नवराज न्याैपाने माैनआआफ्नै गन्थन
खान पाए नेपालीले अलकत्रा खान्छ मनको धोको पूरा गर्न विदेशीलाई तान्छ कुर्ची पाए भुसुनाले सिंह हुँ झैँ ठान्छ ढुकुटीमा चर्न पाए कसको के पो जान्छ । सेवा के हो व्यापार के हो एकछत्तै भयो गरिब मान्छे जता पनि रित्तै रित्तै भयो ।

नवराज न्यौपाने ‘मौन’ :
सानो छँदा अकालैमा मर्छु जस्तो लाग्थ्यो 
हुर्केपछि काम नौलो गर्छु जस्तो लाग्थ्यो
विदेशमा श्रम बेची बितिगयो जुनी
अझै पनि विदेश जा जा भन्छिन् मेरी उनी ।
खेतीपाती कल्ले गरोस् युग अर्कै भयो
रित्तो गोजी लिई गाउँमा बस्न झर्कै भयो
धर्मशास्त्र भन्दा ठूलो अर्थशास्त्र रै’छ
देशमा बसी केही गर्छु भन्नू मात्र रै’छ ।
चालचलन अर्कै भयो पैसा भयो ठूलो
बेसाहाले रोग ल्यायो बल्न छाड्यो चूल्हो
बाबाआमा पिरोलिन्छन् सम्झी छोरा नाति
योभन्दा त जमाना त हाम्रै थियो जाती ।
जुनी हाम्रो बितिगयो भाषण सुनी सुनी
पठाएको पठायै छौं नेता चुनी चुनी
पद्धति नै बसालेनन् दोष कल्लाई दिनु
गिद्ध उडी आकाशमा खोजेका छन् सिनु ।
सबै गर्छन् आफ्नो चिन्ता देशको चिन्ता छैन
खर्बाैँ ऋण लागे पनि तिर्ने कहिल्यै हैन
वीर सम्झी शिर उँचो राखे पनि यहाँ
हातमुख जोर्नलाई नगई हुन्न त्यहाँ ।
आत्मनिर्भर बन्न सके गुहार चाहिँदैन
इमान्दार बन्यौँ भने सुको खाइँदैन
देश राम्रो बनाउनु छ हातगोडा घोटी
पद मात्रै ताक्ने हैन पर्खाैँ एकचोटी ।
नेपाल हेर्न आएका छन् विदेशीका ताँती
हामी गर्छौं काम होइन कुरा नानाभाँती
नेपालमा प्रजातन्त्र धेरैचोटी आयो
उफ्रिएर जनताले नारा पनि लायो ।
खान पाए नेपालीले अलकत्रा खान्छ
मनको धोको पूरा गर्न विदेशीलाई तान्छ
कुर्ची पाए भुसुनाले सिंह हुँ झैँ ठान्छ
ढुकुटीमा चर्न पाए कसको के पो जान्छ ।
सेवा के हो व्यापार के हो एकछत्तै भयो
गरिब मान्छे जता पनि रित्तै रित्तै भयो
चरेश खाए बाँच्ला बरु हरेश खाए मर्छ
जहाँ गए नि सबै कुरा नेपालीले गर्छ ।
०००
चुँदी, तनहुँ
Subscribe
Login
0 Comments
Oldest







































