फित्काैली डटकममनोहरा साहित्य समाजको ९१औँ शृङ्खला सम्पन्न
अध्यक्ष डिलीराज अर्यालको सभापतित्व, प्राध्यापक डा केदार न्यौपानेको प्रमुख आतिथ्य तथा व्यङ्ग्यकवि आरसी रिजालको विशेष आथित्यमा सम्पन्न उक्त कार्यक्रम करिब ३ घण्टा अभिछिन्न सञ्चालन चलेकाे र करिब ३० जना स्रष्टा सर्जकले रचना वाचन गर्नुभएको थियो।

काठमाडाैं, २०८१ श्रावण १२ । मनोहरा साहित्य समाजले मिति शनिबार आफ्नो ९१औँ मासिक रचनावाचन शृङ्खला सम्पन्न गरेको छ।
समाजका अध्यक्ष डिलीराज अर्यालको सभापतित्व, प्राध्यापक डा केदार न्यौपानेको प्रमुख आतिथ्य तथा व्यङ्ग्यकवि आरसी रिजाल को विशेष आथित्यमा सम्पन्न उक्त कार्यक्रम समाजका सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको थियो ।
करिब ३ घण्टा अभिछिन्न सञ्चालन भएको उक्त कार्यक्रममा करिब ३० जना स्रष्टा सर्जकले आफ्ना रचना वाचन गर्नुभएको थियो। करिब ३५ ४० जना साहित्य सर्जक तथा सभ्य श्रोताहरूको उपस्थितिमा गुणात्मक रूपमा भव्य तथा सुसभ्य समापन भयो।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सभापति डिलीराज अर्यालले उपस्थितलाई स्वागत गर्दै रचनावाचन श्रृङ्खलाको प्रारम्भ गर्नुभयो। तत्पश्चात् क्रमशः अप्सरा पोखरेलले सामयिक दुईवटा मुक्तक, शालिकराम दाहालले गीतिलयमा गणतन्त्र शीर्षकको कविता, नुरदेव खनालले कठै हाम्रो राष्ट्रियता शीर्षकमा कविता र भावना न्यौपानेले वृद्धावस्थाको पीडा शीर्षकमा वृद्धवृद्धाप्रति समर्पित आफ्नो सिर्जना सुनाउनुभएको थियो।
त्यसैगरी चेवन बस्नेत ठूलाघरेले झुन्डिएको कोट, केशव ज्ञवाली आगतले एकता र औंलाहरू शीर्षकमा गद्यलयात्मक कवितावाचन गर्नुभएको थियो। कवि तथा गीतकार विनन्द वैद्यले संस्थालाई आफ्नो गीति संग्रह उपहार दिँदै हारेको कर्म शीर्षकमा गीत प्रस्तुत गर्नुका साथै लघुकथा समेत वाचन गर्नुभयो।
व्यङ्ग्यकवि डिल्लीप्रसाद मूलतिहुनले टुँडिखेल शीर्षकमा खुल्लामञ्च र आसपासका पार्कहरूमा देखिने विविध विषय प्रसङ्गमा व्यङ्गमूलक कविता प्रस्तुत गर्नुभयो। कवि ओम आचार्यले उपजाति छन्दको लय प्रयोग गरी सत्तालिप्साकाे विषय समावेश गर्दै कुशासन शीर्षकको कविता वाचन गर्नुभएको थियो।
त्यसैगरी रामशरण न्यौपानेले सुसेलीबाट सभालाई सम्बोधन गर्दै शार्दूलविक्रीडित छन्दको लयमा फर्केर आअाे घर शीर्षकको कविता वाचन गर्नुभयो। यस कविताले युवापुस्ताको विदेश पलायनलाई कथ्य बनाएको थियो। बुढ्यौलीका विषयमा कलम चलाउनुहुने कवि दिनानाथ पोखरेलले पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने भन्ने समस्यामा वृद्धवृद्धाप्रति समर्पित भावको कविता प्रस्तुत गर्नुभएको थियो।
