प्रेम ओली ढकलपुरेहेर त हाम्रो बुद्घि
हामीले खुरुखुरु पढ्यौँ
सधैं अगाडि बढ्यौँ
नेता बिचरा पढाई छोडि छोडि
कहिले ढुङ्गा हान्नेमा लागे
कहिले टायर तान्नेमा लागे
कहिले आन्दोलनमा हिँडे
कहिले पुलिससँग भिडे
आज देशको ढुकुटी सकेर
दुई चार पैसो कमाए त के भो
ठेकेदारी दिँदा होस् कि
चन्दन ब्यापारीसँग लिँदा होस्
दुईचार करोड समाए त के भो त
हेर त हाम्रो बुद्दि !
कस्तो उल्टो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा त नेताज्यूको बुद्दि फेरिएछ ।
हामीले समयमै विवाह गरिम
उनीहरू जेलतिर गए
हामीले समयमै सन्तान उत्पादन गरिम
उनीहरू ढिलो बाआमा भए
आज कसैले सरकारी ढुकुटीले पढाए
कसैले सहिदको छात्राबृत्तिमा पठाए के भो त
हेर त हाम्रो सुद्धी !
खालि उल्टो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा त राम्रो सोच नेताज्यूको पो फेरिएछ ।
हामीले दुखले दुइचार पैसो कमायौँ
उनीहरूले सजिलै करोडौँ कमाए
हामीले कसैलाई बाँडेनौ
उनीहरूले पार्टीलाई समेत थमाए
आँटिला र गाठिलाहरू प्रत्यक्ष लडे
छेरुवा र हरूवाहरू समानुपातिकमा परे
जे गरे बिचरा राम्रै गरे
हेर त हाम्रो अक्कल
कसैलाई तस्करी भनेका छौँ
कसैलाई घुसखोरी भनेका छौं
कस्तो उल्टो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा राम्रो बिचार त
नेताज्यूमा पो फेरिएछ ।
टनकपुर बेचे पनि, कालापानी बेचे पनि
धोबीखोला बचाका छन् टुकुचा बचका छन्
भूकम्प पीडितको नामको
जस्ता पाता पनि यिनैले पचाका छन्
देशै बेची खाएछन् भने पनि के भो त
हेर त हाम्रो खोपडी
कसैलाई जनताघाती भनेका छौँ
कसैलाई राष्ट्रघाती भनेका छौँ
कस्तो कस्तो नजरले हेरिएछ
हाम्रो भन्दा तगडा बिचार त
नेताज्यूमा पो फेरिएछ ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































