गम्भीर हुनेबारे

गम्भीर हुनुको अर्थ अब गम्भीर हुनु पटक्कै होइन; हृदयका कान थुन्नु र विवेकका आँखा थुन्नु हो । यति जाबो काम गर्न सक्नुभयो भने तपाईं पनि सजिलै गम्भीर हुन सक्नुहुन्छ ।

नेपालको इतिहासमा नानाओलीका बेला आए । ती सबैलाई माथ गरेर अहिले हामी विकासको नयाँ चरणमा आइपुगेका छौं इतिहासमा ठुल्ठुला जोखिम मोल्नु पर्ने समय आए । बहादुरी र वलिदानका जुगहरू आए । तर, यस्तो हाइसन्चोको युग चाहिं कहिले आएन अहिले समयको यस्तो चरण आएको छ, जसमा गर्ने भन्ने नाउँमा सिन्कोसम्म भाँच्नु पर्दैन गम्भीर भइदिए मात्र पुग्छ । सरकारका मन्त्री, सरकारको रेडियो, सरकारको छापा, सरकारको टिभि, सरकारका बुद्धिजीवी भनिने भत्ताजीवी, उद्योगपति भनिने बिना उद्योगका बैङ्क लुटारपति सबैको एउटै भनाइ छ- ‘तपाईंहरू गम्भीर हुनुहोस् ।’ यत्रो समाजमा एक दर्जन जति मतसम्म ल्याउन नसक्ने हिजोका पार्टीहरू आज सडकमा हिरो बनेर बैन्डबाजा सहितको जुलुसमा एक स्वरले भन्दैछन्- ‘तपाईंहरू गम्भीर हुनुहोस् ।’ तिनका नाम पनि विचित्रका छन्- नेताको हैसियत लिखे भए नेपाल राष्ट्रिय लिखे परिषद्, नेताको नाम छुस्कान भए नेपाल छुस्कान पार्टी, नेताको स्वभाव फोहोरी भए नेपाल भैंसे पाटी, नाक चुच्चो भए चुच्चे पाटी, थेप्चे भए थेप्चे पार्टी, कति हो कति पार्टी नै पार्टी । गरीवहरूले जुलुसमा यसो आनासुकी पाए होलान्, लफङ्गाहरूले जाँडपानी जुराएका होलान्, ढ्वाङ व्यवसायी र बैन्डबाजा पार्टीले काम पाएका होलान्, राम्रै भएको छ । छुस्केहरूको छुस्कान पार्टी, मस्केहरूको मुस्कान पार्टी, धुत्नेहरूको धुतार पाटी, नेपाल छिर्के दाउ परिषद्, अखिल नेपाल छुरी चैन खुकुरी परिषद् कति हो कति अनौठा नाम र स्वभावका पार्टीहरू सडकमा आएका छन् सुरक्षाकर्मीको घेराभित्र तिनीहरू चिच्याइरहेका छन्- ‘तपाईंहरू गम्भीर हुनुहोस्, जनता हामीसँग छन् । देशले नयाँ चरणमा प्रवेश गरेको छ । तसर्थ, यो समय हल्ला गर्ने होइन, ‘गम्भीर हुने’ हो ।’ यसबाट छ्याङ्ग हुन्छ- अहिले हाम्रो समाजमा केही गर्नु पर्दैन, केवल गम्भीर भइदिए पुग्छ ।

मैले चिनेका र संगतसम्मान गरेका कतिपय साहित्यकार मित्रहरू अचेलभरि भुटिभाङ केही लेख्नुहुन्न । ती मध्ये कति त ‘गम्भीर बन्ने काल’ भरि म तातोभुत्लो केही लेख्दिन भनेर घोषित रूपमै क्रुर समयका अघिल्तिर पसेर उताना टाङ लाउनेहरू पनि छन् त्यस्ताहरूलाई गम्भीर हुनुको अर्थ सोधेर समय खेर फाल्नु मात्रै हो । उनीहरूले ठाडै भन्नेछन्- ‘हामीहरू औधि गम्भीर छौं, गम्भीर भएका छौं ।’ अर्काथरीका साहित्यकारले चाहिँ वक्तव्य नै जखिहाले, जसको सार हो- आजका मितिदेखि हामी तपसिलका लाठेहरू ‘गम्भीर’ भयौं । आफू गम्भीर हुने र अरूलाई पनि गम्भीर पार्न सक्नेहरूले तात्तातै पद पनि जिष्ट्याइ छाडे । पहिले तपसिलमा सही गर्ने पछि पेटबोली नबुझी झुक्यानमा ‘गम्भीर’ भएँछु’ भनेर फिरौती माग्नेहरूको उराठलाग्दो गन्याउने मुख हेर्ने फुर्सदिलो हामी माझ सायदै कोही होला । कतिखेर गम्भीर हुनुपर्छ र कतिखेर चञ्चले हुनुपर्छ भन्ने खुट्याउन नसक्नेहरू एक प्रकारले शिशुहरू नै हुन् । शिशु प्रजातन्त्रमा यस्तो भइरहन्छ, नत्र विश्वम्भर चञ्चलजीले पनि आफ्नो उपनाम सार्थक पार्ने जमर्को गर्नु हुन्थ्यो । निकै दिन भयो वहाँसँग मेरो भेटघाट छैन तापनि विश्वंभरजी मेरो कानमा ध्वनित भइरहनुहुन्छ- ‘चञ्चले चञ्चले गण्डकी अञ्चले….’ आदि आदि । मैले चञ्चलजीको नाम आफू ‘गम्भीर’ हुन नसकेको सन्दर्भमा लिएको हुँ ।

