फित्काैली डटकमहामी बीच रहेनन् कलाकार हेम पाैडेल
काठमाडौंको बत्तीसपुतलीमा १९९७ सालमा जन्मेका पौडेलले प्रकृतिकै प्रेरणाबाट कला क्षेत्रमा लागेको थिए। उनले भेटमा भनेका थिए, ‘मैले दस वर्षको हुँदादेखि नै चित्र कोर्न थालेका हुँ ।’

काठमाडाैं, २०८० माघ १८ । वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पतालमा त्रियासी वर्षकाे उमेरमा निधन भएको हो।
उनका एक छोरा र एक छोरी छन्। उनका जीवनसँगिनी गंगा पौडेल नेपाली साहित्यका विशिष्ट साधक हुन्। पाैड्यालकाे शरीर शिक्षण अस्पताल महाराजगञ्जलाई नै दान गरिएकाे छ । उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली अर्पण गर्न माघ १८ गते बिहीबार विहान ९ बजेदेखि ९.४५ सम्म सहिद गङ्गालाल हस्पिटलकाे प्राङ्गणमामा राखिएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु,कलाकारहरु,साहित्यकारहरु,परिवारजनहरुले माल्यार्पण र पुष्पार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरे पश्चात वहाँले शरीर दान गर्नुभएकोले पशुपति नलगी टिचिङ अस्पताल लगेर हस्तान्तरण गरिएको थियो ।
नेपालका चराहरु, द बर्ड्स अफ गड,द हिमालयन बर्ड्स, मेमोरी कार्ड प्रकाशित छन् । अविरल कला यात्रामा उनको जीवनी छापिएको छ । धेरै ठाउँमा चित्रकला प्रदर्शनी गरिसकेका पौडेलले आउदो राम नवमीको दिन आफ्नो चौरासी पुजा चित्रकला प्रदर्शनी र स्थलगत कविता लेखन प्रतियोगिता गर्ने तयारी गरिरहेका थिए ।
मुलुकभित्रका ६ सयभन्दा बढी चराको चित्र बनाइसकेका कलाकार हेम पौडेल चित्रकलामै समर्पित थिए। उनी चित्रकलामार्फत् वातावरण संरक्षणको जनचेतना फैलाउने अभियन्ता थिए। चराका आकृति र तिनका बासस्थानलाई चित्रमा उतारेर संरक्षणको सन्देश बाँड्दै आएका थिए।
बढ्दो औद्योगीकरण, शहरीकरण, ग्लोबल वार्निङ र भौतिक उन्नतिको होडमा मानिसले वातावरण विनाश गरिरहेका बेला उनले चित्रमार्फत् संरक्षणको सन्देश दिँदै आएका थिए ।
उनले नेपालमा पाइने ६ सयभन्दा बढी प्रजातिका चराका चित्र बनाएका थिए। उनका चित्र चरासम्बन्धी पुस्तकमा सङगृहीत छन्। उनले स्वदेश र विदेशमा समेत कला प्रदर्शनी गरेका थिए।
काठमाडौंको बत्तीसपुतलीमा १९९७ सालमा जन्मेका पौडेलले प्रकृतिकै प्रेरणाबाट कला क्षेत्रमा लागेको थिए। उनले भेटमा भनेका थिए, ‘मैले दस वर्षको हुँदादेखि नै चित्र कोर्न थालेका हुँ ।’
समयसँगै राम्रा कलाकार बनेका थिए पौडेल। उनको कला विदेशसम्म पुगेको छ। उनले घरेलु शिल्पकला उद्योग त्रिपुरेश्वरमा जर्मन प्रशिक्षकबाट २०१६ देखि २०१९ सम्म तीन वर्ष कमर्सियल आर्ट कोर्ष प्रशिक्षण लिने मौका पाएका थिए। त्यतिबेला उनीहरूलाई भत्ताको पनि व्यवस्था गरिएको थियो।
लैनसिंह वाङ्देल कुलपति भएका बेला तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा उनले दुई वर्ष कला जागिरेको अनुभव बटुलेका थिए। त्यही बेला नेपालका चराहरूको विषयमा २५ वर्ष अनुसन्धान गरेका विशेषज्ञ रोबर्ट एल फ्लेमिङ सिनियर र रोबर्ट एल फ्लेमिङ जुनियरले पुस्तक प्रकाशन गर्न वाङ्देलसित कलाकारका लागि सम्पर्क गरेका थिए। त्यतिबेलै उनसँगै हिरालाल डंगोल छानिएका थिए।
दुवैले चार वर्ष लगाएर कालिज, डाँफे, मयुर, मुनाल, लाम्पछ्रेजस्ता ६ सयभन्दा बढी प्रजातिका चरा बनाएका थिए। ती चराहरू ‘बर्डस् अफ नेपाल’ पुस्तकमा प्रकाशित भयो। अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत, फ्रान्स, स्वीजरल्याण्ड, साउदी अरब जस्ता विश्वका ठूल्ठूला अन्तर्राष्ट्रिय पुस्तकालयहरूमा ‘बर्डस् अफ नेपाल’ पुग्यो। उनलाई त्यसैका चित्रहरू हेरेर विभिन्न देशबाट चराका चित्रहरूको ‘अर्डर’ आउन थाल्यो। उनी हुलाकमार्फत् चित्र पठाउँथे र उनलाई उताबाट नेपाल बैंकमा पैसा पठाउने गर्थे।
प्रज्ञाप्रतिष्ठानले २०३९ सालमा ‘नेपालका चराहरू’ कृति प्रकाशित गरेकाे थियाे। उनी २०६५ सालदेखि ‘वातावरण र चराहरू’ विषयमा वातावरण जोगाउन जनचेतनामूलक काम गर्दै आएका थिए।
२०३१ सालमा सर्वप्रथम दार्जिलिङमा उनकाे एकल चित्रकला प्रदर्शनी भएकाे थियाे। उनले काठमाडौं, चितवन, पोखरा, विराटनगर, भोजपुर जस्ता ठाउँमा विभिन्न समयमा एकल चित्रकला प्रदर्शनी गरेका थिए।
कवितालेखनतर्फ पनि रूचि रहेका पाैडेलको २०६२ सालमा कवितासंग्रह ‘शान्तिको आलोक’ पनि प्रकाशित भएकाे छ । उनलाई धर्मपत्नी साहित्यकार गंगा पौडेल कर्माचार्यले निरन्तर साथ दिइरहेकी थिइन्। उनकै सुझावमा पाैडेलले नेपाली कला विकासका लागि योगदान पुर्याउने उद्देश्यले २०६५ मा ‘हेमगंगा युवा कला प्रतिभा पुरस्कार’ स्थापना गरेका थिए।
आफ्नै निवासमा ‘हेम आर्ट ग्यालरी’को स्थापना गरेर उनी एकसुर चराहरूकै संसारमा हराइरहेका थिए। दृढ इच्छा शक्ति र निरन्तर प्रयास भए सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण बनेका पाैडेल विभिन्न ठाउँमा उत्कृष्ट कला प्रदर्शनी गरेका थिए। तर, कलापारखीहरू उनको योगदान अनुसारको सम्मान नभएको बताउँछन्। उनको बारेमा मुकेश मल्लले ‘हेम पौडेलको अविरल कलायात्रा’ भन्ने पुस्तक लेखेका छन्।
०००
– निबन्ध आचार्यद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































