्त बुझाउनुपर्ने थियो । उनले ‘पीयुटी=पुट’ हुने अनि ‘बीयुटी’ चाहिँ ‘बुट’ नभएर ‘बट’ मात्रै हुने कुरा सिकाए । मैले यस विभेदकारी नियम बन्नाको कारण सोधेँ । उनले मौनता धारण गरे । भोलिपल्ट मलाई चित्त बुझ्दो कारण बुझाउनुपर्ने थियो, बिचरा ! मेरा ती अङ्ग्रेजी गुरु अन्तर्धान भएको भयै भए ।
गुरुलाई चेलो बनाउने उनको धोको पूरा हुन सकेन । मैले पनि अङ्ग्रेजी भाषाको पाठ पढ्न पाइनँ । ‘एससिएचओओएल=स्कुल’ लाई ‘एसकेयुएल=स्कुल’ बनाएर अङ्ग्रेजी भाषा सरल बनाउन हाम्रा पाठ्यक्रमविद्हरूले किन नचाहेका होलान् ? अचेल मलाई यस्तै–यस्तै जिज्ञासाले सताउन थालेको छ ।
अर्का मातृभाषीको काल्पनिक समस्या निदान गर्ने निहुँमा नेपाली भाषामा लेखिने देवनागरी लिपिका संयुक्त अक्षरहरूलाई हटाउने हाम्रा स्वनाम–धन्य भाषाविद्हरूले अङ्ग्रेजीका संयुक्त अक्षर (ज्वाइन्डिङ लेटर) र ‘क्यापिटल’ वा ‘स्मल’मध्येका एक थरी वर्ण हटाउन सल्लाह दिएको भए हुन्थ्यो नि! अङ्ग्रेजी पनि हामीले बोलेअनुसार लेख्न पाइने भए कुनै पनि विद्यार्थी एस.एल.सी.को भिरबाट गुल्टिने थिएनन् कि? पदक्रम नै नेपाली र अङ्ग्रेजीमा फरक हुन्छ । अङ्ग्रेजी जस्तै नेपाली बनाउन सकेमा हाम्रा राष्ट्रिय विद्वान्हरू पनि पदेन अन्तर्राष्ट्रिय बन्ने थिए । अर्काको भाषा अङ्ग्रेजीलाई चाहिँ छुनै नहुने अनि स्थिर भइसकेको र सकारण स्थापित भइसकेको नेपाली वर्णविन्यासलाई भने थिलथिल्याइरहनुपर्ने बाध्यता पाठ्यक्रम विकास केन्द्रमा बसाइएका तात्कालिक महापुरुषहरूले कुन महाराष्ट्रबाट बेसाएछन्, कुन्नि !
नैकाप, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































