साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ लेखक गीता रेग्मीलाई अर्पण

अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले अर्पण गर्दै आएको ७५ हजार राशिको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ लेखक गीता रेग्मीलाई अर्पण गरिएको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८० चैत १५ । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले अर्पण गर्दै आएको ७५ हजार राशिको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ लेखक गीता रेग्मीलाई अर्पण गरिएको छ ।

काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा बुधबार आयोजित एक विशेष समारोहबीच ‘प्रशान्तको तीरैतीर’ नियात्रासंग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई पुरस्कार अर्पण गरेको हो । रेग्मीको ‘प्रशान्तको तीरैतीर’ २०७८ सालमा प्रकाशन भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्यले नियात्रा लेखनमा निरन्तर क्रियाशील रहेकाले गीता रेग्मीलाई यो पुरस्कार अर्पण गरिएको जनाइन् । ‘कुनै पनि विधामा निरन्तर क्रियाशील रहने स्रष्टा एवम् लेखकलाई यो पुरस्कार दिने गरिएको छ,’ उनले भनिन् । पछिल्लो समय नियात्रा विधामा पनि धेरै पुस्तक आइरहे पनि तुलनात्मक रुपमा नाटक विधाका लेखक नै कम भएको उनले बताइन् । त्यसमा पनि नारी लेखक अत्यन्तै कम भएको आचार्यको भनाइ छ ।

कुनै पनि लेखकले निरन्तर एउटै विधामा कलम चलाइरहनु ठूलो उपलब्धि रहेको र त्यसमाथि उत्कृष्ट लेख्नु झनै महत्त्वपूर्ण रहेको प्रतिष्ठानका कोषाध्यक्ष एवम् लेखक गोपी सापकोटाले बताए । ‘एकातिर हामीले एउटै विधामा लामो समयसम्म समर्पित भएर लेखिरहेको व्यक्तिलाई पुरस्कार अर्पण गरेका हौं,’ उनले भने, ‘अर्काेतिर गीताजीको नियात्राकृति ‘प्रशान्तको तीरैतीर’ अब्बल छ । रेग्मीलाई पुरस्कृत गर्न पाएकामा संस्था नै गौरवान्वित भएको मैले महसुस गरेको छु ।’

कार्यक्रममा समीक्षक हेम भण्डारीले नियात्रा मात्र नभएर कविता, कथा र उपन्यास लेखनमा पनि गीता रेग्मी सक्रिय रहेको जनाए । नियात्राकृति ‘प्रशान्तको तीरैतीर’ काठमाडौँबाट सुरु भएर काठमाडौँमै आएर टुंगिएको भए पनि अस्ट्रेलियाका विविध घटना र सन्दर्भ धेरै रहेको भण्डारीले बताए । पुस्तकमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, विदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रुपमा उठान गरिएको उनको भनाइ छ ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व गीता रेग्मीले यति महत्त्वपूर्ण पुरस्कारका लागि आफूलाई योग्य देखेकामा अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतलाई धन्यवाद व्यक्त गरिन् । पुरस्कारले आफूमा चुनौती थपिदिएको र त्यसको जिम्मेवारी आफूले वहन गर्न सकुँला, नसकुँला, त्यो चुनौती र दोधारपूर्ण रहेको रेग्मीको भनाइ थियो ।

प्रतिष्ठानले सन् २०१३ मा तत्कालीन सांसद शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासद्सम्म’ कृतिका लागि यो पुरस्कार अर्पण गरेको थियो । सन् २०१५ मा ‘युवा पत्रकार’ का रूपमा समाजमा पुर्याएको योगदानका लागि नारायण अमृत र लेनिन बञ्जाडेलाई, सन् २०१६ मा ‘करोडौं कस्तूरी’ का लागि लेखक अमर न्यौपानेलाई र सन् २०१९ मा अंग्रेजी कृति ‘गोर्खा’का लागि कैलाश लिम्बूलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

रेग्मीका ‘परिचय’ (कथासंग्रह, २०६५), ‘पुस्तान्तर’ (संयुक्त कथासंग्रह, २०६६), ‘ज्योतिका युगीन स्वरहरु (संयुक्त कवितासंग्रह, २०६७), ‘पश्चिमाहरुको देशमा’ नियात्रासंग्रह २०६९), ‘पत्थरैपत्थर’ (नियात्रासंग्रह, २०७४) र ‘प्रशान्तको तीरैतीर’(नियात्रासंग्रह, २०७८) प्रकाशित छन् ।

प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य र महासचिवका रुपमा जयालक्ष्मी राई छन् । प्रतिष्ठान सन् २०१२ मा बेलायतमा स्थापना भएको हो । यसले विभिन्न साहित्यिक कार्यक्रमका अतिरिक्त विभिन्न विधामा पुरस्कार र सम्मान अर्पण गर्दै आएको छ ।

०००
स्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x