साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्कनो

Nepal Telecom ad

प्राणीलाई धेरै थोकले सताउँछ । कसैलाई छोराछोरीले सताएका हुन्छन् त कसैलाई श्रीमतीले सताएर हैरान । कसैलाई बावु आमाले नै सताउँछन् त कसैलाई छोराबुहारीले सताएर हैरान । कोही जुवाइँले सताइएका हुन्छन् त कोही सासूले । कोही लोग्नेले सताएर हैरान हुन्छन् त कोही ढोग्नेले । ठग्ने, लुट्ने, चोर्ने, चुस्ने यावत् औतारका प्राणीबाट मानवमनहरू उद्वेलित भइराखेका हुन्छन् । मानव मन सामान्य टोकाइ चुसाइमा प¥यो कि ज्यादै वा हदै दुःखी हुन्छ र एकान्तमा रुन्छ । एकान्तमा रुनु मन धुनु मानव अधिकारको कुरा हो । रुन, मन धुन पाउनु पर्छ । कोहीबाट छिसिक्क सताइयो कि मान्छे ‘दुःख मनाउ’ गरिहाल्छ । आफूमाथि के यस्तो वज्रपात आइलाग्यो प्रभु ! भन्दै भगवान्लाई नमस्कार ठोकिहाल्छ । अप्ठ्यारो प¥यो कि भगवान्लाई जुम्लाहात गरेपछि समस्या ट¥यो भन्ने आम आस्तिकहरू चम्कनो मार्दा पनि पाप नलागोस् है प्रभु ! भन्दै दुई बूढी औँलाको नङको च्यापमा पारेर सताउनेलाई ठहरै पार्छन् ।

चम्कनोले टोक्यो, खायो भने मान्छेले सर्माउदै भन्छ “चिलायो” । आङमा चम्कनोले डस्न सक्छ । कपाल कन्याउँदा चम्कनो खस्न सक्छ । प्राणीको सारा शरीरमा चम्कनो बस्न सक्छ । बसे पछि डस्न सक्छ डस्नु आङमा बस्नु चम्कनोको धर्म हो । आङ्मा नबसेर के बाँस झाङ्मा बस्छ त ? चम्कनो शरीरमा नपरेर के घाँसमा पर्छ त ? धर्म निर्वाह गर्नु सबै प्राणीको रीत हो । सबै प्राणी आ आफ्नो रीतको शिरोपर गर्दै बस्न, डस्न र चुस्न खोज्छन् । चम्कनो पनि चुस्ने, डस्ने प्रजातिको प्राणी हो । नेपाल, भारतलगायत विश्व नै चम्कनोबाट सताइएको छ । जहा मान्छे छन् त्यहाँ चम्कनो बढेर ओसामा विन लादेन जस्ता ढाडी बनेर विश्वलाई चुसिराखेका हुन्छन् । ओसामा विन लादेनको सिको गर्ने ब्रह्मपुत्रहरू बढेर नेपाललाई बगाउन भगाउन खोजिराखेका छन् । सोजा सिधा र कामकाजी मानवहरूलाई सताउने, टोक्ने, ठोक्ने, चुस्ने, गरेर केही गरिखान दिएका छैनन् । रातमा नीँद छैन, दिनमा चयन छैन, चिलाउँदा कन्याउँदा नै अमूल्य समय बरबाद भइराखेको छ । चम्कनो र ढाडी जम्राको पछि लाग्दा लाग्दै समय सिनित्त सिद्धिन्छ । तै पनि न ढाडी ठेगानमा आउँछ न त चम्कनो नै सिध्याउन सकिन्छ । नफैलिनु चम्कनो फैलिएपछि यस्तै हुन्छ । त्यसैले मैला धैला होइन सुकिलामुकिला भएर जिउन र पिउन जान्नुपर्छ ।

