चिरञ्जीवी दाहालझुट बोल्न छुट
खेलाडी, पत्रकार, सम्पादक, कलाकार, पण्डित, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले झुट नबोलेर सबै सत्य मात्र बोल्न थाले भने के चाल होला ? सम्झँदा पनि जिउ सिरिङ्ग हुन्छ ।

चिरञ्जीवी दाहाल :
महाभारतको युद्धमा गुरु द्रोणले भकाभक आक्रमण गरेर पाण्डव सेनालाई ढाल्न लागे । यिनलाई मत्थर गर्न कसैले पनि नसक्ने बुझेपछि कृष्णको सल्लाहमा कहिले पनि झुट नबोल्ने सत्यवादी युधिष्ठिरलाई झुट बोल्ने छुट दिइयो । पाञ्चजन्य शंखको ध्वनि बिच सत्यवादी युधिष्ठिरले समेत झुटो बोले –
“नरोवा कुंजरोवा अश्वत्थामा हतो हतः”
गुरु द्रोणलाई लाग्यो हो न हो, आफ्नो पुत्र अश्वत्थामा हताहत भयो । यति सुनेपछि उनी बलविहीन भए । उनको हातबाट अस्त्र भुईंमा खस्यो । त्यसै मौकामा उनको हत्या गरियो । यही झुटले पाण्डवहरूलाई फलिफाप भयो । महाभारतको यो निकै प्रचलित कहानी हो । यसबाट के बुझिन्छ भने झुटो बोल्ने कुरा त्यस समय पनि प्रचलनमा थियो । त्यसैले आफ्नो स्वार्थ पुरा गर्न मजाले झुटो बोल्न सक्नुपर्छ । झुट बोल्न कत्ति पनि लाज मान्नु पर्दैन र डराउनु पनि पर्दैन ।
केही कुराहरू यस्ता हुन्छन्, जुन कुरा गर्दा जसले पनि सजिलैसँग झुटो बोल्नै पर्ने हुन्छ । कसैलाई लाग्ला फन्टुस कुरा किन गरेको होला ! कहिँ नपाएर झुटो बोल्नुपर्छ भनेर अर्ति उपदेश दिने यो कुन लालबुझक्कड हो ? होइन साँच्चै हो, भन्न खोजिएको कुरा त्यै हो । कुनै बेला झुटो बोल्दा व्यक्तिलाई मात्र होइन, देशलाई समेत फाइदा पुग्छ । उदाहरणका लागि साँझपख कुनै एउटा नेताले अर्को नेतालाई फोन गर्दै भन्छ । “हैन हो नेता ज्यू, दुई चार क्विन्टल सुन पास गर्नु पर्यो । अन्यथा अर्को चुनावमा साह्रो गाह्रो पो पर्ला जस्तो छ त !” अर्को नेताले झुट बोल्दै भन्यो । “भो भो पोहोरकै सुन छ घरमा । यसपटक नल्याउने होला । जाबो दुई चार क्विन्टल सुन भित्र्यायो हल्ला भने मेट्रिक टनको हुन्छ ।”
अब भएन सबैलाई फाइदा ? कोही जेल जान पनि परेन । राष्ट्रले तस्करीको चोट पनि सहन परेन । सत्य बोलेको भए तुरुन्त सरसल्लाह हुन्थ्यो । सजिलै सुन तस्करी हुन सक्थ्यो । देशलाई पनि घाटा हुने, उनीहरू पनि समातिन सक्थे, नसमातिने हो भने पनि बजार हल्ला पक्कै चल्थ्यो । झुटो बोल्दा सितिमिति नोक्सान कसैलाई पनि हुँदैन ।
