खित्कै खित्का– ११
ओलीवाण र प्रचण्डवाण
नेपालमा सबैभन्दा तीखो कि ओलीवाण हो, कि प्रचण्डवाण हो । ओलीवाण र प्रचण्डवाण मिलेर बसेका थिए । मिलेर बसेपछि एकअर्कालाई वाण हान्ने कुरा भएन अब दुई वाण वारिपारि भए । वारिबाट केपीले ओलीवाण हान्नेछन्, पारिबाट पुष्पकमलले प्रचण्डवाण हान्नेछन् । ओलीवाण र प्रचण्डवाण बीचमा टक्कर हुनेछ, अनि मजा आउनेछ ।
ओलीसँग उखान वाण पनि छ, उता, प्रचण्डसँग आँसु वाण छ । ठ्याक्क ठाउँ परिस्थिति हेरेर प्रचण्ड रोइदिन्छन् । ओलीसँग तुक्का र उपमा वाणसमेत छ । प्रचण्डसँग चाहिँ माफीवाण छ । अलिकति अप्ठेरो पर्नासाथ ‘क्षमायाचना’ गरिहाल्छन् । खल्तीमा एउटा रेडिमेड माफी वक्तव्य बोकेर हिँडेका हुन्छन् प्रचण्डले । यी दुईमध्ये कोसँग धेरै वाण होला ? त्यो त हानाहान सुरु भएपछि मात्र थाहा हुन्छ ।
जे होस्, अब राष्ट्रिय राजनीतिको खेल झन् मजेदार हुने भो ।
माननीय किसान
आकासमा कर्याङकुरुङ करायो भने काँक्राफर्सी रोप्ने बेला भयो भनी बुझ्नुपर्छ । संसदमा सरकार फेर्ने चलखेल भयो भने चाहिँ बाली भित्राउने बेला आयो भनी बुझ्नुपर्छ । आमचुनाव भन्या खेती लगाउने याम हो । चुनावमा लगाएको खेती सबैको सप्रदैन, जसले चुनाव जित्छ उसको सप्रन्छ । सरकार परिवर्तनको बेला बाली भित्राउने हो । जब सरकार फेर्ने कसरत हुन्छ, तब एकखाले माननीयहरूले बाली भित्रयाउँछन् ।
आम्मै, कम गाह्रो छ बाली लगाउन ? ठूलो खर्च हुन्छ । प्रत्यक्ष चुनाव लड्नेको जति खर्च हुन्छ, समानुपातिक चुनाव लड्नेको त्यो भन्दा धेरै खर्च हुन्छ भनी विभिन्न शास्त्रमा उल्लेख छ । कतिपयले समानुपातिक माननीय बन्न करोडौँ रुपियाँ खर्च गरेको पनि अखबार शास्त्रहरूमा उल्लेख भएकै कुरा हो । यति ठूलो लगानी कसरी उठाउने ? सरकार परिवर्तनको बेला उठाउने सरकार परिवर्तन कहिले हुन्छ ? वर्षमा एकपटक हुन्छ । सकेदेखि दुईचार महिनामा सरकार फेर्न पाए हुन्थ्यो तर जो सरकारमा बस् छ उसले छाड्नै मान्दैन । सरकार फेर्ने खेती अचम्मको हुन्छ, जति सानो खेत त्यति धेरै लाभ रे ! यो कुरा अनौठो होइन त ?
सानो खेतबाट धेरै लाभ कसरी हुन्छ ? सरकार फेर्दा कसरी बाली भित्रन्छ ? यो कुरा सर्वसाधारण किसानले बुझ्न सक्दैनन्, माननीय किसान नै हुनुपर्छ रे ।
अम्रिका अनुभूति
प्रधानमन्त्री केपी ओलीले भाषणमा जेजे गफ हाने, काममा पनि त्यस्तै भइदिएको भए नेपालले डीभी चिट्ठा खोल्थ्यो । अमेरिकीहरूले चिट्ठा भर्थे अनि पर्यो भने रमाउँदै नेपाल आएर बस्थे । ओली मात्र किन ? अरू नेताहरू पनि ओलीभन्दा कम छैनन्, ओलीले गफ दिन जान्या छन्, अरूले खासै जान्दैनन् । सबै नेताले डीभी चिट्ठासरह गफ दिएकै हुन् क्यार !
