लक्ष्मण गाम्नागेसूचना ! सूचना ! ! सूचना ! ! !
रत्नपार्कसँगैको भोटाहिटी सब(वे क्रसिङमा छिर्ने ठाउँमा ’सूचना ! सूचना !! सूचना !!!’ भनेर एउटा सूचना लेखिएको रहेछ– ‘बाटो चिप्लो भएकाले सावधानीपूर्वक हिँड्नुहोला ।’ बाटो साँच्चै चिप्लो, अँध्यारो र अप्ठ्यारो रहेछ । धन्य त्यो सूचना पढेकाले म सकुशल पारि पुगेँ । नत्र के थाहा चिप्लेर डङ्ग्रङ्ग लडिन्थ्यो कि ! खुट्टै पो भाँचिन्थ्यो कि ! उस्तै पर्दा भित्तामा टाउको ठोकिएर मर्नै पनि के बेर ! यत्रो आततायी भूकम्पले पनि नमारेको ज्यान सब(वे क्रसिङमा चिप्लेर मरेको भए मेरो कत्रो बदनाम हुन्थ्यो ! जे होस्, सरकारी सडकमा यस्तो महत्त्वपूर्ण सूचना दिई सतर्क गराएको देखेर म सरकारप्रति कृतज्ञ भएँ र मनमनै सरकारको जयजयकार गरेँ । हो नि त, चिप्लो बाटो भएको ठाउँमा यसरी सावधान गरायो भने बटुवा चिप्लेर लड्दैनन् । बिस्तारै हिँड्छन् । चिप्लिइएला भन्ठान्नेहरू वा हिँड्न नसक्नेहरू अर्कै बाटो हिँड्लान् । क्या जनउत्तरदायी सरकार !
यस्ता हरेक अप्ठ्यारा र जोखिम हुने ठाउँहरूमा ’सूचना ! सूचना !! सूचना !!!’ लेख्नु सरकारको कर्तव्य हो । यसबाट जनताको जिउज्यानको रक्षा हुन्छ । अरू पनि यस्ता धराप र जोखिमका स्थानहरूमा सरकारले जनतालाई जानकारी गराउनुपर्छ ।
सार्क सम्मेलनका बेला सरकारले बनाएका राजधानी सहरका अधिकांश सडकपेटी सम्मेलन सकिनासाथ भत्काएर महिनौँदेखि अलपत्र छाडेको छ । बनाउने कुनै छाँटकाँट नभएकै बेला भूकम्प आयो । अब यी पेटीहरू बन्ने कहिले हो कहिले ! त्यसैले सरकारले आफ्नो कर्तव्य पूरा गर्दै सडक पेटीमा ठाउँठाउँमा ’सूचना ! सूचना !! सूचना !!!’ लेखेर टाँस्नुपर्छ, यस्तो बेहोराको– ‘पेटी भत्किएको छ । सडकबाट हिँड्दा मोटरले ठोक्काएमा सडक विभाग जिम्मेवार हुने छैन ।’
सरकारले हुम्लारजुम्लामा पनि खुला दिसापिसाबमुक्त क्षेत्रको झन्डा गाडिसक्यो तर राजधानीको मुटु रत्नपार्ककै वरिपरि हेरिनसक्नु छ । सहरलाई दिसापिसाबमुक्त गर्न सकिन्न भने ठाउँठाउँमा सूचना लेखेर टाँङ्नुपर्छ– ‘पेटीमा जताततै दिसापिसाब गरिएको छ, फड्को मारेर हिँड्नुहोला ।’
विभिन्न सरकारी कार्यालयहरूका गेटैमा यस्तो सूचना पाटी राखेर जनतालाई सावधान गराउनु सरकारको कर्तव्य हो– ‘सूचना ! सूचना !! सूचना !!! कर्मचारीले घूस मागेमा नदिनुहोला अथवा मागेको भन्दा थोरै मात्र दिनुहोला ।’
भूकम्पको विनाशपछि अब सरकारले ठाउँठाउँमा यस्ता सूचना टाँस्नु आवश्यक छ, ‘यो गल्लीका सबै घरहरू नक्सा पासभन्दा चारदेखि आठ गुणासम्म अग्ला छन् । जुनसुकै बेला जुनसुकै घर पनि भत्किन सक्छन्, सतर्क भएर हिँड्नुहोला । घरमा बस्नेहरू सधैँ भाग्न तत्पर रहनुहोला ।’ यति सूचना दियो भने नगरपालिका धन्य हुनेछ, जनता दंग हुनेछन् ।
भूकम्पपीडित शिविरहरूमा पनि ‘सूचना ! सूचना !! सूचना !!!’ लेखेर यस्ता सूचनाहरू टाँस्नु पर्छ, ‘राहत सामग्री आउन सक्छ । पानी पिएर बाँच्दै गर्नुहोला ।’ ‘वर्षात् र पहिरोबाट आफ्नो ज्यान आफैँ सुरक्षित गर्नुहोला ।’ इत्यादि ।
त्यो सब–वेलाई नचिप्लिने बनाउनुभन्दा सूचना टाँसेर बटुवाहरूलाई सतर्क गराउनु धेरै ठूलो कुरा हो । त्यसैले सरकारले त्यो सूचनाबाट प्रेरणा लिएर उल्लिखित प्रकारका अरू सूचनाहरू पनि देशैभरि टाँसोस् । हामी आफैँ सावधानी अपनाउँछौँ । हामी यो भएन र त्यो भएन भनेर सरकारको निद्रा बिथोल्न आउँदैनौँ । धन्यवाद !
नेपाल, २०७२
Subscribe
Login
0 Comments
Oldest







