तपाईंं कुनै आफन्तको घरमा जानुहुन्छ, जसको आर्थिक स्थिति, तपाईंंको नजरमा अत्यन्त कमजोर छ । त्यसबेला तपाईंंलाई खाना खान आग्रह गरिन्छ, भोक किन लागेको नहोस्, त्यसबेला तपाईंंले यी शब्दहरूको प्रयोग गरेर झुटो बोल्नै पर्ने हुन्छ । “आफूलाई पटक्कै भोक लागेको छैन् । म भर्खर घरमा खाना खाएर आएको ।” यस्तो अवस्थामा झुट बोल्न हिचकिचाउनु हुँदैन । यस्तो अवस्थामा झुट बोल्नुपर्छ भनेर त शास्त्रमा पनि उल्लेख गरिएको छ । डाक्टरले भने रोगीको हौसला बढाउन पनि झुट बोल्ने छुट पाउने गरेका छन् । यो झुट पनि बोल्नै पर्ने झुट अन्तर्गतको झुट हो । यस किसिमको झुटो बोल्दा पाप त परै जाओस् उल्टै धर्म कमाइन्छ ।
सायद मनुष्य मात्र एउटा त्यस्तो प्राणी हो, संसारमा भएका लाखौं प्राणी मध्ये उसले मात्र झुटो बोल्न सक्छ । यसैले झुटो बोल्नुलाई अन्यथा मान्नु हुँदैन । कसैले गर्न नसक्ने कुरा, गर्न सक्नेले गर्न पाउनुपर्छ । गधाले झुटो बोल्छु भनेर बोल्न सक्छ र ? झुटो बोल्ने भनेकै मान्छेले मात्र हो । मान्छे भएको प्रमाणित गर्न पनि मैले चाहिँ मजाले झुट बोल्ने गरेको छु । कुरो किन लुकाउनु पर्यो !
धर्तीमा जन्म लिएका अनेकौं प्राणी मध्य मान्छेले पाएको र ईश्वरले दिएको यो एउटा महत्वपूर्ण वरदान हो । तसर्थ पाएको वरदानको सदुपयोग गर्नु मान्छेको कर्तव्य पनि हुन आउँछ । त्यसैले मान्छेलाई झुट बोल्न छुट दिइएको छ । त्यसैले जति झुट बोल्न सक्यो त्यति फाइदा हुने गरेको छ ।
भनिन्छ, हरेक प्राणीले चौरासी लाख जुनी जन्म लिनु पर्दछ । जसमध्ये त्रियासी लाख उनान्सय हजार नौ सय उनान्सय पटकको जुनीमा झुट बोल्न छुट दिइएको छैन र मिल्दैन पनि । अनि यो झुटो बोल्न मिल्ने एक मात्र मानव जुनी पाएको बेला यति ठूलो अवसर किन गुमाउने ? झुटो बोल्ने गर्नु भएको छैन भने आजैबाट झुटो बोल्न शुरु गरिहाल्नुस् । निकै कम मान्छेलाई मात्र थाहा छैन होला, झुटो बोल्नुपर्छ भन्ने कुरा, त्यसैले केही थोरै अज्ञानीहरू झुटो बोल्न पनि मरे झैँ गर्ने गर्छन् । खुशीको कुरा अधिकांश मान्छेहरू भने झुटो बोल्न माहिर मानिन्छन् । सङ्ख्यात्मक हिसाबमा झुटो बोल्नुपर्छ भन्नेहरूको जमात ठूलो भएकोले गौरव गर्ने ठाउँ भने प्रशस्त छ, त्यसैले खुशी लाग्छ । अधिकांश मान्छेहरूले यो वरदानको मजाले सदुपयोग गरिरहेका छन् ।
कवि लेखकको अपेक्षा हुन्छ सार्वजनिक जीवनमा रहेका सबै मनुष्यहरूले सत्य बोल्नुपर्छ । सत्य व्यवहार गर्नुपर्छ । त्यसैले सत्य-निष्ठाको विषयमा महाकाव्यदेखि लिएर लोक कथा, कथा र कविता लेख्दा पनि झुटो नबोल्नु भन्ने आशयका सिर्जनाहरू लेखिने गरेका छन् । तर यी कवि लेखकहरूलाई याद हुनु पर्थ्यो, कसैको व्यक्तिगत अधिकार हनन् हुने गरि यसरी झुटो नबोल्नु भन्दै आदेशात्मक शैलीमा यसरी लेख्न नहुने थियो । उनीहरू आफूले भने जति झुटो लेखे पनि हुने, पाठकले चाहिँ सत्य बोल्नु पर्ने ? यो त सोह्रै आना बेइमानी भएन र भन्या ?
