बद्रीप्रसाद दाहाल ‘भस्मासुर’मिलावटवाद जिन्दावाद !
संसारमा प्रतिपादित वादहरू नेपाली समाजमा निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिसावटीवादले आवाद गरेर राष्ट्रलाई बरबादतिर धँकलिँदैछ । राजनीति, अर्थतन्त्र, वाणिज्य नीति, शिक्षा प्रणाली सबैमा मिसावटीवाकै संवाद र विवादले बहार पाएको छ । लोकतान्त्रिक समाजवाद, बहुदलीय जनवाद, जनतान्त्रिक समाजवाद, लगायतका ठिमाहावादहरू राजनीतिमा हावी गराइएका छन् भने सरकारी, निजी, सहकारी अनि सामुदायिक जस्ता तीन खम्बे चार खम्बे मिश्रित अर्थतन्त्रमा नेपालको अर्थ नीति मार्च गराउने स्वैर कल्पनाहरूले मिलावटवादकै पृष्ठपोषण गरिरहेका छन् । शिक्षा पद्धति अलिकति गुरुकुल अलिबढी लर्ड मेकाले वाचा प्रयोगात्मक मिसाएर यसमा पनि ठिम्मरवादको टिम्मर मजैले कसेका छौं । त्यसै गरी संस्कृति, उद्योग, स्वास्थ्यलगायतका क्षेत्रमा पनि मिसावटवादको हाकोडाको र साम्राज्य मजैले जमेको छ ।
यी मागि उल्लेख गरिएका सबै क्षेत्रमा सघन रुपमा फैलिएको मिश्रण तन्त्र, मिसावटीवाद वा फ्युजनलाई आदर्श मान्दै यतिखेर उपभोग्य सामग्री आपूर्ति गर्ने व्यापारी एवं व्यवसायीहरू तुच्छकोटीको, मिलावटी चिन्तनबाट आक्रान्त छन् । हिजोका रोडपतिहरू आजका करोडपति र खर्बका मालिका बनेका दृष्य सालिक भएर हेर्न पाइन्छ । हिजोका हात्ती छापे र गैडाछापे चप्पल लगाएर कैंडा लाग्ने गरी सडकमा भौतारिने राजनीतिज्ञहरू आज जसरी प्राडो, पजेरो, सुजुकीका वातानुकूलित सवारीमा गुडेर आलिसान महलमा राज भएका छन् । हिजोका दोबाटोकुरुवाहरू पनि मिलावटीवादकै प्रतापले नव कुवेर बनी तालु खुइल्याएर भालुझैं भई आम उपभोक्तालाई विषमिश्रित आलु खुवाई चिथर्नसम्म चिथरे गाठे ! पानी, तेल, मासु, मसला, दूध, तरकारी, चामल, गेडागुुडी, मिठाई, पाउरोटी, चकलेट, पुष्टकारी, घिउ, तरकारी, मैदा, ग्याँस, दालजस्ता सबै बस्तु बेहाल पारामा हलाहल बनेर बहुरङ्गी हुँदै उपभोक्ताहरूको आँगनमा भित्रिएका छन् । मिति गुज्रिएका, छिमेकी देशले गुणस्तरहीन भनी प्रतिबन्ध लगाएका चीजबीजहरूलाई टिपेक्स लगाएर सानादेखि ठूला–ठूला कम्प्लेक्ससम्म झिल्के खोल हालेर ग्राहकको आँखामा फुलोपर्ने कसरतमा यमराजका सहोदर कालोबजारिया भाइहरू लागि परेका छन् ।
वर्षौदेखि कमिसनको झुसिलो डकारमा छँटाउने राज्य चालकहरूले दुई नम्बरी कालबानियाँ लाई सालाकै दोस्रो अवतार ठानेर गाला मुसार्ने रोगले जनता वा आम उपभोक्ता हालाबाला बनेका छन् । “काग कराउँदै छ, पिना सुक्दै गर्छ” भन्ने उखानको बखान बुझेका राज्य चालकहरूनै यी अपराधीहरूका पालक र धर्मपिता बनेकै परिमाण सम्पूर्ण नेपालीहरूले नानाथरी रोगलाई राष्ट्रिय व्याधिमा स्थापित गर्न पुगेका छन् । किडनी बिग्रने, आँखाको ज्योति गुम्ने, क्यान्सरले चुम्ने, कलेजो र फोक्सो थोत्रिएर फुट्ने, मुटु कुटुकुटु खाने, डिप्रेसन, मानसिक असन्तुलन, अमलपित्त, कमलपित्त जस्ता रोगका गतिला भण्डार भएका छन् नेपाली शरीरहरू । यहाँ पाउँ भण्डारले आउँ पारेका छन्, मासु पसलले आँसुका फसल जन्माएका छन् । मिष्ठान्न भण्डार विष्ठान्नको हुँडार भएको छ, किराना पसलहरू मिति गुज्रिएका सामान बेच्ने बिराना अरिङ्गालका रुप लिएका छन् हरे दैव ! ग्याँसका सिलिन्डरहरू अटोमेटिक बम बनेर घरघरमा विस्फोट हुँदै छन् ।
भूकम्प शिविरहरूमा विश्व खाद्यसंस्थाका ढुटिएका खाद्यान्न मान्य बनाउने खेला स्वयं राज्य गर्न तयार छ । उखानटुक्का मिसाएर गरिएको भाषणमा कुशासन टिकाउने जुक्ति र मुक्तिको सूत्र सिस्नोझैं मौलाएको छ । हुँदा हुँदा अब पार्टीभित्रको चुनाबमा पनि कार्यकर्ता विवेक पु¥याएर हो वा निमेक तु¥याएर हो सबै गुटकालाई भाटभुट गरेर अबिरले रङ्गाउँदै खादा गुताइदिन थाले बा ? अनि उनीहरूलाई पदको लाइसेन्स दिएर चाटचुट पार्ने गोल्डेन चान्समा डान्स गर्ने मौकाको चौका पारिदिन थालेका छन् । जो हालै निष्पन्न नेपालको पुरानो दलमा देखिएको छनोटे भल हो । दलभित्र पनि फ्युजनको वा मिलावटवादको टड्कारो आवश्यकता अनिवार्य भएछ । सर्प , गरुड र बिच्छी एकै डाउँमा थन्क्याएर रमाइलै वर्णशङ्कर कडासित खडा गरिदिए गाँठे ?
दूधमा सोडा मिश्रण गरेर कान्छी नानीका तोडा कस्ने, अझ सर्फ मिलाएर दूधलाई अखाद्य बनाई नाफाखोरी गर्ने, घिउमा जनावरको बोसो मिसाएर देखावटी ओसो भज्ने ढोंगीहरूका रोगी बनियाँ चिन्तनले जनस्वास्थ्यनै तहसनहस भयो बा ! बा ! जसरी राजनीतिमा माक्र्स लेलिन र माओवादले मात्र नपुगेर खाओवाद, पिओवाद र घिचोवाद मिसाइएको छ, जसरी लोहिया गान्धी जेपी र वीपीवादमा गुट महागुट र कोटरीवादले राइँदाइँ मच्चाएको छ । त्यसै गरी वाणिज्यवादमा पनि ‘एनिहाउ पैसा कमाउ’ भन्ने तुच्छ आपराधिक वाद मिसाएर उपभोक्ताका अर्थधरातलदेखि स्वास्थ्यसम्म तलातल पाताल रसातलतिरको जात्राको मृत्युमार्ग खडा गरी दिएका छन् मिसावटीवादीहरूले । पुतना, शूर्पणाखा, वक्कासुर, अघासुरका राक्षसी चिन्तन बोकेको मिसाटवादबिरुद्ध अब जनता आफैं उत्रिएर हातपात गर्नपर्ने तुच्छ अराजतकतातिर त समाज हाम्फाल्दैन ? खबरदार मिसावटी, मिलावटी कुचिन्तनमा ग्रस्त सबैखाले फ्युजनवादीहरू ! आततायी मिलावटवादलाई मुर्दावाद छ !
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































