नवराज न्याैपाने माैनपछुताे
'सुन केटीहरू ! सरले अहिलेसम्म बिहे गरेकाे रहेनछ । गाउँ कस्ताे भयाे, नानीहरू कत्रा भए भनेर हेर्न आएकाे रे ! तिमीहरू साेझाेलाई जिस्क्याउँछाै, उडाउँछाै । अनि बाठाेले तिमीहरूलाई फकाउँछ र छक्काउँछ पनि !'

नवराज न्याैपाने ‘माैन’ :
‘याे गाउँलाई बिर्सन नसकेर हाम्राे इन्जिनियर सर फेरि आएछ ।’ घट्टमा पिठाे पिँध्न आएका दुइटी बुढी आइमाईहरू खासखुस गर्न थाले ।
‘हाे, आमा ! मलाई याे गाउँकाे औधी माया छ । मैले बनाएका गुम्बा,स्कुल, खानेपानी, पुल र बिजुली केकस्ता भए भनेर हेर्न अाएकाे हुँ ।’
‘गाउँका तरुनोहरूकाे याद त आउँदैन ? सरलाई जिस्काएर हैरान पार्थे नि!’ एउटीले हाँस्दै ठट्टा गरिन् ।
‘सीधासादा मान्छेलाई कसले पाे मन पराउँछ र ? मैले त अहिलेसम्म बिहे गरेकाे छैन ।’ मैले छाेटाे र सीधा जवाफ दिएँ ।
‘यहाँ त गाउँमा आएका मास्टर, कर्मचारी र पुलिसले कति केटीलाई पेट बाेकाएर भागे । अनि, विदेश गएका केटीले पनि उतैकाे मान्छेकाे पेट बाेकेर आएका छन् । यहाँ त बिना बाबुका सन्तान धेरै छन् । सर भने एउटाकाे बाबू हुन पनि जानेकाे रहेनछ ।’ दुवैजना मुख छाेपेर हाँस्न थाले ।
‘अनि, सम्देनकाे हालखबर के छ नि ?’मैले कुरा माेड्ने जमर्को गरेँ ।
‘म सम्देनकाे आमा हुँ । मैले इन्जिनियर सरसँग बिहे गर्छेस् त भनेर साेध्दा त्यस्ताे लाटाेसाेझाे मान्छेसँग पनि काेही बिहे गर्छ ? भनी । पछि पाेलियाे थाेपा खुवाउन आएकाे डाक्टरले पेट बाेकाएछ ।’
‘अनि, बिहे गरेन त ?’ मैले जिज्ञासा पाेखेँ ।
‘कहाँ बिहे गर्नु ? बच्चा मेराे हाे भन्ने के प्रमाण छ ? अरूकाे पनि हुन सक्छ भनेर पछि हट्याे । अनि, गाउँले भेला भएर पैतीस हजार तिर्न लगाए । अनि, सरुवा भएर अन्तै गयाे ।’
‘अचेल, के गर्छिन् त सम्देन ?’ मैले उत्सुकता पाेखेँ ।
‘अनि, छाेरी म हेर्छु, तँ विदेश जा भनेर कुवेत पठाएँ । कुवेत बस्दा चार वर्षमा जम्मा पचास हजार पठाई ।’
उनले दुखेसाे पाेखिन् ।
‘जम्मा त्यत्ति रकम ?’ मैले बीचैमा साेधेँ ।
‘कुवेतमा पनि एउटा पहाडे नेपाली केटासँग लभ परेछ । म बिहे गर्छु भनेर कमाइ उसैले राखेछ । काठमाडौं आएपछि मेरा श्रीमती र बालबच्चा छन् । म मेराे घर जान्छु, तँ तेराे घर जा भनेर जम्मा ३० हजार दिएछ ।’
‘पुलिसलाई उजुर गर्दा पनि प्रमाण नभएकाे भनेर केही गरेनछ । अनि, अब विदेश जान्न, यहीँ हाेटेल खाेलेर बस्छु भनेकी छ ।’ चुराेट तान्दै बुढीले भनिन् ।
यत्तिकैमा दाउरा लिन गएका सम्देन र अरू केटीहरू आइपुगे ।
‘सुन केटीहरू ! सरले अहिलेसम्म बिहे गरेकाे रहेनछ । गाउँ कस्ताे भयाे, नानीहरू कत्रा भए भनेर हेर्न आएकाे रे ! तिमीहरू साेझाेलाई जिस्क्याउँछाै, उडाउँछाै । अनि बाठाेले तिमीहरूलाई फकाउँछ र छक्काउँछ पनि !’ अर्की बुढीले पिठाे उठाउँदै भनिन् ।
सम्देन राेएपछि अरू सबै रून थाले ।
०००
थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































