
काग करायो कि बाघ ?
युवाहरूबाट उनीहरूले सिकिसकेका थिए, तुरुन्तै जवाफ दिए- बाघ, बाघ, बाघ गरेर त हो नि बाघले कराउने ।

चुनाव सकियो, मतगणना भयो, भूपूयुवा र नवयुवा दुवै पुस्ताका कैयौँले जिते । सरकार बन्ने बेला भयो, मतदातालाई विजेताहरूले विजयभोज दिने क्रम सकियो । अबको पालो सरकारमा कुर्सी भागबन्डा लगाउने भोजभतेर सुरु भए ।
उही नेता कुनै वृद्ध, कुनै अवृद्ध, पार्टीमा दोहोरिए, जहाँबाट निम्ता आयो उतै सोहोरिए भन्ने कुरा पनि भयो । खास कुरा गाँसको मात्रै होइन, एकै सासमा तानिने झोलको आश पनि विशेष कुरा हो । कुरा हिजोअस्ति भर्खरै भएका सरकार निर्माण भोजको हो । पार्टी र नपार्टीका केही नेता भोजमा थिए, कोही खानमा त कोही पिउनमा मस्त ।
कुरा उठेको थियो, युवाले राम्रा काम गर्न थालेका छन्, पुरानाले तिनै युवालाई पछ्याऊँ, तिनीहरूबाट केही पाठ सिक्नुछ भन्ने । केही वृद्धलाई कुरा खुब घत लागेछ । जति नै खाँदा पिउँदा पनि कथन बिर्सेनन् । भोज खाएर युवा हिँड्न लागे, खानपिन सकेर वृद्धले पछ्याए । अँध्यारो निकै छिप्पिइसकेको थियो ।
कोही सरासर र कोही लरबर गर्दै हिँडेको हुललाई बाटाका पुलिसले देखे । नियालेर हेर्दा हाम्रै नेताहरू रहेछन् भनी बुझ्न गारो भएन ।
प्रहरीले सोधे- कहाँबाट आउनुभयो यति राति ।
सबैले भने- भोज खाएर ।
कसले खाएका र कसले पिएका भन्ने प्रहरीले चिन्यो । घरसम्म पुर्याइदिनु पो पर्छ कि भन्ने लागेर जाँच्न प्रहरीले
युवालाई सोध्यो- ल भन्नुहोस् त, काग कसरी कराउँछ ?
उनीहरूले जवाफ दिए- काग, काग, काग गरेर काग कराउँछ । लौ जानुहोस् त भन्यो प्रहरीले ।
उनीहरू हिँड्नै लाग्दा अर्का थरीलाई सोध्यो- ल भन्नुहोस् त, बाघ कसरी कराउँछ ?
युवाहरूबाट उनीहरूले सिकिसकेका थिए, तुरुन्तै जवाफ दिए- बाघ, बाघ, बाघ गरेर त हो नि बाघले कराउने । निकै बेरपछि होस आएछ र प्रहरीले उनलाई घरमा पुर्याएछ ।
०००
कपन, काठमाडौं