सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बैदार बाजेको महानगर यात्रा

महानगरमा खानेभन्दा आची गर्ने धेरै छन्, अगुवाभन्दा भगुवा धेरै छन्, काम गर्नेभन्दा कुरा गर्ने धेरै छन, मिहिनेत गर्नेभन्दा झोली भर्ने धेरै छन् भन्ने कुरा पनि उनलाई थाहा भएन ।

Nepal Telecom ad

राणा शासनको अन्तिम चरणमा बफादार बैदार भएर बिर्ता बटुलेका, पञ्चायतका पुजारी भएर पापा पनि पाएका, बहुदल आएपछि खाँटी बहुदलवादी भएर नेताका पछि लागेका बैदार बाजेलाई नचिन्ने कमै होलान् । समयको स्वभावमा आफूलाई सहजै समर्पण गर्नसक्ने साहसी समर्पणवादी बैदारबाजे कुनै पनि अवशरको आवाजलाई चिन्न निकै खप्पीस छन् । र समय अनुसार रङ्ग बदल्नुपर्छ भन्ने छेपारे सिद्धान्तलाई उनले अत्मसात गर्दै आएकाले उनी जहिले पनि सफल नै छन् ।

अतीतमा जे भए पनि अहिले जस्तोसुकै बहुदलवादी हाकिमसमक्ष आफूलाई कर्तव्यनिष्ठ देखाउन सफल छन् । ‘कपुरी क’ पनि नजानेका निरक्षरी जनतालाई बैदारको बहादुरी देखाएर ‘क’ लाई ‘ह’ बताउने मात्र होइन ऋणको ब्याजमा प्रतिवर्ष अङ्कमा यौटा शून्नामात्र थप्नुका साथै घिऊ खाने, जस्ता आदर्श व्यवहार पनि गरेका थिए उनले । आफ्नो कुरा नमान्नेहरूलाई शास्त्र अनुसारका चार सूत्रमध्ये दाम बाहेक अरु सबै काम गरेर उनीहरूको मुखको माम खोस्ने गर्थे । यस कार्यका लागि उनले हुक्के, चिलिमे, बैठके आउरे बाउरे, धुपौरे जस्ता महानुभावहरूलाई पोषणपालन गरेर राखेका थिए । पैसा कमाउनलाई जति पाप गरे पनि एक रुपैयाँको गोदान गर्दा समस्त पाप निवारणार्थ भन्न कहिले पनि भुल्दैनथे उनी । सोझालाई उठिबास लगाएर शाखा सन्तानका पुस्तौँ पुस्तालाई पुग्ने सम्पती जोडेका थिए । सयौँ जनालाई ठगेको याद नभए पनि एक जनालाई दिएको दानको पूरा याद हुन्थ्यो बैदार बाजेलाई ।

पाप पखाल्ने पथको खोजीमा दिमाग लगाउँदा पशुपतिनाथको दर्शन गर्ने विचार आयो । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैँ देउताको दर्शन पनि गर्ने नेतालाई नमस्कार पनि गर्ने भनेर बैदार्नीबज्यै सहित एउटा कुम्लो बोकेर लागे महानगरतिर । नौ दिनसम्म हिँडेर राणा सरकारलाई स्वस्ति गर्न पुग्ने बैदारबाजे बसको आवाज र धूवाँको मुस्लो देखेर झण्डै बितेका । बल्लतल्ल बूढीको बलमा बसमा उक्लिएका बैदारबाजे पाङ्ग्रा जोल्टिङ्खमा परेर बस के फुत्रुक्क उफ्रेको थियो उनी त गलम्र्मै ढले !

के गरेको यो ? भनेर गाउँलेलाई सातो टिप्ने स्वरमा कराएका मात्र के थिए खलासीको खवर्दारी खाएपछि खुइय गर्दै टुसुक्क बसे । कहिले भीरबाट खस्ला जस्तो, कहिले पहरोमा ठोकिएला जस्तो, घोप्टो, नेप्टो, चेप्टो पार्दै ‘बाउन्न ठक्कर त्रिपन्न घुस्सा’ खुवाएर बसले महानगरको माझमा लगेर छाडि दियो । पशुपतिको जात्रा हेर्न आएका बैदार बाजे झण्डै यमपुरीको यात्रातिर लागेका ! बसबाट ओर्लिएर वाक्क ट्यार्र गर्दै सडकको पेटीमा सुस्ताउँदै थिए, एक्कासि ‘आयो आयो’ भन्दै सबै कुम्लोकाम्लो बोकेर पो भाग्ने थाले । ‘हैन के आयो हँ’ भनेर यसो उठेर हेरेको त उनको पोकै गायब ! धन्न ! कम्मरमा बाँधेर राखेका हुनाले नगद नारायणलार्ई घुनपुत्लो लागेन । पैसा खर्च गर्नुपर्‍यो भने दाँतबाट पसिना निकाल्ने ती दम्पती सस्तो खाजाको खोजीमा होटेल चहार्न थाले । महानगरमा सबैभन्दा सस्तो खाजा सेतो शालिग्राम भन्दा अरु के नै पाइन्थ्यो र ? त्यसैले दुई प्लेट सेतो लड्डु लिएर बसे बूढाबूढी । बाहिर सेतो र सफा देखिने सेतो शालिग्रामभित्र बूढी आइँको चिची हुन्छ भन्ने कुरा ब्राम्हणका पुत्र बैदारबाजेलाई के थाहा !