विजया बस्नेतले जो सक्छ लुट्दै गयो शीर्षकमा लयबद्ध सुन्दर कविता सिर्जना पस्कनुभएको थियो। सुमन पुडासैनी मित्रले लयात्मक गजल वाचन गरेपश्चात् देवेन्द्रनाथ शर्माले कौसीखेती शीर्षकमा कृषि प्रविधिसँग सम्बन्धित कथ्यमा कविता सुनाउनु भएको थियो। कविराज घिमिरेले वृद्धवृद्धाकै कथ्यमा संरक्षित आफ्नो महाकाव्यबाट नवमदिरा छन्दका केही श्लोक काव्यंश वाचन गर्नुभएको थियो।
कवि महेश्वर खनालले चिसो सडकका गरिब शीर्षकमा मन्दाक्रान्ता छन्दको लयमा सुन्दर कविता वाचन गर्नुभयो। मुक्तककार प्रकाश कुइँकेलले विविध विषय र बान्कीका पाँचवटा मुक्तक प्रस्तुत गर्नुभयो। सञ्चारकर्मी चन्द्रमादेन आन्छनले गद्यलयमा आफ्नो सुन्दर कविता प्रस्तुत गरेपश्चात् राजेन्द्रकुमार वज्राचार्यले शुक्ल यजुर्वेदका १२ वटा ऋचाको नेपाली भावानुवाद अनुष्टुप छन्दको लयमा प्रस्तुत गर्नुभयो।
कवि तोयानाथ सुवेदीले सुन्दर गजल प्रस्तुत गर्नुभयो। गजलमा आरु र दारुका प्रसङ्ग कलात्मक ढंगले आएका थिए। कवि अशोककुमार लामिछानेले हार्दिक सुझाव शीर्षकमा कविता प्रस्तुत गर्नुभयो भने कवि कृष्णप्रसाद पोखरेलले शिखरिणी छन्दको लय प्रयोग गरी युवक युवती बाहिर गए शीर्षकमा युवा शक्तिको पलायन र वृद्धवृद्धाको राष्ट्रनिर्माणमा अठोट सहितको भावयुक्त कविता वाचन गर्नुभयो।
अनन्तकुमार बस्नेतले हे अखिलेशश्वर रङ्ग भर शीर्षकमा शिवविराट् छन्दको प्रयोग गर्दै सशक्त भजन प्रस्तुत गर्नुभएको थियो। कवि धरणी गुरागाईं धनञ्जयले वृद्धवृद्धाप्रति समर्पित पञ्चचामर छन्दको लयमा श्रुतिमधुर कविता वाचन गर्नुभयो भने कवि निशा तिमल्सिनाले भर्खरै दिवंगत हुनुभएका गीतकार लक्ष्मी जोशीप्रति समर्पित गर्दै उहाँकै स्वरमा रहेको गीत प्रस्तुत गर्नुभएको थियो। उक्त गीतमा दर्शकदिर्घाबाट नृत्य समेत प्रस्तुत भयो।
तत्पश्चात भावकेशर बरालले माटोको माया शीर्षकमा गद्यलयात्मक कविता वाचन गर्नुभयो। कवितामा मातृभूमिप्रतिको स्नेहभाव व्यक्त भएको थियो।
आरसी रिजालले एक दुई टुक्रा व्यङ्ग्य भावना पश्चात् एउटा व्यङ्ग्य गीत गाउनुभयो। अन्त्यमा प्रमुख अतिथि केदार न्यौपानेले काव्य सौन्दर्यको चर्चा गर्दै कविताको व्याख्या होइन, कविता सुन्दर र सशक्त हुनुपर्नेतर्फ औल्याउनुभयो । उहाँले दुई श्लोक कवितावाचन गरेपश्चात् सभापतिको आज्ञाले कार्यक्रम समापन भएको थियो।
०००
– भावकेशर बरालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































