नयाँ नेपालको निर्माणसूत्र
सोझा पशु बली गर्ने ईश्वरमा गर भाकल,
सोझा रूख सबै फाँड, बङ्ग्याइदेऊ जङ्गल,
मलिला फाँट यी पूरै सिमेन्ट–ओडारले भर,
बाटाघाटा बिगारेर हिलोआली त्यहाँ गर ।।
१
फोहर्ले देश यो भर्नू, दुर्गन्धै गन्ध पूर्ण होस्,
दुर्दुर गर्ने मुलुक भन्दै दुनियाले पनि चिनोस्,
नगर गाउँ दिसामुक्त भएको घोषणा गर,
पोखरी र नदीनाला गुहूमूत ढलले भर ।।
२
ऊर्जा बिजुली चाहिन्न, हाम्रो जाति निशाचर,
कुम्ल्याऊ कमिसन सक्दो इमानको भाउ हुन्छ र ?
उपभोक्ता रहू केबल, उत्पादन देशमा नहोस्
विदेशीहरूको मात्रै बेपारको फलीफाप होस् ।।
३
छल, झूट र नक्कलको पाठशाला खुला गर,
विनाधूर्त्याइँ सुध्रेको कसैको इतिहास छ र ?
युवालाई विदेश खेद, बृद्धवर्चस्व राजनीति,
ज्ञानी र बुद्धिमान् देशमा हुँदै नहुन् सितीमिती ।।
४
छिमेकी साध्नु क्यै पर्दा, घरसल्लाह निषेध छ,
दक्षिण एसिया बीचको नेपाल देशै विचित्र छ,
भनी चिनून साराले, त्यै होला पहिचान ठूलो,
नयाँ चिनारीले पारौँ पूर्व सान धूलोमूलो ।।
५
अङ्ग्रे्जी मात्र हो सभ्य शिष्ट मान्छे बनाउने,
नेपाली पनि के बोल्नु ? बोले आफै गनाउने,
छोराछोरी सबैलाई जादू अङ्ग्रेजी लाइदेऊ,
नेपाली नामका भाषा सारा डाँडा कटाइदेऊ ।।
६
‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर’,
नठोकी ढाडमा डन्ठा सोझो कहाँ बनिन्छ र ?
ठोकेरै जनतामाथि नेता हो गर शासन,
इतिहास त्यसैबाट लेखिने हो तिमीकन ।।
मनमैजू, काठमाडौं
२०७० फागुन १६ गते