एक दुई दिन भन्दा बढी ‘गम्भीर’ हुन नसकी मेरै चञ्चले पंक्तिमा उभिने साथीहरूलाई पनि ससम्मान आफ्ना ठाउँमा टिकिरहन अनुरोध गर्दछु । वहाँहरूको पछिल्लो कदम प्रशंसनीय छ । फिरौती मन्तव्य पछिका अच्छेरहरू इतिहासका दसी बन्न सकून् । टोलका घागडान राजनीतिज्ञ मित्रसँग चोकतिर मेरो दिनहुँ साँझपख जम्काभेट भइरहन्थ्यो झर्रो मोडलको लोकतन्त्रबारे टर्रो भाषण घन्टौं सुनिसके पछि म आफैँ प्रस्ताव राख्थें- यसो तातो गुलियो चिया खाने हो कि ? कुरा भुइँमा झर्न नपाउँदै तिनले ओठ चाट्थे, जिब्रो अचाक्लीसँग चन्चले भएर । वहाँ पनि अचेलभरि चोकतिर देखिन छाड्नुभो किनभने वहाँ औधि गम्भीर हुनुहुन्छ । ती मित्र दिनभरि ‘चोर मचाए सोर’मा डुब्नुहुन्छ, चोकतिर निस्किने समय साँझपख त्यस फिलिमको कथानक, हिरोहिर्वाइनको चर्तिकला र बलिउडको चमत्कारबारे सिर्मतीसँग घण्टौंसम्म माथा पच्चिसी गर्नुहुन्छ । अरू बेला आफूलाई लोकतन्त्रका ‘थिङ्क ट्याङ्क’ भनिदिए हुन्थ्यो भनेर आस गर्ने एकजनाले त मलाई प्वाक्क भनिहाले- ‘यस स्थितिको जिम्मेवार दलहरू नै हुन् ।’ तसर्थ, अहिले गम्भीर हुने बेला छ ।

अझ मैले त त्यस बेला तीन चित खाएको अनुभव गरेँ जब सधैँ प्यार-प्यार गरेर कहिल्यै नथाक्ने मेरा केही पत्रकार मित्रले पनि ‘गम्भीर हुनुपर्छ’ भन्ने शीर्षकको उपदेशयुक्त येमानको लामो लेख सबभन्दा अघिसरा भएर धस्काइछाडेछन् । उनले उधारोमा लिएका बासी शब्द पस्केछन्- ‘अहिले संचारमाध्यम जिम्मेवार, मर्यादित, अनुशासित, संयमित र गम्भीर बन्नुपर्छ ।’ आधाउधी पढेपछि वाक्क लागेर त्यो लेख फालिदिए । कारण, त्यहाँ एउटै कुरा फरक थियो, त्यो हो प्यारप्यारका प्रस्तुति शैली लेखको सिरबेहोरा जे भए पनि पेटबोली उही थियो- ‘खान पाऊँ, पिउन पाऊँ एक बारको जुनिले जे जे पाउनु पर्ने हो, सबै पाऊँ, प्रभो सेवक हाजिर छ ।’