डीभी परेन ? कहिले अम्रिका जान पाउनुभा छैन ? छैन भने पार्टीहरूको चुनाव घोषणापत्र पढ्नुस्, घोषणापत्रमा जस्तो नेपाल परिकल्पना गरिएको छ, त्यस्तै छ अम्रिका । यस्तो काल्पनिक अम्रिकाले चित्त बुझेन ? बुझेन भने केही दिन पर्खनुस् । ओली सरकारले अथवा नयाँ सरकारले नीति तथा कार्यक्रम ल्याउँछ । त्यो कार्यक्रमको भाषण आँखा चिम्म गरेर सुन्नुस्, नेपाल बसीबसी अम्रिकाको अनुभूति गर्नुस् ।
अझै चित्त बुझेन ? प्रत्यक्ष अम्रिका महसुस गर्न मन लाग्यो ? ओली गिरेर प्रचण्ड या अरू कोही प्रधानमन्त्री बनेको अवस्थामा प्रत्यक्ष अम्रिका महसुस गर्न पाइनेछ । प्रधानमन्त्री बन्नासाथ उनले सरकारको प्राथमिकता र योजनाबारे बताउने छन् । मजासँग सुन्नुस् र अम्रिका अनुभूति गर्नुस् ।
यति गर्दा पनि चित्त बुझेन भने केही गर्न सकिन्न, अर्काे वर्षको डीभी कुर्नुस् । अर्काे पनि उपाय छ, नयाँ सरकार बनेपछि कुनै राजनीतिक नियुक्ति हात पार्नुस्, डीभी पर्नैपर्दैन, तपाईंका लागि नेपाल नै अम्रिकासरह हुनेछ ।
एक कम्युनिस्टको जीवनी
ढुंगा हान्दै, नारा लगाउँदै, मुठी बटार्दै एकजना युवा घनघोर क्रान्तिकारी बन्छ । कम्युनिस्ट पार्टीमा पस्छ, अनि थाहा पाउँछ, कम्युनिस्ट पार्टी गुटैगुटको घर हो । उसले पनि एउटा गुट समात्छ । गुटमा दत्तचित्त भएर लाग्छ, गुटका लागि कुद्दा अनेकौँ जुत्ता फटाउँछ । गुट बलियो हुन्छ, पार्टी फुट्छ । फुटेको पार्टीभित्र पनि गुटै गुट हुन्छ । पहिले फुटेको पार्टीसँग एकताको प्रयास हुन्छ । ऊ पनि एकताको प्रयासमा लाग्छ । एकता गर्ने क्रममा भएको पार्टी पनि फुट्छ र आधा पार्टीले पुरानो पार्टीसँग एकता गर्छ । एकतापछि नयाँ उत्साहसाथ पार्टी अगाडि बढ्छ, पार्टीभित्रका गुट पनि नयाँ रणनीतिसाथ अगाडि बढ्छन् ।
फेरि पार्टी फुट्छ, नयाँ पार्टी जन्मन्छ, नयाँ पार्टी पनि फुट्छ अनि फेरि एकता हुन्छ । कहिले कुन चिरासँग एकता, कहिले कुन चिरासँग एकता गर्दै क्रान्ति अगाडि बढ्छ । यसो गर्दागर्दै ऊ वृद्ध हुन्छ । वृद्धावस्थामा झुपडीको आँगनमा नाति नातिनालाई वरिपरि राखेर भन्छ, ‘जीवनभरि क्रान्तिका लागि कम्युनिस्ट पार्टीमा लागेको थिएँ । अहिले फर्केर हेर्दा पार्टी होइन गुटमा पो लागेको रै’छु ।’ एकजना नातिले सोध्छ, ‘तपाईंले क्रान्ति चाहिँ के गर्नुभयो ?’ वृद्धले अलि परको बिल्डिङ देखाउँदै भन्छ, ‘मैले नगरे पनि साथीहरूले त्यस्तो क्रान्ति गरेका छन् ।’
नेपाल, वैशाख ३०, २०७३