साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे विजुली मैयाँ….

Nepal Telecom ad

हे बिजुली मैयाँ । हे विद्युत शक्ति । हे म्याडम इलेक्ट्रिसिटी पहिले हजुर मेरो नमस्कार लिनोस् । आज अन्धकारमा डुबेको हजुरको यो प्रशंसक हजुरको शरणमा आएको छु । बुद्धिहीन छु, लण्ठ छु, बाकपटुता पनि त्यस्तो खास ममा छैन । लाटो बुद्धिले म जे जे तेते पेपे भन्दछु, त्यसैलाई हजुरले हजुरको स्तुति सम्झनु भई प्रसन्न भइदिनुहो्स र छमछम गर्दै आउनुभई मेरो अन्धकारपूर्ण घर, चोटा, कोठा आँगन सबै झलमल्ल तुल्याइदिनोस् । जलश्रोतको धनी नेपाल अधिराज्यकी हे महिमामयी विद्युत शक्ति । हजुरको मायाँ सेवा महिमाको वर्णन गर्न विद्युतका बढेबढे अभियन्ताहरूलाई त आच्छुआच्छु पर्दछ भने म लण्ठ त के हुँ र । त्यसैले हजुरका सम्बन्धमा जे जति जान्दछु त्यति नै म कनीकुथी भन्छु । मेरो यसै कनाइलाई नै हजुरले हजुरको प्रशंसाको वृहत् स्तोत्र सम्झिदिनुभई प्रशन्न भइदिनोस् र मेरो अन्धकारपूर्ण घरलाई छमछम गर्दै आएर झलमmलाकार तुल्याई दिनुहोस् ।
हे बिजुली मैयाँ, हे विद्युत शक्ति, हे म्याडम इलेक्ट्रिसिटी । को हो यो राँडीको छोरो “लोडसेडिङ” नामको साइँदुवा ? हजुर किन सारा देशवासीलाई अन्धकारमा डुबाएर त्यसँग यसरी रिझिनु भयो ? घरबाट नित्य घरिघरि गायब भई सारालाई अन्धकारमा राखेर त्यस साइँदुबासँग केली क्रीडाका लागि अलप हुने हजुरको बानीले गर्दा सारा घरमा फ्रिज चल्न छोडे, रेडियो र टेलिभिजन समेतले पनि मुख मोडे । कुकिङ्ग रेन्ज हिटर, रारा सटक सीताराम ! र बत्ती नै पनि सब हाराम ! भए ’ लोडसेडिङसँगको हजुरको अनैतिक सम्बन्धले गर्दा देशभरका कलकारखानामा लाटोकोसेरा बास्न थाल्यो र गाडिएको स्वेच्छाचारी पञ्चायती व्यवस्थाको लाश समेत पनि काखी बजाईबजाई प्रसन्न भई चिहानमै हाँस्न थाल्यो ।
यस देशमा हजुरको जन्म चन्द्र शम्शेरको पालामा राणाकालमा भएथ्यो र प्रवस्ति पञ्चायतकालमा । त्यसैले मलाई लाग्दछ हजुरको अन्तर मनमा कताकता पारिवारिक राणा शासन र स्वेच्छाचारी पञ्चायती शासनप्रति माया छ, मोह छ र प्रजातन्त्रप्रति द्वेष छ, घृणा छ । होइन भने साइँदुवा लोडसेडिङसँग एक दिन बिराई प्रेमालाप गर्न जाने तपाईं नेपाली काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले काठमाडौं क्षेत्र नं. १ बाट चुनाव लड्ने निर्णय गर्नासाथ बिहान बेलुका दिउँसो गरी दिनको तीनतीन पटक किन गायब हुनुपर्थ्यो ? तपाईं यो कार्य सारा मतदातालाई अन्धकारमा डुबाएर प्रजतन्त्रप्रति वितृष्णा पैदा गराउनु होइन र ?
मानो प्रभो ! मानो हजुर आफ्नो रतिरागजन्य पीडा बढाएर जनतालाई बढी भन्दा बढी समयसम्म अन्धकारमा डुबाएर प्रजातन्त्रप्रति नै तिनमा वितृष्णा पैदा गराई प्रजातन्त्रलाई नै यस देशमाबाट पुनः डाँडो कटाइदिन चाहनुहुन्छ । तर हे बिजुली मैयाँ ! तपार्इंको यो दूरभि सन्धि पूरा हुन गाहारै पर्ला । किनभने यस किसिमको दुरभिसन्धि तपाईंले पहिले पनि नगरेको कहाँ हो र । मलाई अझै पनि राम्रै सम्झना छ । त्यस्तै २०१०।११ सालतिरको कुरा हो । तिनताक पनि मेरो घर यसै पुतलीसडकमा थियो । तिनताक यस सडकमा तपाईं १२० भोल्टमा आउनुहुन्थ्यो । तर पनि तिनताक नै पनि तपाईले हामी यस क्षेत्रका बासिन्दालाई दुःख नै दिनुभएको थियो । तिनताकासम्म संभवतः त्यस साइँदुवा लोडसेडिङसँग तपाईंको परिचय नै भएको थिएन । त्यसैले तपाईं केली क्रीडाका लागि त्यस बज्जियासँग जाने त कुरै भएन । तर पनि बदमासी चाहिँ तपाईं कसरी गर्न थाल्नुभयो त भने १२० भोल्ट आउनु पर्नेमा जम्माजम्मी २५ भोल्ट मात्र आउन थाल्नुभयो । त्यस दिन मजाको कुरा के भयो त भने राती ८/९ बजेतिर पढ्न बसेकी मेरी छोरीले तपाईंको जुनकीरी प्रकाशमा अक्षर ठम्याउन नसकेर तपाईं आए नआएको जाँच्न टर्च बालेर चिमतिर हेरी । धेरै वर्षसम्म तपाईंको यो बदमासी चलिरहेथ्यो । अन्तमा २०१५ सालमा आएका जननिर्वाचित सरकारले पनौती र त्रिशुली योजनाको कार्यान्वयन गराएर तपाईंलाई तह लगाएथ्यो । तर के गर्ने र देशमा पुनः जननिर्वाचित सरकार आउनासाथ साइँदुवा लोडसेडिङ्गसँग आँखा झिम्क्याउँदै देशलाई नै अन्धकारमा डुबाएर फेरि बदमासी गर्न थालिहाल्नु भयो ।
त्यसैले म भन्दछु हे बिजुली मैयाँ ! हे विद्युत शक्ति । हे म्याडम इलेक्ट्रिसिटी ! यत्रो जलश्रोतको धनी देशको इज्जत तपाईं त्यो पाजी लोडसेडिङको अनुचित प्रेममा फसेर नगुमाइदिनोस् । सदा यसरी देशलाई अन्धकारमा नडुबाई दिनोस् । कुलेखानी पनि चालू गर्नोस् र देशलाई झलमल्ल तुल्याई दिनोस् । अरुण तेस्रो आउँदैछ । त्यसले त्यस साईदुवा लोडसेडिङको हत्या नै गरिदिने छ । त्यसैले बेलैमा समालिनोस् र त्यस साइँदुवालाई त्यागेर देश र देशवासीको सेवा गर्न थाल्नोस् ।

‘विमर्श’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x