त्यसो त सेतो र सफा कपडा लगाएपछि कालो मन भए पनि केही फरक नपर्ने हुन्छ, आजभोलि । बैदारबाजेको चाउरी परेको गाला गोरो भए पनि उनको पवित्र हृदयमा गरीबलाई गोर्खेलौरी लगाउने कला छ भन्ने कुरा पनि त कसैलाई थाहा छैन नि भुक्तमानहरू बाहेक । दुबै दम्पती ‘ढ्याउ ढ्याउ’ गर्दै उठेर लागे पाटीतिर बास खोज्न । तर पहिला जस्तै पाटीपौवा कहाँ पाउनु महानगरमा । गाउँखाने गोही भएझैँ शहर खाने सैतानहरू पनि हुन्छन् भन्ने कुरा उनले पनि बिर्सेछन् । फेरि महानगरमा खानेभन्दा आची गर्ने धेरै छन्, अगुवाभन्दा भगुवा धेरै छन्, काम गर्नेभन्दा कुरा गर्ने धेरै छन, मिहिनेत गर्नेभन्दा झोली भर्ने धेरै छन् भन्ने कुरा पनि उनलाई थाहा भएन ।

आजित भएर सडकको पेटीमा कुक्रुक्क परेर बसे । आधा राततिर बाजेबज्यैको गृहयुद्ध चल्न थालेछ पेटभित्र । त्यसपछि दुबै धाउन थाले । रातभरि त जहाँ गए पनि भयो तर बिहान कहाँ जाने ? परेन फसाद ? सोद्धैखोज्दै सार्वजनिक शौचालयतिर गएका थिए- त्यहाँ यत्ति लामो लाइन । महानगरमा धारामा लाइन, बाथरुममा पनि लाइन, मट्टितेलदेखि नूनसम्म लाइन भन्ने कुरा बल्ल थाहा पाए । बल्लबल्ल पालो पाएर गरेका थिए ‘ओ बाजे पैसा दिएर जाऊ त’ भन्ने आवाजले झण्डै कानको जाली फुटाएको । जहाँ मन लाग्यो त्यहाँ आचि गरेर ढुङ्गाले पुछ्दै हिँड्ने बाजेलाई महानगरमा खान मात्रै होइन आचि गर्न पनि पैसा लाग्छ भन्ने कुरा के थाहा ?

पशुपति पुगेर बागमतीमा श्नान गर्नु भन्ने कुरा उनीहरूलाई थाहा भएकाले लुगासुगा फुकाएर नाङ्गो मुडुलो भएर ‘गङ्गे हर हर’ भन्दै बागमतीमा पस्न मात्र के भ्याए थिए जिउभरि आचि नै आचि !

‘लौन बूढा यो के आयो छिः !’ भनेर बूढी कराउन थालेकी थिइन् बूढा ‘गङ्गे च यमुने चैब गोदावरी सरस्वती’ भन्दै यस्तै हो गङ्गाको बास्ता गर्न हँुदैन भनेर लुगा फेर्न थाले । बूढी पनि लुगा फेर्न थालिन् । पूजा सामग्री किनेर पशुपतिनाथको पूजा गर्न लाइनमा के बसेका थिए बनकालीको बाँदर पूजा सामग्री लिएर टाप ! येनकेन प्रकारेण बैदारबाजेले पशुपतिनाथको दर्शन गरेर महानगरको यात्रा पूरा गरे । महानगर यात्रा पूरा गरेपछि बैदारबाजेले यस्तो प्रतिक्रिया व्यक्त गरे-

‘बागमती र विष्णुमती भए मलमती र ढलमती
अर्कै पानीले नुहाउन थाले नेपालका पशुपति
धारामा पानी छैन कोठामा बिजुली छैन
तैपनि भाडा पुगेन भन्छन् महानगरका घरपति ।’

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे