मिलन तिमल्सिनाफर्सी र कुर्सी
मिलन तिमल्सिना
भकारोको डिल वरपरि लगाएको साग कुखुरा डाम्नेले केही बाँकी राखेन भनेर फनफनिंदै आमा चोटातिर लाग्नुभयो । बार्दलीमा झुण्ड्याएको ठूलो फर्सी सकीनसकी बोकेर ल्याउनुभयो र आँगनमा बजार्नुभयो । फर्सी चर्किएपछि चुलेसीमा राखेर ७/८ चिरा पार्नुभयो र घरमा चाहिने भित्र लगेर अरु वल्लोपल्लो घरमा लगेर दिन हामीलाई अह्राउनुभयो ।
तरकारीको खाँचो पर्दा आमाले दिएजस्तै वल्लापल्ला घरकाले पनि पछि यसैगरी फर्सी लगायतका अरु तरकारी हाम्रो घरमा ल्याइदिए । हाम्रा गाउँतिर हुने ऐंचोपैंचो र भागबण्डा यता त झन् कति हुने कति । तर गाउँघरमा हुने फर्सीको अैंचोपैंचो र यता हुने कुर्सीको अैंचोपैंचोमा केही मिल्दाजुल्दा, धेरैमा चाहिं आकाश पातालकै फरक ।
नाथे फर्सी मुसाले पनि भ्याईदिन सक्छ । पानीले पनि कुहाईदिन सक्छ । त्यसमाथि आज मर्यो, भोलि दुई दिन । आफूले मात्रै खाएर के गर्ने, अरुलाई परेको बेला आफूले सहयोग गरे आफूलाई परेको बेला पनि त अरुले हेर्ने रैछन् नि । त्यसैले फर्सीको फाँडफाँडमा कहिंकतै स्वार्थ छैन । न भेदभाव र हानथाप । तर कुर्सी न पानीले बिगार्न सक्ने, न बानीले । सधैं एकनासको आकर्षण । स्वार्थ र हानथाप नगर्ने हो भने कुर्सी मूला आकाशको फल, आँखातरी मर मात्रै ।
तरकारी फर्सी र सरकारी कुर्सीमा केही कुरा मिल्दाजुल्दा पनि छन् । फर्सीजस्तै कुर्सी पनि मजाले चिरफार गर्न मिल्ने । हेर्नुस् त भागबण्डा मिलाउन जलस्रोत मन्त्रालयको कुर्सी चिरा पारेर ऊर्जामा लगियो । उपप्रधानमन्त्रीको कुर्सी फोरेर परराष्ट्र र भौतिक योजनालाई भाग लगाईयो । त्यसमाथि कहिले उसलाई, कहिले यसलाई गरेर पार्टीपार्टीमा र पार्टी भित्रकालाई कुर्सी सारेर र फारेर भाग पुर्याउन कसले कति मरिहत्ते गरे भन्ने कुराको लेखाजोखा गरेर के साध्ये !
तैपनि फर्सी र कुर्सी चिरफार तथा बाँडफाँडमा आकाश पातालको फरक । फर्सी चिरफार गर्ने पनि एउटा सिजन हुन्छ । तर कुर्सी चिरफारको प्रयास बाहै्र महिना बाह्रै काल भैरहने । फर्सी बाँडफाँडमा न त वैरभाव हुन्छ, न खिचातानी । एउटा घरकाले सरक्क भाग लगाईदिन्छ, अर्कोमा लगिदिन्छ । किन मलाई थोरै, किन उसलाई धेरै भनेर मन पनि दुखाउँदैन । तर कुर्सीको कुरा बेग्लै । चित्त बुझाउनको लागि हुने नहुने, मिल्ने नमिल्ने जे पनि गर्नुपर्ने । बस्नै नमिल्ने गरी कुर्सीलाई चिरा पनि पार्न मिल्ने, कुर्सी छुने गरी न्वारनदेखिको बल लगाएर तन्किँदा मूल घर पनि छोडेर हिंड्न रहर लाग्ने । कुर्सीकै लागि मधेसको फोरम कति पटक फोरिई नै सक्यो ।
बिहान भातसँग फर्सीको तरकारी खाईयो भने बेलुका अर्कै तरकारी चाख्न मन गर्छ जिब्रोले । तर कुर्सीको जात त के भा हो कुन्नी, जति बसेपनि खाएपनि छोड्नै मन नलाग्ने । मिलेदेखि आफूलाई कुर्सीमै शरीर फिट गरेर उँघिरहन मन लाग्ने । छेऊछाऊमा पालो पर्खेकाहरू चाहिं बिरोलोले दूध ढुकेको झैंं दाऊ हेरिरहने । बस्दा बस्दै कुनचाहिंले उछिट्याउँछ भनेर पत्तो पनि नपाईने । बस्न नपाउँदै अर्कोले झम्टने । छेऊमा आएर मागिरहने । न माग्नेले माग्न छाड्ने, न बस्नेलाई हतपति दिन मन लाग्ने । फेरि कहिलेकाहीं चाहिं अचम्म पनि हुँदोरैछ । भैगो नि त छाँडे भनेर कुर्सीबाट फुत्त उठेर पनि हिंड्न नमिल्ने । फर्सी त भैगो खान्न भन्दा सुख पाईन्छ नि ।
फर्सी पाएपनि अचार र दालमा त मन जान्छ नि । तर कुर्सी पाएपछि सितिमिति अरुमा मन नै नजाने । त्यसैले त हो नि संविधानको पाठ लेख्न छाडेर हाम्रा नेताहरू ऊबेलादेखि अहिलेसम्म कुर्सीकै वरिपरि फनफनी रिंगिरहेका । म्युजिकल चियर्समा जस्तो कहिले उसको पालो कहिले यसको पालो भनेर बस्दै उठ्दै घुम्दै कुराउँदै दौडेका दोड्यै छन् । झिनाझम्टी, लुछाचुँडी त कति हो कति । तैपनि पालोमा भएकाहरूले अझै चाख्न पाएका छैनन, पालो सकेकाले भाग्न पनि पाएका छैनन् । कहाँ लहरोमा फलेको नाथे फर्सी, कहाँ लहरामा अल्झिएको स्वादे कुर्सी !!
धादिङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