मैले अर्का एकजना छिमेकी प्राध्यापकलाई भने- ‘सर, प्राज्ञिक स्वतन्त्रता हाम्रो लागि ठूलो कुरा हो हामी जो कोहीले सरकार चलाए पनि शैक्षिक क्षेत्रमा राजनीतिकरण नहोस् भन्ने चाहन्छौं । तर सर, अहिले भइरहेको ‘करण’ चाहिँ कुन करण हो ? के यो राजनीतिकरणको हजुरबा सैनिकीकरण त होइन ?’ वहाँले भन्नुभयो, ‘यी सब कुरा स्वाभाविक छन् अहिले गम्भीर हुने बेला हो ।’ यसरी नै तपाईं यस्ता ड्याङका वकिललाई सोध्नोस् कि निसाफको तालुकदारलाई, उही रेडिमेड उत्तर आउँछ- यो गम्भीर हुने बेला हो, तर्क गर्ने बेला होइन तपाईं सोध्न सक्नुहुन्छ- निसाफका तालुकवाला मूर्तिज्यू तपाईंलाई आफ्नो कर्तव्य गर्न केले. रोक्यो ? वहाँको पनि उही तम्तयार उत्तर हाजिर छ- ‘अहिले हामी गम्भीर हुनुपर्छ ।’ मलाई लाग्छ, न्यायपालिकाको संस्थागत विकास गर्न बढो सजिलो छ- गम्भीर भइदियो पुगिहाल्यो ।

मान्छेलाई मान्छे भएर बाँच्ने अधिकार खोसिएर अनेक संवैधानिक प्रश्न उठे पनि मूर्तिज्यूको उत्तर तम्तयार छ- ‘अहिले हामी गम्भीर छौं । गम्भीर किन छौं भने यो गम्भीर हुने बेला हो ।’ तपाई सोध्न सक्नुहुन्छ- हजुरको अलौकिक मन्तव्यले न्यायिक गरिमा र स्वतन्त्रतालाई कतै थिचोमिचो त गरेन ? त्यस्तो कुरा बोल्ने हजुर नै उचित पात्र होइसिन्छ ? तम्तयार उत्तर आउँछ- छोड्नोस् यो उचित र अनुचितको थाङ्ने तर्क मुख्य कुरो अहिले ‘गम्भीर’ हुने बेला हो र म गम्भीर भएको पनि छु । मेरा भाषण यसैका दसी हुन् ।

म त अचेल आफ्नै कुकुर भुक्दा पनि झस्किन्छु- कतै यसले पनि मलाई गम्भीर बन्न उपदेश दिइरहेको त छैन ? लाग्छ, देशभरिका खिच्चा कुकुरहरूका भुकाइले मानिसलाई संप्रेषित गरेको एउटै आशय हो- ‘तपाईंहरू गम्भीर बन्नुहोस् । केवल हामीहरू भुक्छौं हामीहरू पनि यसकारण भुक्छौं कि हाम्रा लागि गम्भीर बन्नु बाध्यता हो ।’ स्यालहरू पनि भन्छन्- ‘हाम्रो हुइँया चल्तीको जस्तो ठिनेमिने हुइँया होइन, हामीहरू गम्भीर बनेको जनाउने हुइँया हो ।’ अहिले देशमा को गम्भीर छैन ? भन्नु भन्दा पनि के गम्भीर छैन, भन्नु जाती हुन्छ । कुकुरहरू गम्भीर छैनन् कि, स्यालहरू गम्भीर छैनन् कि, के मात्र गम्भीर छैनन् ? यही ताल रहिरह्यो भने बर्खा लाग्न त दिनोस्- भ्यागुताहरू पनि गम्भीर हुनेछन् । उनीहरूको भुसुना निलाइ प्रेमप्रसंग संभोग-निषेचन मात्र होइन, ट्यारट्यार पनि गम्भीर हुनेछ ।

गम्भीर अवस्थामा गर्भधारण भयो भने पृथ्वीका लाखौंलाख चेपागाँडाहरू पनि गम्भीर हुनेछन् । लामखुट्टेहरूले आफ्नो अहिंसात्मक शान्ति संगीतमा पनि ‘गंभीर हुनु’को भाव रिमिक्स गर्नेछन् । त्यस पछि तपाईं छक्क पर्नु हुनेछ- जुन देशमा कुकुर, स्याल, भ्यागुता, लामखुट्टे सबै गंभीर छन्, अजिङ्गरहरू गंभीर बनेर खरायाहरू निल्दैछन्, चितुवाहरूले पाठाहरूलाई घाँटीमा अँठ्याई गम्भीर बनेर तनक्क तन्कन बुद्धवाणी सुनाइरहेछन्, गोमनको मुखमा पसेका भ्यागुताहरू गम्भीरताका साथ भागवत् गीता पाठ गरिरहेछन्, बाह्रसिंगे मृगलाई चपाउँदै गोहीहरूले कोटिहोम गरिरहेका छन् । वधशालाका राँगाहरू पनि परेला झिम्मसम्म नगरी गम्भीर मुद्रामा पसारिएका छन् । भन्नुस् त यस देशमा को गंभीर नहोला ? म त भन्छु- यस धरतीमा कुनै पनि देश गंभीर छ भने त्यो हो अहिलेको नेपाल । यसको एक पाटो अहिले बोल्दैन, यो चुपचाप छ, यसका ओठहरू बन्द छन्, यसले मुख थुनेको छ, अथवा ओठभरि ताल्चा झुण्ड्याएको छ गम्भीरताको परिचय यति नै पर्याप्त छैन र ?

