त्यसैले, अस्थिरतावाद जिन्दावाद !
नआओस् भनेर प्रार्थना गर्दागर्दै वामहरूको बहुमत आयो । गठबन्धनमा लठबन्धन त पक्कै होला ।{{read_more}} कदाचित कुनै लठबन्धन भएन भनेचाहिँ पाँच वर्षलाई स्थायी सरकार बन्ने खतरा देखियो । हामी धेरैका लागि राजनीतिक स्थिरता र स्थायी सरकार भनेको खतरै हो । एउटा दलको बहुमत भएपछि के हुन्छ ? पाँच वर्षसम्म उसकै मात्र रजाइँ हुन्छ, उसकै मात्र दाइँ चल्छ । पाँच वर्षसम्म एउटै प्रधानमन्त्री, तिनै मन्त्रीहरूको अनुहार हेर्नुपर्छ । सत्ताको स्वाद तिनैले मात्र लिन पाउँछन् । त्यहाँ प्रजातन्त्र हँुदैन । प्रजातन्त्रमा त पालैपालो सबैले हसुर्न पाउनुर्पयो नि ! स्थिर सरकारमा अधिनायकवाद हुन्छ भनेर प्रधानमन्त्री शेरबहादुरज्यूले त्यत्तिकै भन्नुभा हो र !
वामहरूले चुनावअघि मुखले भनेजस्तै काम पनि गरे भने सर्वसाधारणबाहेक ठूलो वर्ग, समूह र व्यक्तिलाई धेरै नोक्सानी हुन्छ । प्रमुख प्रतिपक्षी दलको त हरिबिजोग हुन्छ भने स्वतन्त्र र साना दलले त मुख बाएको बाई पाँच वर्ष बिताउनुपर्छ । मुसाहरूले सधैँ चरिआएको ढुकुटीको प्वाल बन्द हुन्छ ।
राजनीतिक स्थिरताले हामी नेपालीलाई मात्र होइन, छिमेकीहरूलाई पनि टाउको दुखाउँछ । कतिपय छिमेकी मुलुकका सञ्चारमाध्यम र नेताहरूले चिन्ता प्रकट गर्न थालिसके । अन्तर्रा्ष्ट्रिय संघसंस्था, एनजीओ, आईएनजीओहरूलाई पनि अस्थिरतै प्यारो हुन्छ । द्वन्द्व, गरिबी, अशिक्षा, पछौटेपनका बिरुद्ध काम गर्ने संघ–संस्थाको जागिरलाई पनि स्थिरताले धक्का र्पुयाउने सम्भावना हुन्छ । गठबन्धनले कदाचित राम्रै काम र्गयो भने भ्रष्टाचारी, दुई नम्बरी, कालाबजारी, बिचौलियाहरूका लागि पनि यो हानिकारकै हुन्छ । हामी धेरै छौँ स्थायित्त्वबाट नोक्सान बेहोर्नुपर्नेहरू ।
त्यसैले हामीले हाम्रो हित रक्षाका लागि बेलैमा सोच्नुपर्छ । हामी अस्थिरताका पक्षपातीहरूले आजैदेखि आफ्नो काम थालिहाल्नुपर्छ । यसका लागि हामीमध्ये विशेष पत्रकारिता गर्ने साथीहरूको विशेष सक्रियता आवश्यक हुन्छ । हामी सक्रिय भइसकेका पनि छौँ । हल्लाको खेती गर्न हामीलाई कसैले सक्दैन । छिनको छिनमा संसारभरि हल्लाको हावा फिँजाउन सामाजिक सञ्जालहरू छँदैछन् । गठबन्धनका गढहरूमा छिटोभन्दा छिटो धावा बोल्नुपर्छ । त्यसका लागि नेताहरूका सनसनीपूर्ण अन्तर्वार्ताहरू, भनाइहरू छाप्नुपर्छ । अद्भुत शीर्षकका समाचारहरू बनाएर प्रकाशन–प्रसारण गर्नुपर्छ । कोही केपी ओलीतिर र कोही प्रचण्डतिर लागेर दनादन प्रहारहरू सुरु गरिहाल्नुपर्छ । त्यस्ता समाचारका केही नमुना शीर्षकहरू यसप्रकार हुन सक्छन्स्
– एमालेले काखी नच्यापेको भए माओवादीले पाँच सिट पनि जित्ने थिएन– केपी ओली
– पार्टी एकतापछि ओली प्रधानमन्त्री र म अध्यक्ष हुने सम्झौता भएको छ– प्रचण्ड
– ओली र प्रचण्डबीच कुनै सम्झौता भएको भए पनि हामी मान्दैनौँ – माधव नेपाल
– वाम एकतापछि ओली प्रधानमन्त्री हुने, अध्यक्ष पनि नछाड्ने
– ५०–५० को भागबन्डा नभई पार्टी एकता नहुने ।
यस्ता केही भँडुवा समाचार छापेपछि अवश्य लडाइँ सुरु हुनेछ । खास गरी युवा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा आगो ओकल्न थाल्नेछन् । पाखुरा सुर्कासुर्की गर्न थाल्नेछन् । युवा रगतमा सत्यतथ्य खोज्ने धैर्य हुँदैन । त्यसको असर नेताहरूमा नपर्ने कुरै छैन । त्यसैले हामी अस्थिरतावादीहरू एकजुट होऔँ र आजैदेखि गठबन्धनका गाँठाहरूमा प्रहार गर्न थालौँ । सकेसम्म तुरुन्तै, नभए पनि केही समयमा गाँठाहरू अवश्य चुँडिनेछन् । हाम्रा राम्रा दिनहरू कायमै रहनेछन् । अस्थिरतावाद जिन्दावाद !
नेपाल, पुस ४, २०७४