
व्यङ्ग्यकार रिमाल : एक दृष्टि
“यहाँ श्रृङ्खला ल्याउन खोज्ने तिमी को ?” भनेर नेपाली जीवनमा बढ्दो विसंगतिलाई सहज संवेद्य व्यङ्ग्यवाणले उधिन्न यस कविताले कविमा निहित व्यङ्गयकलाको छनकमात्र राम्ररी दिएको छैन, साथै नेपाली व्यङ्ग्यकाव्यमा पनि एउटा चिल्लो पात थपेको छ ।

भैरव अर्याल :
भनौला :- म हिमाल निरको रिमाल; कवि र एउटा नाटककार ।
लौ त नमस्कार !
तर मलाई तिम्रो बाहिरी आकार प्रकारसित कुनै सरोकार छैन । कवितामा तिमी देखिन्छौ- ‘प्रीति र मुक्तिका तीब्र तीर्खा बन्धन र उत्पीडनप्रतिका उग्र प्रहार ।’ त्यसैले पारखीहरू भन्छन्- रिमालका कवितामा मायाका सुसेली र क्रान्तिका राग सँगसँगै सुनिन्छन्, रिमालका नाटकमा उन्मुक्तिका छट्पटी र उन्नयनका ध्वनिहरू भित्र-भित्र गुन्जिन्छन् । तिमी स्वयंले पनि सकारेका थियौः-
‘मलाई त प्रेम र क्रान्ति बराबर छ !’
तिम्रो प्रेम नारी-प्रेममा जति संग्लिएको छ त्यत्तिकै देश-प्रेममा अग्लिएको छ । तिम्रो क्रान्ति निरङ्कुश राजनीतिक व्यवस्थाको विरुद्ध जति तिखारिएको तिम्रा कविताले बुझाउँछन्, मानवोचित जीवन यापन गर्न नदिने विविध बन्धन- पीडनप्रति त्यत्तिकै फिजारिएको तिम्रा नाटकले देखाउँछन् । ‘तिमी को ?’ को उत्तर सबभन्दा पहिले एउटै शब्दमा टड्कारिन्छ- ‘नेपाली’ । अनि अर्को शब्द गाँसिन्छ- ‘साहित्यकार’ । प्रगतिशील, रोमाण्टिक, यथार्थवादी आदि तिम्रो कविले कमाएका अरू विशेषणहरूबारे विचार गर्नेले गर्दै गर्लान्, पहिले त तिम्रो राष्ट्रवादित्व नै टड्कारिन्छ तिम्रा कवितामाः-
‘फेरि, हिमालयको अग्लो टुप्पाबाट
शंख आज फुक्दछु
आनन्द लुट्न कसैलाई
इरादा छ भने- ‘स्वागतम्’
त्यो आओस् नेपालमा
आज रजत जयन्ती !’
त्रिभुवनको ‘रजत जयन्ती’ मा लेखिएको यो कविता तिम्रो देशप्रेम, राष्ट्रवादीता वा नेपाल-भक्तिको पहिलो प्रमाण हो । तिमीले देवीसित वरदान माग्दा पनि भनेथ्यौ-
‘हे देवी ! दुर्गे ! जगत्की आमा
पुकार हाम्रो सुनी देउ
हामी नेपाली नेपाल हाम्रो
यो भाव सबमा जगाई देउ !’
यतिले नपुगे ‘गोपालप्रसाद रिमालले बोलेका खस कुरा’ नै सुनौं-
‘हाम्रो छाती कत्रो हिमाल जत्रो
हाम्रो बारीको नाउँ के ?- नेपाल ।’
यस्तो खस कुरा बोल्ने मान्छेलाई खास देशभक्त कसले नभन्ला ? तर त्यस नेपाल-भक्त भित्रको भक्त निस्क्रिय माला जपुवा मात्र थिएन, सजग स्वप्नद्रष्टा पनि थियो । उन्मुक्त, जाग्रत र उन्नत नेपाल उनको सपना थियो भने स्वतन्त्र, सचेत, सुखी र सन्तुष्ट नेपाली त्यस सपनासँग भिजेको जपना ।
‘मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ’
‘त्यो आउँछ कि आमा !
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई
कुत्कुत्याइ सक्यो आमा !’
हो, त्यो आउँछ
त्यो बिहानको सूर्य झैं उज्यालो छर्दै आउँछ
अब म उठें गएँ ।’
‘विपनाको हराएको मणि नै सपना न हो’ भन्ने तिमीले नेपाल आमाको सपना आफ्ना आँखाले देखेका थियौ र ‘सपनामा’ लेखेका थियौ । तर तिमीले आफ्नो खस कुरामा छनक मारेथ्यौ नि !-
‘हाम्रो जुक्ति के ?
सकेसम्म छलफल
अनि छल’
आफैँले भने गरी तिमीलाई आफ्नो सपनाले छलिदियो; आमाको सपनाले छलिदियो । अनि तिमी पनि त्यसै गरी छक्कियौ जसरी छक्किन्छन्- यहाँका अधिकांश नर पुंगवहरू जीवनको अघिल्लो आधा स्वप्नको डोको बोकेर, पछिल्लो आधा थोत्रो डोकामा आँसु पोखेर । त्यही स्वप्न-भङ्गको रन्कोमा तिमीले पनि आफूले आफैसँग सोध्यो- ‘तिमी को ?’
