डा. कुसुमाकर शर्मा गौतमको ‘हिउँको राप’ तापेपछि
उहाँ भन्नु हुन्छ, ‘समाजमा हुने गरेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य / कटाक्ष गरी केही गरौँ र सुधार गरौँ भन्ने मनसायले पुस्तकाकृति तयार पारेको हूँ तथा यस पुस्तकबाट लघुकथा लेख्न सिक्नेलाई हौसला, सहयोग तथा पठन संस्कृतिको विकासको लागि खुराक हुने अपेक्षा राखेको छु ।’
रेहित सैजु :
अचेल जताततै नाफा खोज्ने हाम्रो नराम्रो प्रवृत्ति आवृत्ति भइरहँदा पुस्तक पठन संस्कृति धरापमा परेको छ । हाम्रा पुस्तकका ठेलीहरू कुनाकापमा थन्किन विवश छन् । लेखकहरू असन्तुष्ट छन् । किताब प्रकाशित गर्यो, कतै विक्री छैन । कतै मुस्किलले विक्री भयो, कुनै चर्चा / परिचर्चा छैन ।
वास्तवमा लेखक, पुस्तक र पाठक भनेका ओदान जस्तै हुन् । तर अहिले यीबीचको समन्वय कायम रहन नसक्दा यसका खुट्टाहरू मर्किएसरी भएका छन् । पाठकका रुचिअनुरूप लेखकले लेख्न नसकेका हुन् या पाठककहाँ नै पुस्तक पुर्याउन नसकेको हो, यो प्रश्न अहिले हामीमाझ भीमकाय पहाड बनी उभिएको छ ।
साहित्यिक कृतिहरू आफै पनि कम प्रकाशित हुन्छन् । ‘असल लेखक को हो त ?’ पाठकलाई चिन्न, छुट्याउन नै बडो हम्मे हम्मे छ । यसैबीचमा नेपाली साहित्यमा अझ विशेष गरी नेपाली लघुकथा क्षेत्रमा डा. कुसुमाकर शर्मा गौतमको साझा प्रकाशन मार्फत ‘हिउँको राप’ नामक लघुकथा सङ्ग्रह प्रकाशित भएर बजारमा आएको छ ।
सिस्ने ६, रुकुमकोटमा आजभन्दा झण्डै ६० वर्ष अघि जन्मिनु भएका डा. कुसुमाकर हाल एडमन्टन, क्यानाडामा रहेर नेपाली भाषा, साहित्यमा लगाव राख्नु हुन्छ । यो एकदमै सकारात्मक पक्ष हो । उहाँको यो पहिलो कृति पनि हो, उहाँलाई यस शुभकार्यका लागि हार्दिक बधाई ।
अब लागौँ किताबतर्फ
उत्कृष्ट आवरण कलाद्वारा सुसज्जित यस पुस्तकमा सामाजिक विषयका ५९ लघुकथाहरू सङ्ग्रहित छन् । सन् २०२० देखि २२ को सेरोफेरोमा रचिएका यी लघुकथाहरूमा खेमराज पोखरेलको भावनात्मक, तार्किक र ओजपूर्ण भूमिकाले सङ्ग्रह पठनीय र स्तरीय छ भनी ठम्याउन सकिन्छ ।
यस लघुकथासङ्ग्रहभित्र मसिना तथा मसिना विषयवस्तुलाइ आधार बनाएर धेरैजस्तो लघुकथाहरूको निर्माण गरिएकाे छ तर यिनै लघुकथा झन् शक्तिशाली बन्न सफल भएका छन् । लघुकथाको शीर्षक चयन, विषयवस्तु छनोट, पात्र सिर्जना, पात्रहरूको संवादले सिनेमाघरमा सिनेमा हेरेजत्तिकै आनन्द दिने खालका लघुकथाहरू सिर्जित छन् ।
विभिन्न विम्बहरूलाई समाहित गरी अन्त्यमा झटारो हान्नु र उक्त झटारोले निशाना नचुक्नु लघुकथा लेखनको सिद्धान्त हो । मलाई लाग्छ, यसभित्रका लघुकथाहरू यसै सिद्धान्तमा आधारित भएर रचिएका हुन् । यस सङ्ग्रहभित्रका लघुकथाहरू पढिसकेपछि लघुकथा लेखनमा डा. कुसुमाकर सिद्धहस्त लघुकथाकार हुनुहुन्छ भन्ने लागेको छ ।
केही विदेशका र धेरैजस्तो नेपालकै परिवेशका समाजका घटना परिघटनाहरू प्रतिविम्बित भएका छन् । कर्मथलो क्यानाडा भए पनि उहाँले जताततै नेपाल देख्नु हुन्छ, नेपाली समाज देख्नु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘समाजमा हुने गरेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य / कटाक्ष गरी केही गरौँ र सुधार गरौँ भन्ने मनसायले पुस्तकाकृति तयार पारेको हूँ तथा यस पुस्तकबाट लघुकथा लेख्न सिक्नेलाई हौसला, सहयोग तथा पठन संस्कृतिको विकासको लागि खुराक हुने अपेक्षा राखेको छु ।’
उहाँको अपेक्षाले चाँडै नै पूरा हाेस् भन्दै स्तरीय कृति प्रकाशनका लागि मुरी मुरी धन्यवाद तथा बधाई दिन चाहन्छु । जय होस् ।
०००
रामेछाप ।
Subscribe
Login
0 Comments
Oldest