टिपनटापनकार्टुनमा क्यारिकेचर र सेन्स अफ ह्युमर…
रविन सायमि, कार्टुनिस्ट
‘व्यङ्ग्यचित्र (कार्टुन) छापिने पत्रपत्रिका गहना लगाएको दुलहीजस्तै देखिन्छ । त्यसैले कार्टुनलाई पत्रपत्रिकाको गहनासँग तुलना गरिएको हो । कार्टुन क्यारिकेचर र सेन्स अफ ह्युमरको एउटा मीठो संगम हो । नत्र कार्टुन कार्टुन बन्नै सक्दैन ।’ कार्टुनिस्ट रविन सायमि भन्छन्, ‘दैनिक पत्रिकामा कार्टुन भनेर छापिने सबैलाई कार्टुन भन्न मिल्दैन । थोरै कार्टुन हुन्, धेरै घटना चित्र ।’
समाचार र कार्टुनबारे सायमिको आफ्नै धारणा छ, ‘समाचारले कुनै प्रसङ्गको यथार्थ चित्रण गर्छ भने कार्टुनले त्यसको अन्तर्वस्तुलाई प्रकाश पारिदिन्छ । पत्रिकामा छापिने कार्टुन देख्नेबित्तिकै पाठक सो प्रसङ्गको सतहीमात्र होइन, अन्तरनिहित यथार्थ बोध गर्न पुग्छन् ।’
व्यङ्ग्य गर्ने र चित्र लेख्ने दुवै कला हुनुपर्छ– कार्टुनिस्टसँग । कमैमा यी दुवै कला निहित हुन्छ । कार्टुनिस्ट साय्मि भन्छन्, ‘कार्टुनिस्ट संसारको दुर्लभ प्राणीमा पर्छन् ।’ तिनै दुर्लभमध्येका एक हुन्– कार्टुनिस्ट रविन सायमि पनि । सायमि युवापुस्ताका अब्बल कार्टुनिस्टका रूपमा परिचित छन् । उनले ०४६ पछिको राजनीतिक घटनाक्रमलाई कार्टुनमार्फत व्यङ्ग्य गर्दै आएका छन् । त्योभन्दा अघि उनले स्केच गर्थे । आठ कक्षा पढ्दाताका नै ‘सहलह’ नामक नेपाल भाषा डाइजेस्टमा उनको कमिक स्ट्रिप छापिएको थियो ।
विषयगत घटनालाई कलात्मक ढङ्गले व्यङ्ग्य गर्न सिपालु छन्– रविन । समाजका विविध विकृति र विसङ्गति कार्टुनमार्फत अभिव्यक्त गर्नु उनी आफ्नो कर्तव्य ठान्छन् । कर्तव्य निर्वाह गर्दा उनले बनाएका कार्टुनले कतिपय न्यायालयको ढोकासम्म पुग्न बाध्य हुन्छज् । तर, उनी कत्ति पनि विचलित छैनन् । सिरहाका एक न्यायाधीश काठ तस्करीमा संलग्न रहेको समाचार प्रकाशित भयो । सोही विषयलाई ४ मङ्सिर ०४८ को दृष्टि साप्ताहिकमा उनले बनाएको ‘लकडी चोर न्यायाधीश’ शीर्षाकृत कार्टुन छापिँदा पत्रिकाका तात्कालिक प्रधानसम्पादक कमल कोइराला, सम्पादक नारायण ढकाल र प्रकाशक शम्भु श्रेष्ठविरुद्ध मुद्दा हालियो । साँचो कुरा कार्टुनमार्फत व्यङ्ग्य गरिँदा मुद्दा हालिएको विषयलाई झनै व्यङ्ग्य गर्दै उनले सोही पत्रिकामा अर्को कार्टुन बनाए– ‘श्रीमान् क्षमा पाऊँ, साँचो कुरा लेख्ने छैन ।’ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि व्यङ्ग्य गर्दै बनाएको कार्टुन हिमाल पाक्षिकमा छापिँदा पनि उनीविरुद्ध मुद्दा हालिएको थियो ।
भारतका प्रसिद्ध नेता जवाहरलाल नेहरू कार्टुनिस्टलाई आफ्ना सच्चा समालोचक ठान्थे । नेहरूले आफूले गरेका कामबारे कुनै योजनाकारसँग भन्दा पनि त्यसवेलाका चर्चित कार्टुनिस्ट शंकरसँग राय माग्थे । नेपालका राजनीतिज्ञमा नेहरूको जस्तो चेतना नभएको रविन साय्मिको दाबी छ । सायमि भन्छन्, ‘हाम्रो देशका राजनीतिज्ञमा चेतनाको त्यो स्तर भइदिएको भए मुलुक यो अवस्थामा हुने थिएन ।’