चम्कनो सतार हो । मानवशरीरमा प्रवेश गरेर चम्कनोले टोक्नु टोक्छ सताउनु सताउछ । हैरान पार्छ । यसलाई चानचुने रूपले लिनु हुँदैन । यो भयंकर खतरनाक जीव हो । जीउँदै मान्छेको रगतै चुस्नु भनेको कम हो ? टकटकाउदो, सुकसुकाउदो, सुकिलामुकिला भएर यसको प्रवेश मार्ग बन्द गर्न सकिन्छ । टकटकाउँदो सुकसुकाउँदो सुकिलामुकिलासँग चम्कनो संसर्गमा आउन रुचाउँदैन । यदि चम्कनो परिहालेछ भने नङले कच्याक्क परेर मार्न लाज लाग्छ होला त्यसको लागि साबुन सरफमा डुबाएर मुङग्राले ड्याम ड्याम पिटेर पनि यसको हुर्मत लिन सकिन्छ । तर ड्याम ड्याम आवाजमात्रले चम्कनो निख्रिदैन । यसलाई प्रकृया पु¥याएर थान्को लगाउनु पर्छ । गलत प्रकृयाले पर पर सारियो भने झन् वर वर आएर सताउँछ । शिविर खडा गरेर राख्ने हो कि ? या उडुस उपियाँमा समायोजन गर्ने ? दुविधा गर्नु हुँदैन । यसलाई कसरी हुन्छ निखार्नै पर्छ । जिउँदा मान्छेको रगत औधी मन पराउने हुनाले यसले रगतबाहेक केही खाँदैन । चुस्न पाएन भने बरू मरेर सडिएर जान्छ, तर रगत चाहिन्छ । चम्कनोको पौष्टिक आहार वंशानुगत स्वभाव र रुचि नै रगत हो । फगत रगतमा डुबुल्की मारेरमात्र यी बाँचेका हुन्छन् अन्य तरिकाले जिउने पिउने क्षमता यिनमा हुँदैन । त्यसैले जिउँदो शरीर पाएर पनि कलाहिन चुसाइको कारण चम्कनो ढाडीहरू सत्ताबाट फालिन्छन् । या मारिन्छन् वा खसि पारिन्छन् या ढाक छोप गरेर राखिन्छन । मानौ जम्म्रा चम्कनो परेकै छैन् दुः ख दिएकै छैन झै चम्कनोको टोकाई र रन्को बिर्सिएर हाँस्नु प¥या छ । सज्जन सुकिलामुकिला मान्छेहरूले चम्कनोको उत्पत्तिलाई खतीको रूपमा स्वीकार्ने गर्छन् । भावी पुस्ताले पनि चम्कनोको विकास र विस्तारमा तगारो लगाएर विनासमा जोड दिन्छन् कि जस्तो छनक पाईन्छ ।

