महेशराज खरेलपहिरो पर्खेर
तिमीले ढुङ्गा खसालेको समय
निःसन्देह म नै थिएँ
पहाडको तल उभिएको मान्छे ।
पहिराको मुनि
फूल बर्सँदैन भन्ने जानेरै पनि
यसपटक म भागिनँ ।
मैले अलिकति दर्फरिनु जरुरी थियो
मलाई कतै चोट लाग्नु
यौटा आहत आवाजले मबाट भाग्नु जरुरी थियो ।
आफ्नै रगत नदेखेको मैले
आफ्नू रङ चिन्नु पनि थियो ।
आँसुले धोइएर, यहाँबाट जाँदा
झरीपछिको सुकिलो आकाश
आँखामा राखेर हिँड्नु पनि थियो ।
मलाई ढुङ्गा नलागेको भए
तिमीले फेरि फेरि ढुङ्गाहरू खसालिरहने थियौ ।
चर्किएको तिम्रो अहम्(को पर्वत
भत्किरहने थियो ममाथि ।
म भागिरहने थिएँ, र तिमी
क्रोधका चोटिला ढुङ्गाहरू बोकेर नजिकिइरहने थियौ ।
रुखको हरेक छहारीमा,
हावाको हरेक झोँक्कामा,
फूलको हरेक थुँगामा,
म सन्त्रासका मौन आवाजहरू सुनिरहन्थेँ
आँखामा म घाइते बिम्बहरूको शृङ्खला बुनिरहन्थेँ ।
म विरुद्धको एकलव्य तिमी निष्णात हुने थियौ
तिम्रा समग्र तीर मेरै लागि बनिरहन्थे…।
एकान्तको हावामा काँपिरहने थियो मेरो मन,
ढुङ्गा हेर्दाहेर्दै बगिसक्ने थिए मेरा आँखा
सम्हाल्दा सम्हाल्दै
भत्किजाने थियो जिन्दगी ।
देखिएको हरेक गाउँदेखि,
भेटिएको हरेक मान्छेदेखि,
पानीको हरेक लहरदेखि,
कसरी लुकाएर हिँड्नु पर्थ्योहोला आफूलाई ।
हरेक प्यालाबाट म कसरी भयको जहर पिइरहन्थेँ,
ताराहरूमा म कसरी आफ्नै चोटहरू गनिरहन्थेँ,
मलाई ढुङ्गा नलागेको भए…।
तिम्रो हातबाट
फूल बर्सँदैन भन्ने जानेरै पनि
यसपटक
निःसन्देह म नै थिएँ
पहाडको तल उभिएको मान्छे ।
विराटनगर
‘ल्याम्प पोष्टबाट खसेको जून’ कविता सङ्ग्र्रहबाट
Subscribe
Login
0 Comments
Oldest






































