साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्य शैलीमा त्रासद यथार्थ

सरुवा रोग नभए पनि थाइराइडभन्दा गम्भीर रोग हो खाइराइड। देखासिखी रोग सजिलै अरूमा पनि फैलिन्छ। यो रोग लागेपछि मान्छेको नैतिकता, इमानदारी र मानवतालाई निमिट्यान्न पार्छ। आज सबै क्षेत्रका मान्छेलाई यही खाइराइडले खतम पारेको छ।

Nepal Telecom ad

अनिता कोइराला :

’लामो यात्रामा निक्लिएको समयमा होस् या सार्वजनिक गाडीमा हिँड्दा, अस्पतालमा जाँदा होस् वा कतै निस्किँदा, झोलामा पुस्तक बोक्ने गर। पुस्तक गजबको साथी हुन्छ। पुस्तकले कहिल्यै एक्लो हुन दिँदैन,’ अग्रजहरूको भनाइ मनन गर्दै म पनि प्रायः झोलामा पुस्तक बोकेर हिँड्ने गर्छु। मेरो झोलामा केही दिनदेखि एउटा गजबको पुस्तक थियो- फिल्कौली अनलाइन मिडियाले प्रकाशन गरेको राजेन्द्र कार्कीको ‘खाइराइड’ शीर्षकको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह।

मलाई भक्तपुरसम्म जानुपरेको छ। गुर्जुधाराबाट गाडी चढें। कलङ्की पुगेपछि कालीमाटीतिर गाडी जान दिएन। शिक्षक आन्दोलन चर्किएको छ। गाडी हुँकियो रिङरोडतिर। खसी बजार पुगेपछि भक्तपुर जाने बसमा उक्लिएँ।

काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ आन्दोलनले। चारैतिर बाटो जाम छ। सातदोबाटोदेखिको जाम खुल्ने छाँटकाँट कतै छैन। गाडीभित्रका मान्छेहरू भुट्भुटिएका छन्। म भने गाडीभित्र मस्त र व्यस्त छु। कसैका लागि समय पट्यार लाग्दो पीडा भएको छ, तर मेरो समय पिलित्तै चिप्लिएको छ। आइन्सटाइन बालाई सम्झिँदै छु। हाय ! सापेक्षवाद।

म पुस्तकमा हराएकी छु। कार्कीको लेखाइ जादुमयी लाग्दै छ। बडो मार्मिक विषयहरूलाई हास्यरसको कसीमा ढालेर लेख्दा त लेखहरूले मस्तिष्कलाई झनन पार्ने रहेछ।

कुकुरको भाग्य, भाग्दा भाग्दै, घाँडो बुढो, बिहे किन जस्ता निबन्ध पढेर गम्भीर भएकी म, धारा र शौचालय, सोल्टिनी, त्यो नेपाली होइन’ को महात्म्यले भित्रैबाट नहाँसी बस्नै सकिनँ। यसरी मन लगाएर रमाइलोसँग पढिएका पुस्तकहरू त पछिसम्म सम्झन पनि सकिन्छ।

सङ्ग्रहभित्रका विषयहरूको चयन निकै उत्कृष्ट लाग्यो। जीवन दौडको मैदान भएको यथार्थ हामीले बुझ्नै सकेका छैनौं। आखिर मान्छे कुन कुरा प्राप्त गर्न भाग्दै छ ? प्रकृतिमाथि मानवले गरेको दोहनलाई हास्यव्यङ्ग्यको स्वादिलो प्रस्तुतिले पाठकलाई पुस्तक पढिरहँदा पनि झिँझो लाग्दैन।

जनावरहरूको मानवसँगको असन्तुष्टि पढेर कटक्क मन खायो। वास्तवमा जनावरहरूको भनाइ सही त छ नि। मान्छेका कारणले नै सबैलाई समस्या भएको छ। मान्छेलाई पशुसँग तुलना गर्न साँच्चै मिल्दैन। गल्ती गर्ने मान्छे नाम चाहिँ पशुको। क्या गजबको निबन्ध बनेको छ। कार्कीका निबन्धहरू अमिट छाप भएर मेरो मस्तिष्कमा अवश्य बस्नेछन्।