त्यसो त सबैको एउटै सोच कहाँ हुन्छ र ? पुरै हाम्रो च्यातेर उफ्री उफ्री ‘गम्भीरता’ र मौनताको विरुद्धमा अधिसरा हुनेहरूको पनि ठूलै ताँती छ । छापा लेख्छ- यतिका सय मान्छेहरूले मुख बाए पुरै हाभ्रो च्यातेर तस्वीरमा सुरक्षाकर्मीको घेराभित्र गम्भीर बन्न नसक्ने हाब्राहरू पनि देख्छु, जसको भातभान्सा, ओछेन र स्वतन्त्रताको व्यवस्था उतैतिर हुँदैछ । बाहिर गम्ंभीर नहुनेहरू भित्र पसेपछि नाकका चालले गम्भीर होलान् भन्ने सोच सामयिक र व्यावहारिक छ । अहिले एउटा आदर्शको माग गरिएको छ, जसमा मान्छेहरूले केवल ‘फ्याओ- फ्याओ’ गरून् । त्यसो गर्दैनन् भने तिनले झम्के झोलको गिलास वा नगदनारायणको इच्छाअनुसार खटाइ-खटाइ प्रेम पस्किने तोरीफुले तिरिमिरिझ्याइँकी सुन्दरीलाई चुमून् ।

‘गंभीर हुनु’ भनेको यसै गर्नु हो । यसो गर्न नमान्ने केही ओठ र जिब्राहरूलाई ठेगान लाउन घरैमा भोटे ताल्चा ठोकिएको पनि छ । यसो गरेपछि तिनले नाकका चालले ‘गम्भीर’ नभई सुखै छैन । गम्भीर नभएर पो के गरून् तिनीहरू ? आजको युगमा आफ्नो सिकुवामा टुसुक्क बस्ने र आँगनमा घाम ताप्ने स्वतन्त्रता खोसिएपछि गम्भीर नभई तिनीहरूलाई धरै छैन । अहिले गम्भीर हुने मेहेरो चलेको छ तर, तपाईंलाई ‘गंभीर हुनु’ को अर्थ कुनै आधिकारिक शब्दकोशले बताउन सक्दैन । बरु गम्भीर हुनुको अर्थ मेरै निबन्धमा खोजिटोपले बेस हुन्छ ।

एउटा शब्दको खोलभित्र अर्कै शब्दको अर्थ हालिदिए पछि कसको के लाग्छ ? एउटा सज्जन नेताको कलात्मक पुत्लोभित्र अर्को एकजना हराम ज्यादा भाँडलाई हालेर जुलुसमा बोकेर हिंड्नु जस्तो हुन्छ । त्यसकारण, गम्भीर हुनुको अर्थ अब गम्भीर हुनु पटक्कै होइन; हृदयका कान थुन्नु र विवेकका आँखा थुन्नु हो । यति जाबो काम गर्न सक्नुभयो भने तपाईं पनि सजिलै गम्भीर हुन सक्नुहुन्छ । फेरि, गम्भीर हुने नै इच्छा हो भने तपाईंले किन आइतबार बारिरहनु पर्‍यो ?

०००
‘शब्द संयोजन’ ०६२, वैशाख-जेठ
‘शब्दका भ्वाङ’ (२०६४)

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
परदेशी

परदेशी

केशवराज पिँडाली
चिनी र नेता

चिनी र नेता

स्व. विष्णु नवीन
सफलताको ओखती

सफलताको ओखती

श्याम गोतामे
लेखनीका गुरु

लेखनीका गुरु

प्रल्हाद पोखरेल
कवि भूपी शेरचनको सम्झनामा

कवि भूपी शेरचनको सम्झनामा

खगेन्द्र नेउपाने