एकताका समीक्षा साप्ताहिक दुई–दुईपटक प्रतिबन्धित भएको थियो । प्रतिबन्धित हुनुको एउटै कारण थियो– कार्टुन । ०३५ मा सोही पत्रिकाले कार्टुनमार्फत तात्कालिक प्रधानमन्त्री कीर्तिनिधि विष्टमाथि व्यङ्ग्य गरिँदा १०–१० महिना पत्रिका बन्द गर्नुपरेको मुलुक पनि यही हो । ११ कात्तिक ०४९ को विमर्श साप्ताहिकमा ‘टनकपुर सन्धि सम्बन्धमा अदालतको धारणा’ शीर्षाकृत कार्टुन छापिँदा सम्पादक हरिहर विरहीले सात सय जरिवाना र सात दिन जेल सजाय भोग्नुपरे पनि रविन साय्मिले भने आजसम्म त्यस्तो दुःख बेहोर्नुपरेको छैन ।
कार्टुनमार्फत व्यङ्ग्य गरेकै शीर्षकमा जेलनेल भोग्नु, पत्रिकामाथि प्रतिबन्ध लगाइनु भनेको सम्बन्धित देशको प्रजातन्त्रको स्तरमा भर पर्छ । रविन भन्छन्, ‘कुनै पनि देशको प्रजातन्त्र कति उन्नत छ भनेर बुझ्न त्यो देशको कार्टुनिस्ट कति स्वतन्त्र छन् भनेर हेरे पुग्छ । त्यसकारण कार्टुन प्रजातन्त्र मापन गर्ने एउटा साधन पनि हो ।’
‘विविध विकृति र विसङ्गति कार्टुनमार्फत अभिव्यक्त गर्नु मेरो ड्युटी (कर्तव्य) हो । कर्तव्य निर्वाह गर्दा सत्तामा बस्नेकै बढी व्यङ्ग्य गरिँदोरहेछ’, रविनको स्वीकारोक्ति छ । नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि सत्तामा गिरिजाप्रसाद कोइरालाकै राइँदाइँ भयो । तसर्थ, स्वाभाविक रूपमा कोइरालाकै बढी कार्टुन बनाए उनले । उनी भन्छन्, ‘मलाई पोलिटिकल कार्टुन बनाउने श्रेय पनि गिरिजाप्रसाद कोइरालालाई नै जान्छ । ०४६ को जनआन्दोलन सफल भएपछि आन्दोलन नेतृत्वकर्ता दुई शक्ति वाममोर्चा र काङ्ग्रेस मिलेर नै देशलाई अगाडि बढाउनुपर्छ भन्ने त्यो बेला एक किसिमको आमसहमति थियो । तर, त्यो सहमति तोड्न कोइरालाको भूमिका अहं थियोे । त्यसको असर अहिले पनि देशले भोग्दै छ । माले, मण्डले, मसाले एउटै हुन् भन्दै कोइरालाले तात्कालिक सयममा गरिएकोे सहमति तोडेपछि त्यसको विरोधस्वरूप मैले एउटा कार्टुन बनाई दृष्टिमा छपाएँ । जुन पछि गएर मेरा पेसा नै बन्यो ।’
राजनीतिक कार्टुनमै केन्द्रित भएपछि राजनीतिज्ञ नै व्यङ्ग्यका निशाना बन्छन् । त्यही निशानामा परेका विभिन्न दलका नेता उनले बनाएको कार्टुनका पात्र बन्छन् । कार्टुन भनेकै व्यङ्ग्य गर्ने विधा भएकाले धेरै नेता रविनसँग नजानिँदो पारामा चिढिएका छन् ।
बहुदल स्थापनापछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समूहबीच चिसो बढ्दै जाँदा सडकमा रहेका काङ्ग्रेसका एक समूहले एमालेलाई ‘लिफ्ट प्लिज’ भन्दै गरेको कार्टुन बनाएका थिए उनले । संयोग नै मान्नुपर्छ त्यो कार्टुन छापिएपछि दुई समूहमा विभाजित काङ्ग्रेस एक भएको थियो । फुट्नै लागेको काङ्ग्रेस जुटेपछि एमाले पोलिटव्युरोको निष्कर्ष थियो– त्यही कार्टुनले गर्दा काङ्ग्रेस जुट्यो । एमालेवृत्तमा त्यही कार्टुनलाई लिएर केही नेतामा तीव्र असन्तुष्टि पैदा भयो ।
कस्तो कार्टुनलाई उत्कृष्ट मान्ने ? कसैले भन्छन्, ‘शब्दविहीन ।’ कसैको मान्यता छ, ‘सकेसम्म कम शब्द प्रयोग भएको ।’ तर, रविन यी दुवै मान्यतासँग सहमत छैनन् । उनी भन्छन्, ‘शब्दविहीन कार्टुन आफैँमा राम्रो मानिएला तर शब्द नहुँदैमा कार्टुन उत्कृष्ट बन्छ भन्ने होइन । कुनै पनि कार्टुनमा क्यारिकेचर र सेन्स अफ ह्युमर स्ट्रङ छैन भने शब्दविहीन हुँदैमा कार्टुनलाई उत्कृष्ट मान्न सकिँदैन ।’