‘यहाँ हामीलाई यो अलमल नै प्रिय छ’
यो घरमर नै प्रिय छ
तर, हामी त्यसोलाई त्यसो भन्न चाहँदैनौं
त्यसो भन्ने तिमी को ?’
साँच्चै ‘त्यसोलाई त्यसो भन्न नचाहने’ रिमाल र त्यसोलाई त्यसै भन्ने रिमालको अन्तद्वन्द्व नै ‘बहुला रिमाल’ त होइन ? कुन्नि त्यो त तिमी नै जाने ! मैले जानेको यत्ति हो- तिमीले जङ्गिदा पनि नेपाल-भक्ति बिर्सेनौ, तिम्रो कविले व्यङ्गिदा पनि यसको उन्नति बिर्सेन ।
‘तिमी को ?’- तिम्रो सफल व्यङ्ग्य कविता हो । नेपालीका सरदर स्वभावहरू संगेटेर तिमीले साँच्च विझ्दो गरी छनक मारेका छौ-
‘यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ !
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?’
अर्को शब्दमा, जस्तो छ त्यस्तैमा झिङ्गा झैँ टाँस्सिरहन चाहने अनेकन हामी रिमालहरूले कस्तो हुनुपर्छका सचेतक कवि रिमालसित गरेको प्रश्न हो- ‘तिमी को ?’
‘हामीलाई हाम्रो आलस्य नै प्रिय छ
दुर्गति नै प्रिय छ
यो पसारो नै प्रिय छ
उठाउन चाहने तिमी को ?’
स्वप्नभङ्गको झोंकमा जङ्गिदा जङ्गिदै व्यङ्गिएको यस कविताले ‘तिमी को ?’ को जवाफ ‘व्यङ्ग्यकवि’ भनेर दिऊँ कि भनेझैँ पार्छ ।
वीरतामा नाम कमाएको नेपाली र अशक्यतालाई नै प्रिय ठान्ने नेपालीका बीचको विरोधाभास, आपना दुर्गति र अवनतिको वास्तै नगरी अरुको निम्ति ‘जीत’ लिइदिन जाने लाहुरे नेपाली जीवनको विसंगति; अशक्यतालाई शक्ति आर्जनबाट होइन, अहंकार प्रदर्शनबाट छोप्न चाहने विडम्बना, पराईसँग दाह्रा ङिच्याएर क्रान्तिको भ्रान्ति उधारो माग्ने विकृति इत्यादि यस कवितामा चित्रित छन् । आत्मविश्वास, आत्मबल, जाँगर, सुधार र सच्चा अर्थको वीरताका आकांक्षाहरू यस कवितामा व्यञ्जित छन् । “यहाँ श्रृङ्खला ल्याउन खोज्ने तिमी को ?” भनेर नेपाली जीवनमा बढ्दो विसंगतिलाई सहज संवेद्य व्यङ्ग्यवाणले उधिन्न यस कविताले कविमा निहित व्यङ्गयकलाको छनकमात्र राम्ररी दिएको छैन, साथै नेपाली व्यङ्ग्यकाव्यमा पनि एउटा चिल्लो पात थपेको छ ।
‘तिमी को ?’ का कविले हानेका व्यङ्ग्यवाणहरू नदुखाउने तर पेटका कीरा मार्ने गरी लाग्छन् । उदाहरणको निम्ति आसामतिर गएको बेला त्यहाँ पशुपालन व्यवसाय गरी बसेका नेपालीहरूलाई उनी सोध्छन्ः-
‘नेपाली, तिमी यहाँ किन आयो ?
गोरखाली हौ
गो-रक्षाको भार लिई
बढ्दै बढ्दै आयौ ?-’
शब्द र अर्थ दुबैको संयुक्त वैचित्र्य साथ व्यक्त यो पंक्तिले व्यङ्गयसहित हास्यको पनि सिर्जना गर्छन् । शब्द वैचित्र्य मात्र त अन्त पनि पाइन्छ-
‘संक्रान्ति त महीनौं महीनौं भइरहेछ
मलाई त क्रान्तिसित खेल्ने बानी छ’
‘मसान’ नाटकद्वारा कामुक प्रेमलाई र ‘यो प्रेम !’ नाटकद्वारा भावुक प्रेमलाई व्यङ्ग्य गर्ने ‘तिमी को ?’ का तिमीले दुबै नाटकमा यस्ता उक्तिवैचित्र्य र ठट्टाहरू बराबर गरेका छौ । कतिपय प्रसङ्गमा तिमीले उपमाबाटै आफ्नो ठूलो काम सकेका छौ-
‘रात अज्ञान झैँ अँध्यारो थियो
स्वार्थ जस्तै चीसो बतासको हुरी थियो
अहङ्कार झैँ मेघ गर्जिरहेको थियो ।’
यहाँ तिमीले अज्ञान, दुर्बलता, स्वार्थ, अहङ्कार र संकीर्ण पाशविकताको धज्जी उडाएका छौ । यिनै गज्याङगुजुङबाट उन्मुक्त मान्छे ने शायद ‘तिमी को’ को ‘तिमी’ हो र तिमीद्वारा आहुत, आवाहित र आग्रहित मान्छे पनि उही हो । कसो ?
०००
रिमाल विशेषाङ्क ‘नौलो नेपाली’ ०३२ बाट
‘दश औतार’- कौवा प्रकाशन (२०३३)