सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिर्सिस्यो कि ?

सदाचार बिर्सेर भ्रष्टाचारमा चुर्लुम्म डुबेका महन्त-मठाधीशलाई के भनेर सम्झाउनु : ओछेन बिर्सिने किच्चकहरूलाई के भनेर सम्झाउनु ? यिनीहरूलाई सम्झाउने कुरा भाषाको सीमाभित्र पर्दैन ।

Nepal Telecom ad

रुद्र खरेल :

हजुरलाई आश्चर्य लागे लागोस्, हजुरको असहमति जनिए जनियोस् । म निर्धक्कसँग भन्छु- बिर्सिनु जाती कुरा हो । उँधौलीबाट उँभौलीतिर लाग्नुछ भने बिर्सिन पनि सिक्नु पर्दछ । बिर्सिँदाखेरि हानि मात्र हुन्छ भन्ने पुङ न पुछरको कुरा हो । वरू, कुन कुरा सम्झनु पर्छ र कुन कुरा बिर्सिनु पर्छ, त्यसको छ्यानविवेक गर्न नसक्ने हुस्सुहरूले भने पक्कै पछुताउनु पर्छ ।

निकैजसो मानिसहरूको चाहना नै बिर्सिने हुन्छ । म आफूमा यस्तो विशेष खुबी देख्दिन । असमर्थ भएपछि पछाडि पर्नु मामुली कुरा हो । मेरो सल्लाह मानिसिन्छ भने हजुरहरू म जस्तो तुसाराले टाक्सिएको इलचीको बोट नबनिस्योस् । आफूलाई फाइदा हुने कुरा जति सम्झिराखिस्योस्, सास हिरिक्क हुन्जेल पनि । हजुरलाई कसैले केही दिनु थियो कि ? हजुरको स्वार्थ पूरा हुने पुरानो केही कुरा थियो कि ? यस्ता कुरा कहिले नबिर्सियोस्, बिरालाले गृह लुकाएझैँ स्मृतिमा कहीँ छोपिराखिस्योस् । त्यसको दुङदुङ्ती हरकले बान्ता आए आइरहोस् ।

आफ्नो स्वार्थलाई ठाडै हानि पुर्‍याउने कुरा को सम्झोस् । त्यस्ता कुराहरू चाहिँ बिर्सिनु नै जाती छ । किराना पसलमा हजुरले दुई रूपियाँ पचास पैसा तिर्नु थियो कि ? हजुरले बिर्सेर एकजना सज्जनको कलम खल्तीमा हालिस्यो कि ? कसैको पुस्तक फर्काउन बिर्सिस्यो कि ? चियापसल पानपसलका बाँकी बक्यौताहरू भुसुक्क बिर्सेर लुसुक्क हिँडिस्यो कि ? कुनै लेखकको पुस्तक बेचेर पैसा चट पारिस्यो कि सडक, मसानघाट, सार्वजनिक र गुठी जग्गालाई बिर्सेर आफ्नो कम्पाउन्डभित्र घुसाइस्यो कि ? आफूले जिम्मा लिएको कुनै सार्वजनिक अभिभारा बिर्सिस्यो कि बिर्सिस्येको हो भने हजुरले बेसै गरिस्यो । यस्ता जाबा कुराहरूको फुम राखेर के फाइदा छ र ?

भन्छन्, बिर्सिनु मानवीय कमजोरी हो । खालि चल्तीमा देखिएको बिर्साई फरक र अस्वाभाविक किसिमको छ । यहाँ त बिर्सिने इच्छा छ, आशय छ । यसैले के नेता, के साहित्यकार, के पत्रकार, के कलाकार सबै बिर्सुवाहरू एकै ड्याङ्का मूला हुन् । कसैले मूल्य र आदर्श बिर्सेका छन् त कसैले आश्वासन र सामान्य नैतिकता । स्वार्थ सिद्धिको महान् उद्देश्य प्राप्तिका लागि बढेमाका समस्याहरूसँग जुधिरहेका छन यी महापुरुषहरू, महास्त्रीहरू । यस्ता छुसी कुरामा अल्झिन वहाँहरूलाई फुर्सद छैन होना । वहाँहरूका लागि यस्ता मूल्यहरू बिर्सिनु नै बेस होला ।

साँचो हो, हाम्रो समाजमा ठूल्ठूला बिर्सुवाहरू छन् । आफ्नो महल बनाइदिने, खेत जोतिदिने र पानीको इनार खनिदिने श्रमिकहरूको ज्याला बिर्सिने साइँदुवाहरू थुप्रै छन् । सरकारी आवासको फ्याँन, हिटर, रेफ्रिजेटर, पर्दा, कार्पेटदेखि लिएर फूलको गमलासम्म बिर्सिने मन्त्रीहरू छन्, फोनको सेट, थोत्रो साइकलदेखि लिएर ट्वाइलेट पेपरसम्म बिर्सिने अड्डा प्रमुखहरू छन् । टेबुलमुनिबाट घुस लिँदा कानून बिर्सिने हामिकहरू छन् । बच्चाको घाँटीमा अड्किएको चाबीको झत्तो हेर्न बिर्सिनेदेखि लिएर उपचारको सिलसिलामा महिलाहरूका संवेदनशील अंगहरू बिर्सेर छाम्ने डाक्टरहरू छन् । निर्धारित दिन र समयमा कक्षामा हाजिर हुन बिर्सिने तर भाते खातामा बाहुली निसाना घस्काउने प्राध्यापकहरू छन् । सत्य बिर्सिने पत्रकारहरू छन्, इमान बिर्सिने साहित्यकार, बुद्धिजीवीहरू छन् । आफ्नो बोलकबोल विर्सिने मन्त्री र सांसदहरू छन् । त्यति मात्र होइन, शहीदको खुन र गुन बिर्सिने दल र दलबहादुरहरू छन् ।

पौराणिक कथाका कुरा किन ? हाम्रै वरिपरि थुप्रै-थुप्रै स्वास्नी बिर्सिने दुश्यन्तहरू छन्, विश्वामित्र र मेनकाहरू छन् । छली र कपटीहरू छन्, ढोँगी र भोगीहरू छन् । खोजी पस्दा बाटो बिर्सिनेहरू छन्, माटो बिर्सिनेहरू छन्, आमाको दूध र डायरीको दूध एउटै मानाले भरेर एकै मूल्यमा बेच्नु पर्छ भनेर जिद्दी गर्ने मापदण्ड बिर्सुवाहरू छन् । आफूलाई बिर्सिनेहरू छन्, यथार्थलाई बिर्सिनेहरू छन् । अतीतलाई बिर्सिनेहरू छन्, भविष्यलाई बिर्सिनेहरू छन् । लौ, गम्नोस् त कत्रो भिड छ बिर्सुवाहरूको ?

निसाफ बिर्सिनेहरू छन्, हिसाब बिर्सिनेहरू छन् । आफ्नो फाइदा देखेपछि दिसा-पिसाब पनि बिर्सिनेहरू छन् । आँखामा चस्मा लाएर घुँइघुँइती चस्मा खोज्नेहरू छन्, मोजा र चप्पल लगाएर घरबाट बिसुद्धि भएर सडकमा निस्किनेहरू छन् । ट्रली बसको भाडा तिर्न बिर्सिनेदेखि लिएर मन्दिरमा जाँदा आफ्ना थोत्रा जुत्ता चप्पल त्यहीँ बिर्सेर अरु भक्तहरूका नयाँ जुत्ताचप्पल सडकाएर घर फर्कनेहरू छन् । गफका सुरमा धोती कट्टु खुस्केको बिर्सिनेहरू पनि छन् । कुनाकाप्चा, ओझेल र छलिने ठाउँ पाउनासाथ तिलस्मी ढंगले लामो हुने स्त्रीपीडक बिर्सुवा हातहरू छन् ।

बिर्सिनेहरू छ्यास्छ्यास्ती छन्, थरीथरीका छन् । यिनीहरू मध्ये सबैभन्दा खतरनाक हुन्छन्- ओछेन बिर्सिनेहरू । यस्ताहरूलाई मध्यराततिर बिर्सिने रोगले बढी च्याप्छ । यिनीहरू अर्काकी छोरीबुहारी वा निर्धा स्वास्नीमान्छेहरूको ओछेनमा पुग्छन्, ढाडे जुगा दल्न खोज्छन् । त्यसैले, ओछेन बिर्सुवाहरू समाजका वरिष्ठ बिर्सुवाहरू हुन्, राष्ट्रका विभूतिहरू हुन् । यिनका मुखेन्जि बाँकी सबै बिर्सुवाहरू दुरी दुहाई भएका छन् । यस्ताहरूले गाउँ शहरमा कति पटक होहल्ला, ढिस्सिउँ-ढिस्सिउँ र मारमुङ्ग्री मचाएर म जस्तो कुम्भकणर्को निद्रा बिथोलिदिएका छन् ।