भारतका कट्टरपन्थी हिन्दु राजनीतिक नेता बाल ठाकरे एकताका सिद्धहस्त कार्टुनिस्ट मानिन्थे । बाल ठाकरेले ६० को दशकमा बनाएका कार्टुन रविनले हेर्न भ्याए । रविनका अनुसार बाल ठाकरेले कोरेका लाइन त्यत्तिकै लोभलाग्दा थिए । राजनीतिमा लागेपछि उनले कार्टुन कोर्न छाडे । त्यतिबेला बाल ठाकरेले कोरेका लोभलाग्दा लाइन सम्झँदै रविन भन्छन्, ‘नेपालमा भने मनपरी ढङ्गले लाइन कोरेर कार्टुन बनाइने गरिन्छ ।’
प्रविधिको विकाससँगै नेपालमा रंगीन कार्टुन बनाउन थालिएको १९ वर्ष नाघिसकेको छ । श्यामश्वेत कार्टुन बनाउँदै आएका कार्टुनिस्ट रंगीन कार्टुन बनाउन हौसिएका छन् । रंगीन हुँदैमा कार्टुन उत्कृष्ट हुने त होइन तर श्यामश्वेतले देखाउन नसक्ने कतिपय कुरा रंगीन कार्टुनमार्फत देखाउन सहज हुने तर्क गर्दै रविन साय्मिले भने, ‘अन्तर्राष्ट्रिय स्तरको कार्टुनमा जस्तै हामीले पनि अब राम्रो क्यारिकेचरयुक्त कार्टुन बनाउने बेला भइसक्यो । राम्रो क्यारिकेचरले कार्टुनलाई उत्कृष्ट बनाउँछ । सकेसम्म शब्दविहीन कार्टुन बनाउन प्रयास पनि गरिरहेका छौँ । तर, गाह्रो छ । शब्दबाट जस्तो रेखाद्वारा मात्र अभिव्यक्त गर्न त गाह्रै हुन्छ नि ।’
विषयगत हिसाबले नेपालमा दुई किसिमका कार्टुनको अभ्यास भएको पाइन्छ । ती हुन्– राजनीतिक र सामाजिक कार्टुन । रविन भने धेरैजसो राजनीतिक कार्टुन बनाउनमै रमाइरहेका छन् । मदन भण्डारी र जीवराज आश्रितको रहस्यम ढङ्गले हत्या भएपछि भड्केको आन्दोलनमा ७० को ज्यान गयोे । तसर्थ, गिरिजाप्रसाद कोइरालाको शासनशैली रविनलाई मन परिरहेको थिएन । त्यही अवस्थामा कोइरालाको शृंखलाबद्ध कार्टुन बनाए उनले । कोइरालाको अनुहार बिस्तारै मरिचमान बनेको कार्टुन दृष्टिमा छापियो । प्रविधिगत हिसाबले अहिले त्यति गाह्रो होइन तर त्यसबेला हातले बनाउनुपथ्र्यो, जुन धेरै गाह्रो काम थियो । त्यतिबेला त्यो कार्टुन १५–२० हजारमा खरिद गर्छु भन्नेहरू धेरै निक्लिए । तर पनि बिक्री गरिएन ।
हामीले नै कार्टुनलाई व्यावसायिक रूप दिने हो भन्दै यो विधामा लागेका रविनले त्यतिबेला देखेको सपना अहिले विपनामा परिणत भएको छ । कार्टुन विधालाई व्यावसायिक बनाउँछु भनेर लागिपर्दा सुरुताका उनलाई बुवाले झपारेका थिए । त्यही ठिटो दक्षिण एसियाका कार्टुनिस्टको प्रतिनिधित्व गर्दै डेनमार्कसम्म पुगे । मोहम्मद पैगम्बरको कार्टुन बनाउँदा विश्वभरि विवाद बढेपछि त्यसको निप्टारा लगाउन उनलाई डेनमार्क बोलाइएको थियो । रविन भन्छन्, ‘कसैको धार्मिक, जातीय र भाषिक आस्थामाथि बनाइएको ‘कार्टुन’ले त्यस समुदायलाई गहिरो चोट पु¥याउन सक्छ । डेनमार्कमा मोहम्मदमाथि बनाइएको कार्टुन काण्ड त्यसको उदाहरण हो । सो काण्ड कुनै पनि रूपमा सही त थिएन तर ठूलै क्षति बेहोरेर भए पनि उक्त काण्डले कार्टुनको शक्ति भने पुष्टि गरिदिएको छ ।’
– दीपेन्द्र राई
‘नेपाली खबर डटकम’ बाट
Subscribe
Login
0 Comments
Oldest







































