फित्काैली डटकमस्रष्टा जगदीश्वर पोखरेलका १५ वटा काव्यकृति एकैसाथ लोकार्पण
प्रमुख अतिथि डा. पोखरेलद्वारा एकैपटक लोकार्पण गरिएका काव्यकृति क्रमश १) पद्यमञ्जरी, २)पद्यहार, ३) शार्दूललालित्य, ४) अक्षराङ्कुर, ४) पद्यकुञ्ज, ५) पद्यमालती, ६) पद्यपल्लव, ७) पद्यमाला, ८) शब्दस्पर्श, ९) शब्दांश, १०) शब्दतरङ्ग, ११) भावमञ्जरी, १२) सुन्दर देश नेपाल, १३) सारङ्गीको धुन र, १५) पाउँदीका गीत रहेका छन् ।

काठमाडौं, २०८० मङ्सिर ३० । नेपाल प्रज्ञाप प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित लोकार्पण समारोहमा स्रष्टा जगदीश्वर पोखरेलका १५ वटा काव्यकृति एकैसाथ लोकार्पण गरियो ।
भाषाविद् डा.माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्य र प्रकाशक संस्था पेज टर्नरका अध्यक्ष कवि भूवनहरि सिग्देलको सभाध्यक्षतामा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको हो ।
स्रष्टा बलराम दाहालले कृतिकारको परिचय प्रस्तुत गरेपछि प्रमुख अतिथि डा. पोखरेलद्वारा एकैपटक लोकार्पण गरिएका काव्यकृति क्रमश १) पद्यमञ्जरी, २)पद्यहार, ३) शार्दूललालित्य, ४) अक्षराङ्कुर, ४) पद्यकुञ्ज, ५) पद्यमालती, ६) पद्यपल्लव, ७) पद्यमाला, ८) शब्दस्पर्श, ९) शब्दांश, १०) शब्दतरङ्ग, ११) भावमञ्जरी, १२) सुन्दर देश नेपाल, १३) सारङ्गीको धुन र, १५) पाउँदीका गीत रहेका छन् ।
लोकार् कृतिहरु मध्ये ७ वटा वटा कृतिको समीक्षात्मक टिप्पणी डा. जीवन अधिकारीले गर्नुभएको थियो भने ३ वटा कृतिको समीक्षात्मक टिप्पणी पुरुषोत्तम सिग्देलले, ३ वटा कृतिको समीक्षत्मक टिप्पणी नरनाथ लुइँटेलले र एउटा कृतिको समीक्षा हरि खनालले गर्नु भएको थियो । समीक्षकहरूले जगदीश्वर पोखरेलका कृतिका विलक्षण विशेषताहरू केलाउँदै उहाँलाई बधाइ ज्ञापन गर्द अब महाकाव्य सिर्जनातर्फ लाग्न आग्रह गरेका थिए । 
प्रमुख अतिथि डा. माधवप्रसाद पोखरेलले यी कविताकृतिमा अभिव्यञ्जित जगदीश्वरको सिप साधनाको प्रशंसा गर्दै अब कविताको आख्यानात्मक बृहत संरचनातर्फ केन्द्रित हुन जाँगर लगाउनु पर्दछ भन्नु भयो ।
कार्यक्रमका अध्यक्ष भूवनहरि सिग्देलले जगदीश्वर लोभलाग्दो साधनाले अझै उचाई प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनु भएको थियो ।
रसमय ढङ्गबाट स्रष्टा भवानी खतिवडाले सहजीकरण तथा सञ्चालन गर्नुभएकाे लाेकार्पण समाराेहमा साहित्यानुरागी, छन्दप्रेमी, लब्धप्रतिष्ठित सजर्कहरूकाे घनिभूत उपिस्थित रहेकाे थियाे ।
पछिल्लो समय छन्द साधनामा तल्लीन कवि पोखरेलले १ अक्षरदेखि ३० अक्षरसम्मका लामा छन्दसम्म अभ्यास गर्दै मौलिक कविता सिर्जना गरेका छन् । उनका यिनै साधना र सिर्जनाको उपज भएर १५ कृति एकैसाथ लोकार्पण भएका हुन् । ६० को दशकदेखि निरन्तर छन्द साधना र लेखनमा तल्लीन पोखरेलका यसअघि शार्दूलका पाइला, सुसाउँदो मस्र्याङ्दी, फूलसरिको जीवन छन्द संरचनाका ३ वटा कवितासङ्ग्र्रह प्रकाशित भइसकेका छन् ।
