हरिशंकर परसाईंअश्लील पुस्तक
चौथोले भन्यो- “हेर न म नभएको मौका पारेर छिमेकी काकीले किताब लैजानुभएछ । होस् पढून् । दुईतीन दिनपछि जलाउँला ।”

अनुवाद : आर.सी. रिजाल
सहरमा उत्पात हल्ला मच्चिएको थियो- अश्लील साहित्य खुब प्रचार भैरहेको छ । पत्रपत्रिकामा पनि सडकका पेटीमा खुल्लमखुल्ला अश्लील पुस्तकहरू बिक्री भैरहेको विषयका समाचार आइरहेका थिए र नागरिकहरूले सम्पादकलाई लेखेका पत्रहरू धमाधम छापिइरहेका थिए ।
सहरका दसबाहजना उत्साही एवम् समाजसुधारक विचारका युवाहरूले एउटा टोली गठन गरे । उनीहरूले त्यस्ता पुस्तक जहाँ फेला पर्छन् तिनलाई जबर्जस्ती उठाएर ल्याई सार्वजनिक ठाउँमा जलाउने निणर्य गरे ।
उनीहरूले एउटा पुस्तक पसलमा छापा मारे र बीसपच्चीस थान अश्लील पुस्तक हात पारे टोलीको हरेक सदस्यका हातमा दुई वा तीन पुस्तक थिए । पुस्तक हात परेपछि टोली प्रमुखले भन्यो- “आज अबेर भयो भोलि कुनै पत्रिकामा सूचना प्रकाशित गरेर पर्सि कुनै सार्वजनिकस्थलमा यसलाई जलाउने कार्यक्रम राखौं । यसरी प्रचार गर्दा अन्य व्यक्तिलाई समेत प्रभाव पर्छ । भोलि बेलुका सबैजना मेरो घरमा जम्मा होऔं । यो बीस/पच्चीस पुस्तक म अहिले घर लान सक्तिनँ बा, काकाहरू घरमा हुनुहुन्छ देख्नुभयो भने आपत पर्छ । अहिले दुईतीन थान पुस्तक सबैले लुकाएर लैजाऔँ र भोलि साँझ आउँदा सबैले ल्याऔँ ।”
अर्को दिन साँझ सबै युवा भेला भए । टोली प्रमुखले भन्यो- “पुस्तक झिक, म सबै एउटा बोरामा लुकाएर राख्छु भोलि जलाउने ठाउँमा बोरै लिएर जाऔँला ।” पुस्तक कसैले ल्याएका थिएनन् ।
एक सदस्यले भन्यो- “भोलि होइन पर्सि जलाऔं । पहिला पढी त हालौं ।”
दोस्रोले भन्यो- “अहिले हामी पढ्दै छौं । किताब जफत गरिहाल्यौं अब दुईचार दिनपछि जलाऔँला । यसरी तोकिएको दिन किताब जलाउने कार्यक्रम हुन सकेन ।
तेस्रो दिन सबैले किताब लिएर भेट्ने निर्णय गरे । तर त्यस दिन पनि कसैले किताब ल्याएनन् ।
एकजनाले भन्यो- “अरे यार, मेरो बुबाले किताब फेला पार्नु भएछ, पढ्दै हुनुहुन्छ ।” दोस्रो सदस्यले भन्यो- “मेरो पनि काकाले फेला पार्नु भएछ, पढेपछि ल्याउँला ।” तेस्रोले भन्यो- “मेरो त भाउजूले लानुभएछ दुईतीन दिनपछि पढेर फिर्ता गर्छु भन्नुभएको छ । चौथोले भन्यो- “हेर न म नभएको मौका पारेर छिमेकी काकीले किताब लैजानुभएछ । होस् पढून् । दुईतीन दिनपछि जलाउँला ।”
अश्लील पुस्तकहरू कहिल्यै जलाइएन, बरू अझ व्यवस्थित ढङ्गले अध्ययन गरिदै छ ।
०००
‘भोलारामको आत्मा’ २०६६
Subscribe
Login
0 Comments
Oldest

