चम्कनो उडुस र उपियाँको पनि हुन्छ । यी पनि रक्त पिपासु जीव हुन् । यस्ता थुप्रै प्रकारका जीवहरू मानव चर्ममा टाँसिएर लुकी छिपी बस्न रुचाउछन् । मानवले प्रयोग गर्ने वस्त्र अस्त्रमा टाँसिएर गाँसिएर मौका मिल्नासाथ आफ्नो वंश फैलाउन सक्छन् । चम्कनोको वंश फैलियो भने जाँगरिला मान्छेहरूलाई दिन प्रतिदिन यसकै पछि लाग्नु पर्ने कामै बन्न सक्छ त्यसैले सावधान ! चम्कनोदेखि सावधान हुनै पर्छ र धनी, गरीब, रोगी, निरोगी, सज्जन, पागल सबैथरी प्राणीलाई सताएको हुन्छ । रगत पिउनुसँग सोझो सरोकार राख्ने यस प्राणीले यस्तो त्यस्तो भनेर छुट्याउँदैन मात्र जिउँदो भए हुन्छ । मरेको मान्छेलाई चम्कनोले छाड्छ । यो जस्तो ठाउँमा बस्छ त्यस्तै रूप रङको हुन्छ । ठाउँअनुसारको रङ लिन सक्ने खप्परमा चम्कनो प¥यो भने त्यो कालो रङको हुन्छ र यसको विकसित रूप ढाडी झनै कालो हुन्छ । यिनीहरूले मौका छोपेर टुपीको फेद, कन्चट, तालु, खोप्लेगिडी आदि अखडाबाट रगत खंैचिएर मानवलाई ज्यूनार गर्नसक्छन् । त्यस्तै घाँटी वा किलकिले भन्दा तल जाँघभन्दा माथिका चम्कनोहरू सेता कुइरा डाल भएका हुन्छन् । पूर्णरूपले विकसित यिनीहरू कुइरे कुइरिनीकै तालमा एकअर्कामा दागा धरिरहेकै हुन्छन् । भैँसीको ज्यानमा पर्ने चम्कनोहरू हातले मार्न नसकिने कडा चर्मका हुन्छन् । मानव चर्मका चम्कनोहरू चाहिँ छोइराखूँ, मुसारीराखूँ जस्ता नरम मुलायम चर्मका हुन्छन् । जसलाई टिपिक्क टिपेर पिटिक्क पार्न सकिन्छ । मार्दा त्यसको आन्द्रा भुँडी सातपत्रे आफ्नो मुख र ज्यानमा पर्छ कि ध्यान दिँदै आफ्नै मुन्टो बटारेर मार्ने चेष्टा गर्नु पर्छ । सज्जन मान्छेहरू हाकाहाकी चम्कनो मार्न सर्माउँछन् । लुकाएर आँखा छलेर दाँया बाँया खोकिलाको अन्तरकुन्तरमा लगेर जम्राको ज्यान लिन सक्छन् । छाँया पारेर मार्छन । बरू मान्छेले मान्छेलाई हाकाहाकी मार्न केही झैं मान्दैन तर चम्कनो ढाडी जम्रा मार्दा औधी नै सर्माउँछन् । शायद जम्रा जीवहरूसँग इज्जत प्रतिष्ठा गाँसिएको हुन्छ क्यार ! चम्कनो मारेको अन्यत्रीले देखिहाले भने इज्जत प्रतिष्ठा स्खलन हुनसक्छ क्यार ! मानमर्यादामा आँच आउन सक्छ होला र त मान्छेका मेल फिमेल उदेकलाग्दो गरी सर्माउँछन् । तर मान्छेले मान्छे मार्दा त्यो अनुभूत गर्न छोडिसके । त्यसैले बुद्धिमान् मान्छेले सानो कुरा होइन, ठूलै कुरा मार्न खोज्छ । गैँडा, बाघ, कस्तूरी, हात्ती र धनवान् ठूला व्यापारी मान्छेलाई चण्डाल, सिल्ली मानवले नशर्माई मारिराखेकै हुन्छ ।

जुनसुकै चीजको पनि इतिहास हुन्छ । इतिहास मानव अस्थिपञ्जरको पनि हुन्छ । जुनसुकै जीवाष्मा जीवावशेषको उत्पत्ति वा प्रादुर्भावको इतिहास हुन्छ । मानवसँग सम्बन्धित चम्कनोको पनि इतिहास र उत्पत्ति विन्दु हुनसक्छ । उत्पत्ति कसरी, उत्पादन कसरी, संरक्षण कसरी र विनाश कसरी ? सुकिलामुकिला र कलीका कलिला अन्वेषकहरूमा जिज्ञासा लाग्न सक्छ । मानव सृष्टिको मिर्मिरेदेखि नै चम्कनोको चिनारी छ । मैला धैलाको पछि लाग्दै लाग्दै सुकिलामुकिलासम्म आफ्नो सञ्जाल फैलाउन सफल चम्कनोको चुसाइको सिको गरेर चलाख चम्बू मान्छेहरू चूस्दा चूस्दा भुँडी ह्वात् ह्वाती उँभो लागिरहेको देखिन्छ । यस कृयालाई यस्ता मान्छे आफ्नो पौरख ठान्छन् । यस जमानामा खानु खानु खाली खानु र भँुडी ठूलो यमानको बनाउनुलाई पौरख र पाखुरीको बुता ठान्छन् । यस्तै पाखुरी र पौरखका पारखीहरू नै अग्रपङ्क्तिका सम्मान र पुष्पगुच्छाका दावेदार हुन्छन् । यसलाई हामीले बधाइ र गर्वका साथ नियालिराखेका हुन्छौँ ।