यो पुस्तकले क्षणिक मनोरञ्जन मात्र दिएको छैन। निकै गहिरो सन्देश छोड्न सफल छ। हृदयमा नेपाल बोकेर हिँडेका मान्छेहरूको संवेदना छ। अझ सामाजिक सञ्जालमा प्रयोग हुने श्रद्धाञ्जलीको मार्मिक पक्ष उठेको छ।

कृति पढ्दै जाँदा अनुभव गरें- हाँसोभित्रका अनेकौं पीडाहरू, मुस्कुराएका ओठहरूको संवेदनशीलता, व्यङ्ग्य भनेको कसैलाई कटाक्ष गरेर भँडास निकाल्ने विधा होला भन्ने भ्रम पनि यो पुस्तकले स्पष्ट पार्दै लग्यो। हाँस्दै र हसाउँदै पनि निकै गहकिला कुराहरू बाहिर उजागर गर्न सकिने रहेछ।

कुनै निबन्धले नौलो ठाउँको भ्रमण गराउँछन्। नियात्रा जस्तो भएर पाठकलाई अमेरिकाको वैभव र विमानस्थलको फैलावटसँग नजिक पुर्‍याएका छन् कार्कीले।

धनी देशमा कुकुरको फोटो खिच्न पनि अनुमति चाहिन्छ रे। हाम्रो देशमा बिनाअनुमति गिट्टी कुट्दै गरेका, च्यातिएको लुगा लगाएका नागरिकहरूको फोटो मात्र कहाँ हो र ? भिडियो नै खिचेर सामाजिक सञ्जालमा हाल्दै उनीहरूले नै पैसा कमाउँछन्। यसप्रति पुस्तकमा नमिठो वाण प्रहार गरिएको छ। काठको चर्पीमा स्याउँस्याउँती किरा देखेर हुर्किएका पुस्ताले देखेको धाराको गेडी नै नभएको सेन्सरवाला ट्वाइलेटको महात्म्य बढो कलात्मक छ।

व्यङ्ग्यको छर्रा मात्र छर्न र कसैलाई उल्याउन, गिज्याउन र पढ्नका लागि मात्र होइन, रहेछ हास्यव्यङ्ग्य त। अझ केही लेख्ने मान्छेका लागि यो पुस्तकले विभिन्न विषयको नौलो ज्ञान दिन सक्छ। ‘चुनाव पुराण’ले राजनीतिको यथार्थ ओकलेको छ। ‘लेखकको कन्दनी’ उस्तै दमदार छ। एकतीसवटा निबन्धहरू मिठासपूर्ण छन्। पुस्तक पढ्दै जाँदा लेखकसँगै भएको आभास हुन्छ।

‘जहाँ मान्छेको काम छैन, त्यहाँ कुकुरको पनि काम नहुने रहेछ। जहाँ मान्छे खिच्चा छन्, त्यहीं कुकुर पनि खिच्चा हुने रहेछन्।’ नजिकै बसेका सहयात्रीले सोधे, ‘के पढ्नु भएको ? खुब हाँस्नुभएको छ त ?’ मैले भने- ‘खाइराइड।’ सहयात्री सोध्दैछन्, ‘के हो यो खाइराइड। हामीले त थाइराइडको मात्र चर्चा सुनेका थियौं त ?’

म खाइराइडको परिचय दिँदै छु- सरुवा रोग नभए पनि थाइराइडभन्दा गम्भीर रोग हो खाइराइड। देखासिखी रोग सजिलै अरूमा पनि फैलिन्छ। यो रोग लागेपछि मान्छेको नैतिकता, इमानदारी र मानवतालाई निमिट्यान्न पार्छ। आज सबै क्षेत्रका मान्छेलाई यही खाइराइडले खतम पारेको छ।

स्वास्थ्य, शिक्षा, राजनीति, व्यापार, धर्म कुनै क्षेत्र अछुतो छैन खाइराइडबाट। खाइराइडलाई थाइराइडले पनि साथ दिएको छ। थाइराइडमा मान्छेको कपाल झर्छ, खाइराइडमा मान्छेको नैतिकता झरेर नाङ्गो हुन्छ।

थाइराइड प्रायः पुरुषलाई बढी लाग्ने गर्छ। अझ उच्च ओहोदामा बसेका मान्छेलाई यो रोगले झन् धेरै सताउँछ। खाइराइड बढेपछि नैतिकताहीन, बेइमानी र धोकाधडीका गाँठाहरू बढ्दै जान्छन्। देश झन्झन् गरिब र अविकसित हुँदै जान्छ।

राजेन्द्र कार्कीले लेख्न बिर्सेछन्, ‘यो पुस्तक सार्वजनिक यातायातमा पढ्न चाहिँ मनाही छ है ! भनेर। कस्तो फसाद पर्यो, म हाँसेको देखेर। गाडीका मान्छे मलाई शङ्काको नजरले हेर्दै थिए। कार्कीले लेख्नुपर्थ्याे- सार्वजनिक गाडीमा पाठक हाँसेमा पाठक नै जिम्मेवार हुनेछन्, अन्यथा पाठक स्वयम्ले स्पष्टीकरण दिनुपर्ने छ।’

पुस्तक हास्यव्यङ्ग्य निबन्धहरूको पेटारी नै रहेछ। मिठो भाषा, सरल र सरस शब्दावली र बेजोडको विषय नै यो निबन्ध सङ्ग्रहको मजबुत खाँबो रहेछ। निबन्धहरूको निर्बन्ध स्वरूपमा हास्यव्यङ्ग्यको चोटिला, घोचिला र रसिला विषयहरूले पाठकलाई सुलुलु बगाएर लैजान्छ। हास्यव्यङ्ग्य सर्जक लक्ष्मण गाम्नागेको भूमिका नै बेजोडको छ। जाँदा र आउँदा करिब चारघण्टाको समयमा पुस्तकको आधी भूगोल चहारिसकेकी थिएँ।

भोलिपल्ट फेरि बुढानीलकण्ठ जानु थियो। झोलामै थियो खाइराइड। साथमा हुनुहुन्थ्यो- ज्ञानु कार्की। दिदीलाई हाँस्दै भनें- ‘लौ दिदी, अब छोरी अस्ट्रेलियामा छे। तपाईं पनि अस्ट्रेलिया जाँदा लामो गरी आफ्नो थर भन्नू ‘कार…की’। यहाँ लेखकलाई साँच्चै कारको साँचो सम्झिएको घटना बढो मिठोसँग आएको छ। ज्ञानु दिदी पनि खित्का छोडेर हाँस्न थाल्नुभयो। दिदीलाई मन परेको लाइन ठुलै स्वरले पढेर सुनाउँदै पनि छु, ‘पहिले एउटा सिंहदरबार थियो । अहिले देशभरि जताततै सिंहदरबार भएका छन्। देश डुबेको भए कसरी एउटा सिंहदरबारको ठाउँमा सयौं सिंहदरबार हुन्थे त ! एउटा संसद् र सरकारको ठाउँमा सात सातवटा थपिएका छन्। मन्त्री र मन्त्रालयको सङ्ख्या पनि थपिएका थपियै छन्। झन्डावाला गाडी झन्डा हल्लाउँदै दौडिरहेका छन्।’ दिदीका आँखामा हेरेर भने, ‘दिदी देश त डुबेको होइन रहेछ।’ दिदी पुनः हाँस्दै हुनुहुन्थ्यो।

सासू र बुहारीको भूमिकामा आएको परिवर्तन पनि निकै चोटिलो छ। कसरी र किन हिजोआजका सासूहरूले बुहारीको बुहार्तन खेप्न विवश छन् भन्ने कुरालाई हँसाउँदै विषयको उठान गरेर निबन्ध बुनिएको छ। सरको डर पनि रमाइलो छ। ‘मृत्युको विज्ञापन’ पढ्दै गर्दा म झसङ्ग भएँ। संवेदनाविहीन संवेदना के गर्नु ? साँच्चै अबदेखि नचिनेका मान्छेहरूलाई श्रद्धाञ्जली दिन हतार गर्न नहुने रहेछ, नत्र मृतकको आत्मा रुने रहेछ भन्ने बोध पनि भयो।

०००

लेखिका अनिताकाे अनुमतिमा  नागरिक दैनिक (११ कार्तिक २०८०) बाट जस्ताकाे तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
भ्रमको पुलिन्दा

भ्रमको पुलिन्दा

अनिता काेइराला
निर्ढुक्क थियो ऊ

निर्ढुक्क थियो ऊ

अनिता काेइराला
समयको ब्ल्याक होल !

समयको ब्ल्याक होल !

अनिता काेइराला
अब आउनै पर्छ जङ्गेको ‘फ्रेन्डरिक्वेस्ट’ !

अब आउनै पर्छ जङ्गेको...

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x