‘त अरूको ओछेनमा गएकै होस्’ भनर आशयमाथि नै किन शङ्का गरूँ ? चरित्र, संयम र धैर्य त बिर्सिइन्छ भने ओछेन नाथे बिर्सिनु कुन ठूलो कुरा हो र यो त कुनै समस्यै होइन, बरू समस्याको समाधान हो । भनिस्योस् त, हजुरले कहिले ओछेन बिर्सिसेको छ ? भो, भो मन खिन्न पारिसिनु पर्दैन । ओछेन बिर्सुवाहरू मन्त्री- प्रधानमन्त्री भएका छन्, अत्यधिक मतले चुनावमा विजयी भएका छन्, मानसम्मान पद र तक्माहरूले विभूषित भएका छन्, प्राडो-पजेरामा सयर गरेका छन्, नारीमुक्तिको भाषण ठोकेका छन्, विशेष अतिथिको कुर्सी र फूलका गुच्छा चड्काएका छन्, आगो जस्तो पोल्ने भाषण पड्काएका छन् । हजुरहरूले मलाई सोधिस्सेला- ‘यसको प्रमाण तसँग के छ ?’ ख्वामितहरूलाई म उल्टै प्रश्न गर्छु ‘के कसैले साक्षीप्रमाण ठीकठाक पारेर ओछेन बिर्सिँदो हो ?

म पानीमाथिको ओभानो हुन चाहन्न । खसोखास भन्छु म पनि एउटा ठूलो बिर्सुवा हुँ । आफ्नो छालाको ब्यागको सट्टा क्याम्पसको भाते खाता नै बोकेर हिँडेको छु म । ल क्याम्पसको डस्टर खेलाउँदै भृकुटीमण्डपदेखि पुतलीसडकसम्म पुगेको छु म । क्याम्पसको गेटबाट बाहिर निस्किँदै गर्दा साथीहरूले कति पटक सोधेँ- ‘तपाईं कहाँ जाने ?’ रत्नपार्क जाने भनौ कि बागबजार ? मेरा लागि ठूलो समस्या बन्यो म वाल्ल परेँ । डस्टरको धुलो लागेको प्लास्टर नगरिएको दिमागलाई मेडियम वेभवाट सर्ट टु मा लगे । बल्ल हेक्का भयो, म त सिंहदरबार पो हिँडेको रहेछु । यसर्थ, छातीमा हात राखेर स्वीर्काछु म एउटा ठूलो बिर्सुवा हुँ । बरू, जुन कुरा सम्झनु पर्दथ्यो, त्यो बिर्सिरहेको छु र जुन कुरा बिर्सिनु पर्दथ्यो, त्यो चाहिँ सम्झिरहेको छु । कविरजीका उल्टा बानी, बरसे, कम्बल भिजे पानी भनेको यही हो । अर्थात् म पानी हूँ कम्बलको वर्षाले मलाई भिजाइरहेछ ।

बिर्सुवाहरूको भिड सबैभन्दा अघि छ, पदप्रतिष्ठा र ऐश्वर्यको टुप्पामा पुगेको छ । जोर तिघ्रा ठटाएर चुनौतीका साथ भन्दैछ- ‘भन् त बिर्सिनु योग्यता भयो कि भएन भन् त तेरो सम्झाइहाले के लछार पाटो लाग्यो ?’ आशयमाथि नै शङ्का गरेर उनीहरूसँग बल्याङ्गै भिड्नुभन्दा प्रतिरक्षाको बाटो समाउनु बेस हुन्छ । त्यसैले, तैले यसो गरिस्, उसो गरिस् भन्नु सट्टा ‘हजुरले बिर्सिस्यो’ भन्नु व्यवहारिक दृष्टिले उचित हुन्छ । आँखिर, सम्झाउनु पर्ने कुरा नै पो के छ र ?

उपचारको निहुँमा महिलाको ठाउँ कुठाउँमा आफ्नो हैसियत बिर्सेर छाम्ने डाक्टरलाई के भनेर सम्झाउनु ? मन्दिरमा जुत्ता चप्पल सॉटेर लाउने भक्तहरूलाई के भनेर सम्झाउनु ? सदाचार बिर्सेर भ्रष्टाचारमा चुर्लुम्म डुबेका महन्त-मठाधीशलाई के भनेर सम्झाउनु : ओछेन बिर्सिने किच्चकहरूलाई के भनेर सम्झाउनु यिनीहरूलाई सम्झाउने कुरा भाषाको सीमाभित्र पर्दैन । शब्द र वाक्यले यस्ताहरूलाई छुँदैन । यिनीहरूले सामान्य भाषा बुझ्दैनन्, कठवाँसको विशेष भाषा मात्र बुझ्दछन् । तर, त्यसो गर्दा आफ्ना खुट्टीको पनि हेक्का राख्नु पर्ने हुन्छ । ‘बिर्सिस्यो कि ?’ भन्दा हुनेमा किन यति ठूलो जोखिम मोल्ने ?

०००
‘बिर्सिस्यो कि’ (२०५७)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा