सुरज साउदभकुण्डोको भाग्य !
खेलाडीहरू अनुभवी छन् हजुरबुवा...! कहिले कसरी हान्छन्, कहिले कसरी हान्छन्, कहाँबाट हान्छन् भकुन्डोले अनुमान गर्न सक्दैन खेलाडीको रोजाइमा पर्नु नै महान उपलब्धि ठान्छन् भकुण्डाहरू ।

कहिले राष्ट्रिय त कहिले क्षेत्रीयस्तरमा,
कहिले अन्तर्राष्ट्रिय स्तरमा
खेलहरू खेलिन्छन्,
कसैले कर्नर किक हान्छन्
कसैले फ्रि किक हान्छन्
जसरी मन लाग्यो त्यसरी हान्छन्,
खेलाडीहरू आवश्यकता अनुसार
कहिले दायाँ त कहिले वायाँ गोडाले हान्छन्
कसैले त्यो पोष्टमा हान्छन्
कसैले यो पोष्टमा हान्छन्
बिचरा भकुन्डो खेल नसकिएसम्म
मैदानभरि उफ्रेको उफ्र्यै हुन्छ,
तर खेलको विजेता खेलाडी हुन्छ,
पुरस्कार खेलाडीले पाउँछ
बिचरा भकुन्डो हेरिन्छ,
अर्को खेलसम्म काम लाग्ने जस्तो भए राखिन्छ,
नभए फालिन्छ र अर्को खोजिन्छ ।
खेल कहिले उत्तर र दक्षिणका बिचमा हुन्छ,
कहिले आकाशका छिमेकीहरू बिचमा हुन्छ,
कहिले जमीनका छिमेकीहरू बीचमा हुन्छ,
कहिले बीर गोरखाली पुरस्कार राखेर हुन्छ,
कहिले कोशी, कहिले गण्डकी,
कहिले महाकाली राखेर हुन्छ,
पुरस्कारमा कहिले लिम्पयाधुरा त कहिले कालापानी राखेर हुन्छ,
खेल जतिबेला हुन्छ, जसका बिचमा हुन्छ,
रंग फरक भए पनि भकुन्डो नेपाली नै हुन्छ
हजुरबुवा…! के हाम्रो क्षमता भकुन्डो बन्ने मात्रै हो ?
भन्नेहरू भन्छन्, औपचारिक खेलको शुरुवात
सुगौली सन्धिबाट भयो,
१९५० को शान्ति तथा मैत्री सन्धि पनि खेल थियो,
२००७ पनि खेल थियो, २०४६ पनि खेल थियो,
सत्र पनि खेल थियो,
मदन भण्डारीको हत्या पनि खेल थियो,
वीरेन्द्रको बंशनाश पनि खेल थियो,
’जनयुद्ध’ पनि खेल थियो,
लोकतन्त्र र गणतन्त्र पनि उनीहरूकै खेल थियो
र, सबै खेलमा रातो, हरियो, खैरो कालो
रंग जे भए पनि भकुन्डो नेपाली थियो
कुनै-कुनै बेला यो कुरो झुटो हो कि
जस्तो पनि लागेको छ हजुरबुवा मलाई
तर, अधिकांश समय हो नै जस्तो लागेको छ ।
हजुरबुवा…! के हाम्रो नियति
भकुन्डो बन्नु मात्रै हो…?
भन्नेहरू त यतिसम्म भन्छन्-
संविधानसभा र धर्मनिरपेक्षता पनि खेल हो,
संघीयता र गणतन्त्र पनि खेल हो,
पुरा हुनै बाँकी पार्टी एकता पनि खेल हो,
एमसिसी पनि खेल हो
कसैलाई पठाउने र नपठाउने पनि खेल हो,
कसैलाई राख्ने र हटाउने पनि खेल हो,
फरक यति हो,
खेलको आयोजना खेलाडीको आवश्यकता अनुसार हुन्छ,
आवश्यकता अनुसारको भकुन्डो खोजिन्छ,
विचरा भकुन्डो यो सत्यसँग सधैं बेखवर हुन्छ,
हजुरबुवा…! के हाम्रो नियति भकुण्डो बन्ने मात्रै हो ?
खेलाडीहरू अनुभवी छन् हजुरबुवा…!
कहिले कसरी हान्छन्, कहिले कसरी हान्छन्,
कहाँबाट हान्छन् भकुन्डोले अनुमान गर्न सक्दैन
खेलाडीको रोजाइमा पर्नु नै
महान उपलब्धि ठान्छन् भकुण्डाहरू
कहिलेकहीँ यो सब झुठ हो जस्तो लाग्छ,
यस्तो आरोप लगाउनेहरूका गालामा कसेर
एक झापड दिउँ जस्तो लाग्छ,
तर, जब, भकुन्डो बन्न तँछाड-मछाड
निम्छरा अनुहारहरू लामबद्ध देख्छु नि !
हजुरबुवा, म निःशब्द र निरुत्तर हुन्छु
के हाम्रो संघर्ष भकुण्डिनका लागि मात्रै हो ?
अछाम
Subscribe
Login
0 Comments
Oldest







