आज लोकार्पित कृति पेज टर्नर प्रा. लि, अनुपम सिर्जना प्रतिष्ठान र कर्मदा सिर्जना मञ्च नेपालले प्रकाशित गरेका हुन् । सबै कृतिको विक्रीवितरणको जिम्मा पेज टर्नरले लिएको छ । यी कृतिको डिजाइन तथा लेआउट सम्पादन हाउसले गरेको हो ।
कवि जगदीश्वरको साधना र सङ्घर्ष
आधुनिक सभ्यताको हावासम्म नचलेको युगमा लमजुङ जिल्लाको पाउँदीबजारमा किसान परिवारमा जन्मिएका कवि जगदीश्वर पोखरेललाई जीवनजन्य प्रवृत्तिमा लाग्न समयले बाटो देखायो । जिजीविषाका धामा सहज थिएनन् । बाल्यकाल गार्हस्थ्यका गोरखधन्दामा बित्यो । आवश्यकताले बोझ थप्दै गयो । जीवन सहज बाटोमा चल्दैन भन्ने बोध भयो । युवाकालमा प्रवेश गर्दै जागिर खाने सपना देखे तर पढाइमा ठूलो योग्यता थिएन । गाउँकै जनजागृति मिडिल स्कुल र वीरभक्ति माध्यमिक विद्यालयबाट छ कक्षासम्म पढे । त्यसपछि उनले २०२८ सालमा कष्टपूर्वक लोकसेवा आयोगको परीक्षा पास गरेर जागिर खाने अठोट गरे । हुलाकी पदको परीक्षा दिए । भाग्यले साथ दियो । सफल भए । हुलाकीको जागिर मिल्यो । २०३४ सालमा प्राइभेटबाट एसएलसी पनि उत्तीणर् गरे । २०३७ सालमा उनको पद महालेखा नियन्त्रक कार्यालयको सहलेखापालमा स्थापित भयो । त्यो जागिरको डोरीले काठमाडौँतिर तान्यो । त्यो सानो जागिरबाट काठमाडौँ बसाइ सम्भव थिएन । मनमा चस्का पस्यो, अतिरिक्त काम नगरी यहाँ बाँच्न सकिन्न ।
डेरामै तान राखेर परिवारलाई समेत कपडा बुन्न सिकाए । रातमा थोरै सुतेर आफू पनि त्यो तानमा व्यस्त रहे । कपडा बुन्ने सीपसँगै तेस्रो आँखा खुल्यो, साधारण लुगामात्र बुनेर हुन्न । पश्मिना कसरी बुन्ने ? त्यसको बजार कहाँ छ ? भन्नेतर्फ ध्यानमग्न रहे । नेपाली पश्मिनाको विश्व बजारमा धेरै माग छ भन्ने बुझेपछि त्यसमै तल्लीन रहे । त्यो व्यवसायले आर्थिकस्तर पनि केही उकासियो । सानै पदको जागिर थियो तैपनि त्यसलाई माया गरेर पेन्सन पाउने हदसम्म पूरा गरी साथमा बिएसम्मको अध्ययन पनि गरे । काठमाडौँको कलङ्कीमा घडेरी किने । घर बनाए । त्यो घरलाई कारखानामय बनाएर पश्मिना बुनी नै रहे । तीन छोरालाई पनि त्यही काममा निवृत्त गरे । कामजति छोराहरूलाई जिम्मा दिएर आफू सिर्जनाकर्ममा समय बिताउन लागे ।
उमेरले साठीको नेटो काट्न लागेपछि छन्दमा कविता लेख्ने धुन उनमा सवार भयो । साहित्यमा व्यस्त हुन थालेपछि व्यवसाय परिवारलाई जिम्मा लाए । यसरी हुलाकी, हल्करा, बहिदार, मुखिया, सहलेखापाल र स्वावलम्बी हुँदै साहित्याकाशमा समेत उज्ज्वल बनी चम्किन सफल भएका छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest






