चम्कनोको सूक्ष्म रूप लिखो हो । लिखो, भुसुनो, चम्कनो, ढाडी हुँदै जम्राले जीवनलाई उत्कर्षमा पु¥याउँछ । पेट पालनको सिलसिलामा सुकिलामुकिला मैला धैला केही नभनी शरीरमा बुर्कुसी मार्दा मान्छेलाई चिलाउँछ । यस्तो स्थितिमा मान्छेले हातैले वा भित्तामा रगडिएर, दाउराले वा कलमले कन्याएर धित मार्छ भने पशु र पक्षीहरूले खुट्टा जिब्राले चुच्चाले मुखले रगडेर चिलाइलाई थान्को लगाउँछन्, क्षणिक आनन्द लिन्छन् । फेरि उस्ताको उस्तै आफ्नो पूर्णकदबाट चम्कनोको उठीबास नभएसम्म चिलाउने कन्याउने काम जारी रहन्छ । आज नेपाल आमाको सारा शरीरमा चम्कनो परेको छ । यसलाई सरकारले सिध्याउन नसकेर खुट्ट्रा कमाई राखेको छ । लगलग हल्ली राखेको छ । विभिन्न जातजाति संघीयता र समावेशीयताको थाङ्नाको मर्मत सम्भार गर्दागर्दै त्यही लुगा कपडामा उडुस, उपियाँ, लिखा, भुसुना, चम्कनो, ढाडी, किर्नाजस्ता परपीडक रक्तपिपासु जीवहरू च्याउ उम्रेझैं दिनानुदिन वृद्धिले नेपाल आमालाई बाँच्नु न मर्नु, न हाँस्नु न रुनुको स्थितिमा पु¥याएको छ । शरीर शस्त्रअस्त्रका अन्तर कुन्तरमा विभिन्न क्याम्प र शिविरमा जेनतेन बाँचेका जीविका चलाएका चम्कनोहरूले आफूलाई यसैमा भाग्यशाली र आफ्नो सौभाग्य ठानेका छन् । मर्न नसकेका मार्नु पर्ने जीवको यसै अहंकारको कारण नेपाल आमालाई सन्चो छैन । जिउ चङगा छैन । पिउने पवित्र गङ्गा छैन । सोझा सिधा सुकिलामुकिला र मैला धैलाहरू यही पिरलोले खिस्रिक्क परेका छन् । पर्यटन, पर्यटक, व्यापार व्यवसाय सब सोत्तर भएर सुतेका छन् । ननिदाए पनि चिन्ताग्रस्त स्थितिमा उँघिराखेका छन् । आमालाई सताएर माकुराको बच्चाले आफ्नै जननी सिध्यायझैं नेपाल आमाको पनि हुर्मत लिंदै हुरुक्क हुरुक्क बनाइसकेका छन् । धेरै समय भयो यो हविगत व्यहोरेको । आमालाई रुवाउनु, घात, प्रतिघात र कुठाराघात गर्नु महापाप हो । कसरी हुन्छ चम्कनो, उडुस, उपियाँलाई शरीरमा साम्राज्य कायम गर्न दिनु हुँदैन । शरीर छोडिदेउ, आमालाई बन्धन मुक्त गर, नसताऊ, के खान्छौ, के लगाउँछौ बताऊ भनेर चम्कनोलाई सिधा दिएर विदा दिनु प¥या छ ।

