सुरज साउदप्रश्न त सोध्न पाइन्छ नि ?
दर खाएर, मादल बजाएर गीत गाउँदै नाच्ने संस्कारमा हुर्किएकी ‘शारदा भाउजू’ होटलमा गएर ‘दर’ को नाममा ‘दारु खाएर’ पम्प डान्स हान्न तयार नभएपछि तिम्रो तीजले असभ्य र ‘गवाँर’ भनेर हेपेको छ ।

‘हङ्कङको सारीले शहरको धुलो’ उडाएको बेला
दूर्गम कणर्ालीको किनारमा
गोठालो गएकी ‘चाउली बुढा’ को
भीरबाट खसेको ढुङ्गाले जीवन उडायो
बाजुराको छेडेदहकी
‘जौमती रोकाया’ को प्रसव वेदनाले च्यापेको बेला
अस्पतालमा गएर बच्चा जन्माउने सपना उडायो ।
प्रेमको नाटक गर्यो,
गर्भ रहेपछि गर्भपतन गराउन दबाव दियो,
आमाको मन आफ्नै सन्तानको नजन्मदै घाँटी निमोठ्न तयार भएन
छोरी जन्मिएपछि उसले स्वीकारेन
अदालतले पनि न्याय दिएन
‘कुमारी आमा’ भएर बाँच्न मुस्किल भएपछि
‘निहारिका राजपुत’ ले
सरकार प्रमुखककै वासस्थान बालुवाटार अगाडि
आत्मदाह गर्न पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाउनु पर्यो ।
तिम्रो तीजले यी कुरा किन समेटेन ?
प्रश्न मात्रै सोधेको, विरोध कहाँ गरेको हो र !
तिमीलाई ‘झम झम झम्कना लाम, कि नलाम’ भएको बेला
‘मायालुले बेलुका बोलाएको ठाउँमा, जाम कि नजाम’ भएको बेला
लक्ष्मी दिदीलाई
फुटपाथमा चटपटे र पानीपुरी बेचेर जम्मा भएको अलिकति पैसाले
सारी किनौ कि, महिनौदेखि बाँकी भएको
‘छोराको स्कूल’ को फिस तिरौँ भएको छ ।
दिनहु तीज चल्छ,
एकदिन लगाएको सारी अर्को दिन लगाउँदा दौतरीले खिसी गर्छन्,
आफूले तीन वर्षदेखि सारी फेर्न सकेको छैन,
यसपाली पनि तीज छैन भन्न, के बहाना खोज्ने होला ? भन्ने भएको छ
माइती गएर ब्रतको अघिल्लो दिन
दर खाएर, मादल बजाएर गीत गाउँदै नाच्ने
संस्कारमा हुर्किएकी ‘शारदा भाउजू’
होटलमा गएर ‘दर’ को नाममा ‘दारु खाएर’
पम्प डान्स हान्न तयार नभएपछि
तिम्रो तीजले असभ्य र ‘गवाँर’ भनेर हेपेको छ ।
विरोध गरेको हैन, प्रश्न मात्रै सोधेको हो,
तिमीले मनाएको तीज संस्कृति कि विकृति ?
०००
१५ भदौ २०७९,
Subscribe
Login
0 Comments
Oldest







































