डा. टीकाराम पोखरेलमूर्खाधिपति
पत्रकारहरूलाई मेरो मूर्ख बन्ने योजनामा अब कुनै शङ्का रहेन । मेरो मूर्ख हुने योजना सुनेर उनीहरू छक्क परे । मेरो घोषणा र योजना सुनेपछि मलाई यो देशको मात्र नभएर संसारकै नामूद मूर्खको पगरी गुताईदिन पत्रकारलाई पनि अफ्ठेरो परेन ।

विगत केही समयदेखि म दिक्दारी मानेर बसेको थिएँ । यस्तैमा अचानक मलाई दिव्य ज्ञान प्राप्त भयो- “धर्तीमा जन्म लिएपछि यसरी धर्तीको बोझ भएर त बाँच्नु भएन । केही न केही नयाँ त गर्नैपर्छ । त्यो पनि सामान्य होइन, कीर्तिमान कायम हुने खालको काम हुनुपर्छ ।”
कीर्तिमान कायम गर्न अरुले पहिले नै गरिसकेको काम गरेर संभव थिएन । “त्यस्तो अरुले नगरेको काम के होला ?” म सोचमग्न भएँ ।
आफ्नो वरिपरिको पर्यावरण सम्झेँ, देशभित्रका गतिविधि सम्झेँ, देशबाहिरका मान्छेहरूतिर दिमाग घुमाएँ । सबैतिर विद्वान् मात्र छन्, सबै ज्ञानी मात्र छन्, सबै सभ्य मात्र छन्, सबै कुनै न कुनै उपाधिधारी मात्र छन्, सबै गुण नै गुणले भरिपूणर् मात्र छन्, गुण नभएका कोही छैनन् ।
यो संसारमा भएका सबै गुण कुनै न कुनै मान्छेले धारण गरिसकेका छन् । अनि आफैँले आफैँलाई प्रश्न गरेँ- “उसो भए अब मैले त्यस्तो नयाँ काम के गर्ने ? कि धर्तीको बोझ नै भएर बस्ने त ?”
“अहँ ! म धर्तीको बोझ भएर बाँच्दिनँ । मैले केही न केही त बन्नुपर्छ र संसारमै कीर्तिमान कायम गर्नुपर्छ । नगरे जन्म व्यर्थ हुन्छ । त्यसैले केही नगरी म बस्दै बस्दिनँ ।” मैले अठोट गरेँ ।
मलाई जसरी पनि कीर्तिमानी कायम गर्नु थियो । दिमागमा नयाँ आइडिया आयो- “विद्वान्, ज्ञानी, सभ्य, गुणी, असल सबै अरु भए त के भो ? मूर्ख त यो संसारमा कोही छैन नि । त्यसो भए म अब मूर्ख बन्छु र विश्व रेकर्ड राख्छु ।”
मैले मूर्ख बन्ने अठोट गरेँ । आफ्ना सहयोगीहरूलाई मूर्ख बन्ने घोषणापत्र तयार गर्न लगाएँ । पत्रकार सम्मेलन गरेर आफ्नो घोषणापत्र सार्वजनिक गर्ने योजना बनाएँ । निर्धारित समयमा पत्रकार जम्मा भए । पत्रकारसामु मैले भनेँ :
पत्रकार मित्रहरू- “म अब मूर्ख बन्दैछु ।”
मूर्ख बन्ने मेरो कुरा सुनेर पत्रकारहरू गलल्ल हाँसे । र भने- “तपाईँ कतै पागल त हुनु भएन ? दिमाग त ठीक छ तपाइँको ?”
“म पागल होइन, ठीक छु । तपाईंहरू मेरो कुुरा सुनेर नहाँस्नुस् । बरु मेरो कुरा राम्ररी सुन्नुस् र मनन गर्नुहोस् ।”
पत्रकार मेरो कुरा सुन्न तयार भए । मैले बोल्न सुरु गरेँ-
अबदेखि ः-
म भ्रष्टाचार गर्दिनँ ।
म अरुलाई दुःख दिन्न ।
म अरुको केही लिन्न ।
म झुटो बोल्दिन ।
म कानूनको पालना गर्छु ।
म कसैलाई गाली गर्दिनँ ।
म इमान्दार बन्छु ।
म देशलाई माया गर्छु ।
म सत्मार्गमा हिँड्छु ।
म सादा जीवन व्यतित गर्छु ।
म ठूलालाई आदर र सानालाई माया गर्छु ।
म गरिब दुखीलाई सहयोग गर्छु ।
म सधैँ मानव सेवामा समर्पित हुन्छु ।
पत्रकार सम्मेलनमा मेरो कुरा सुनेर पत्रकारहरू एक आपसमा मुखामुख गर्न लागे । अनि एक जना पत्रकारले जुरुक्क उठेर भन्यो- “तपाईंले के भन्नुभएको यस्तो ? अहिलेको जमानामा यो सब त मूर्खले मात्र गर्छ ।”
“हो । म त्यही त भन्दैछु । त्यसैले त अब म मूर्ख बन्दैछु र विश्व रेकर्ड तोड्दैछु ।” मैले उत्साहित हुँदै भनेँ ।
पत्रकारहरूलाई मेरो मूर्ख बन्ने योजनामा अब कुनै शङ्का रहेन । मेरो मूर्ख हुने योजना सुनेर उनीहरू छक्क परे । मेरो घोषणा र योजना सुनेपछि मलाई यो देशको मात्र नभएर संसारकै नामूद मूर्खको पगरी गुताईदिन पत्रकारलाई पनि अफ्ठेरो परेन ।
राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार माध्यमभरि मेरो कीर्तिमानी कायम हुने भयो । म मूर्ख मात्र नभएर विश्वकै नम्बर एक मूर्खाधिपति बनेँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