जहाँ चम्कनो, उपियाँ, उडुसजस्ता जीवले उपद्रो मच्चाउँछ त्यहाँ लाभ हुन्छ । कसैलाई फाइदा हुन्छ कसैलाई बेफाइदा । यो पर्नु भनेको सगुन र अपसगुनको कुरा पनि हो । फाप अफापको कुरा हो । नेपाल सिध्याउन खोज्ने विभिन्न बान्कीका चम्कनोहरूले उग्ररूप लिएका छन् । यो फाप हो कि अफाप हो ? फाप अफापको रिजल्ट पछि निस्कन्छ । सगुन अपसगुन भविष्यले बताउँछ । हुन पनि जम्रा परेको कसैलाई फाप्छ कसैलाई फाप्दैन । तर दुःखको कुरा नेपाल आमाकोे रगतमा होली खेलेका छन् । बुद्धिमानी चण्डाल ढाडी, नेतृत्व वर्गहरू विवेक शून्य तथा मूकदर्शक भएर चम्कनोलाई आदेश दिन्छन्, ह्वीप जारी गर्छन् “उखरमाउलो मच्चाऊ, सताऊ टट्टाउने गरी टोक, ठोक, चुस, कसरी हुन्छ सताओ, बेस्मारी सताओ र मानव बिस्तारामा लुक, मानव चर्ममा किर्नु बनेर मार्नै नसक्ने गरी लुक अनि हामी बाहिर निस्किएर कुर्लन्छौं “चुस्न, धुत्न, लुट्न, सिध्याउन उठिबास गराउन पाउनु पर्छ” । शायद हुनसक्छ यी किर्ना, चम्कनो उडुस र उपियाँले सत्ता ताकेका होलान् । सत्ताको स्वाद थाहा पाएपछि यस्तै हुन्छ । झीना मसिना सानातिनालाई पनि सत्ता चाहिने भए पछि केही समयलाई बाईसे चौवीसे राज्य बनाएर माग पु¥याइ दिए चम्कनो ढाडीसँगको रँडाको साम्य हुँदैन र ? यसो गरे कसो होला ? त्यसो गरे साँप पनि साम्य पर्दैनथ्यो हम्मे हम्मे । होइन भने बुद्धिमानीबाट बालहठ किन ? बुद्धिमानी त सदाबहार बुद्धिमानी नै हुन्छन् हैन र ? के बुद्धिमानीहरूले पनि वेला वेलामा सन्किएर बाटो बिराउने र पिराउने गर्छन् ? यो गर्न तिनलाई सुहाउँछ ? हुनसक्छ, बुद्धिमान्हरू मूर्ख हुने समय आएको छ । हिजो मयलका लिखाहरू आज भुसुना भोलि चम्कनो पर्सी ढाडी कस्तो छिटो विकास । नेपालको पनि यस्तै छिटो विकास सम्भव छैन ? यसरी तीव्र गतिले विकास हुने भए सुकिलामुकिलाको सङ्ख्या बढ्ने थियो । चम्कनो मार्ने समय बच्ने थियो । सरकारले लिखा मार्न नै अल्छि गरेर हो चम्कनो फैलिएको । लिखा त हो भनेर हेप्नु भएन । हेपेको खोलाले बगाउँछ । विभिन्न ब्रह्मपुत्रहरूले नेपाललाई तलै तलै बगाइराखेका छन् । यो हेपेको फल हो । कर्मको फल हो । कर्मको फल सबैको साझा र अनिवार्य हुन्छ ।

एक छिमल हुर्किएका किर्ना, चम्कनो, ढाडी, उडुस, उपियाँलाई सरकारले भात भत्ताको साथमा थाङ्नामा सुताएर बिभिन्न शिविरमा थन्क्याउने वा अन्य रक्तपिपासु जीवहरूसँग समायोजन गर्ने वा आफ्नै खप्पर खोप्लेगिडी र खोकिलामा कोच्ने शीघ्र निर्णयको खाँचो पर्छ । नत्र टट्याउने गरी टोक्नसक्छ । यसलाई जबरजस्ती गलहत्याउने कि नत्थी लगाएर राख्ने ? चम्कनोको यावत् विकारहरूले नेपालआमाको पूर्ण कद हदभन्दा बढी विकारमय भएको छ । अब नेपाल आमालाई हँसाउन, सुकसुकाउँदो, भरभराउँदो, चम्किलो बनाउन सज्जन नागरिक समाज, सुकिलामुकिला बौद्धिक क्षेत्रका अगुवा, पछुवा सबैलाई चम्कनो, किर्ना, उडुस, उपियाँको जरै उखेल्न शरीरको भुत्ला उखेल्न र ढाडीको सीङ, जरो, जुरो र जुँगा उखेल्न काइँयोसहित तातो पानी उमाल्न आजकै तिथि र तारिखबाट म चम्कनोपीडित, ढाडीेधारी मानव साँचो सङ्लो मनले आह्वान गर्दछु ।

फुलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x