केशवराज अर्याल ‘निश्चल’कोभन्दा को कम ?
एउटाले घोडा चढ्यो
घोडा चढेको देखेर अर्कोले धुरी चढ्यो ।
धुरी चढ्न नसक्नेहरू
खाँबो चढ्छन्, रुख चढ्छन्
रुख चढ्न नजान्नेहरू
अर्काको बुई चढ्छन् ।
कोही करङ चढ्छन्
कोही भरयाङ चढ्छन्
चढ्नकै लागी, यहाँ को भन्दा को कम ?
सक्नेले यहाँ भात खायो,
नसक्नेले अभावै अभावको लात खायो ।
आखिर खान त खायो
कसैले बाली खायो,
कसैले गाली खायो
हुनेले मीठो खान्छन्
नहुनेले पिठै खान्छन्
मिठो खानेको ठुलो धाक,
पीठो खानेको पनि फुल्यो नाक ।
यहाँ आलु खाएर पेडाको धाक
लगाउने पनि त कम छैनन्
यहाँ को भन्दा को कम ?
कोही जुस खाएर बलियो भयो
कोही घुस खाएर बलियो भयो ।
बलियो भएर कसैले गाली गर्दै
आलीबाट नालीमा फ्याँकी दियो ।
कसैलाई आएको बजेट क्वाप्प खुवाइयो,
हामीजस्ता पाङ्दुरे हल्लनटट्टुलाई लोप्पा खुवाइयो
लोप्पा खुवाउनु सट्टा त बरु
पापा ख्वाउनु नि
किन हामीलाई रुवाउनु नि ।
पाए रगत प्युँछन्
नपाए रक्सी पिउँछन्
रक्सी पिएको रात
कुकुरले आफ्नै मुखमा तुक्र्याएको पत्ता पाउँदैनन्,
यहाँ को भन्दा को कम ?
महँगीले तपाईलाई लुट्यो
तपाईं बैङ्क लुट्नुस्
नसके स्वास्नी कुट्नुस्,
त्यो पनि नसके स्वास्नीले कुट्छिन् यस्ता हुत्तिहारालाई ।
यहाँ,प्रेमिकालाई तारा झार्छन्
प्रेमिकाले बङ्गारा झार्छिन् ।
भट्टीमा जुन ल्याउनेहरू
घरमा नुन ल्याउन सक्दैनन्
पार्टीको धक्कु लाउनेहरू
पाटीमा सुतेको थाहा छ
बच्चाको फिस तिर्न नसक्नेहरू
बीसतीस तरुनीलाई किस गर्न कुदेको थाहा छ ।
त्यसैले भनेको होला,
जँड्याहाको शान हुँदैन ।
सन्यासीको ठेगान हुँदैन ।
आखिर जीवन बिताउँछन्,
बाटामा सुते पनि,
खाटामा सुते पनि, घाटामा सुते पनि
कुम्भकर्णको दुनियाँमा यहाँ
को भन्दा को कम ?
धन हुनेले फिलिम बनाएका छन्,
नहुनेले पनि चिल जीम बनाएका छन्
बनाउन के सकिन्न ?
मैले नेता चिनेको छु
तर नेताले मलाई चिन्दैन ।
नेताको के कुरा हजुर
हजारको नोट सुँघाउने हो भने
नोटको वास्नाले यहाँ बाउले छोरा चिन्दैन
छोराले बाबु चिन्दैन ।
महँगीमा अभाव गराएर
जनताको टाउकोमा पहाड खसाल्नेहरू सुन
म पनि मुखले सिङ्गापुर बनाइदिन्छु
नाकले सिँगानपुर बनाइदिन्छु ।
हिजैमात्र संविधान बनाएको थिएँ मैले,
सपनामा…. ।
को भन्दा को कम ?
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest







