बरा एउटा राजनीतिज्ञले झुटो नबोल्ने हो भने ऊ राजनीतिज्ञ नै मानिँदैन । कमसेकम ९० प्रतिशत झुट बोल्न नसक्ने मान्छेले राजनीति गर्छु, नेता बन्छु भनेर कल्पना नगरे पनि हुन्छ । मुलुकमा “झिङ्गापुरको जग बसालेर सिङ्गापुर बनाउँछु” पनि भन्न सकिन्न भने के नेता बन्नु । नेता शब्दको नै इज्जत जाला भन्ने डर ! पाएको अधिकारको सदुपयोग गर्दै झुटो बोल्न त सक्नु पर्यो नि ! झुटो बोल्दा पाप लाग्दैन, जतिसक्यो बोल्ने त झुटै हो । यो कुरा सर्वसाधारण जनतालाई भन्दा नेतागणहरूलाई राम्रोसँग थाहा छ । सायद नेता बन्ने बित्तिकै उनीहरूलाई यस विषयमा प्रशिक्षण दिइने गरेको हुनुपर्छ । नत्र नेताको पगरी नगुथुञ्जेल देउताको गाई जस्तो मान्छे जब नेता हुन्छन्, झुटो बोल्न सुरु गरिहाल्छन् ।
प्रेम गर्दा बोल्ने झुटले पाप होइन फलिफाप हुन्छ, भन्ने कुरा त प्रेम गरिसकेर थाकिसकेकाहरूलाई अवगतै हुनुपर्छ । बिहे गर्दा झुट नबोली सुखै पाइन्न । अर्काको भैंसी गोठ र खेत आफ्नै हो भनेर बिहे गर्नेहरू अझै पनि केही त बाँकी नै होलान् । समय फेरियो, उबेला खेत, गोठ आफ्नै भनेर ढाँट्नेहरूका छोरा नातिले अचेल नपाएको पि आर पाएको भनेर ढाँट्छन्, फरक यतिमात्र हो । तैपनि झुटो बोल्न त छोडेका छैनन् ।
बरू मान्छेले दिनमा कतिसम्म झुट बोल्नु उचित हुन्छ भन्नेतिर बहस गर्नु जाती होला । सकिन्छ, बोलेको सबै झुटो होस् । नभए पनि आफ्नो औकात अनुसार ९० प्रतिशत, ८० प्रतिशत त झुट बोल्नै पर्ने हुन्छ । पचास प्रतिशतसम्म झुट बोल्ने मान्छेलाई सामान्य श्रेणीमा राख्नुपर्छ । यसभन्दा तल झुट बोल्ने मान्छेले सोझै वरदानको दुरुपयोग गरेको मान्न सकिन्छ । त्यसैले लाग्छ यस्ता मान्छेको यो धर्तीमा काम छैन । यिनै हुन धर्तीका बोझ भनेका ।
व्यापार गर्नुछ भने ८० प्रतिशतको हाराहारीमा झुट नबोल्ने हो भने बित्थामा किन व्यापार गर्न कस्सिनु ? त्यस्ताले व्यापार स्यापार नगरेकै जाति । खेलाडी, पत्रकार, सम्पादक, कलाकार, पण्डित, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले झुट नबोलेर सबै सत्य मात्र बोल्न थाले भने के चाल होला ? सम्झँदा पनि जिउ सिरिङ्ग हुन्छ । धन्न सबैले झुटो बोल्ने गरेका छन् र त यो सृष्टि चलिरहेको छ । होइन भने उहिल्यै प्रलय भइसकेको हुन्थ्यो ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































