रेहित सैजुसपथ खाएपछि
पदको पगरी गुँथेर अभिमानलाई तापेपछि सिकारलाई जालमा पार्न ढोक्सा थापेपछि कसले सुइँको पाउला र, हाम्रो गतिविधिको जो विपक्षीको आँखामा हिलो छ्यापेपछि ।

रेहित सैजु :
“धेरै त होइन अलिअलि सोचियाथ्यो जीवनमा
सपथ खाने व्यग्र इच्छा धड्किन्थ्यो धड्कनमा
आज बल्ल पूरा भयो, एउटा जिम्मेवारी पाएँ,
‘कामले कि बद्नाम’ले बस्नेछु यहाँहरूको मनमा ।”
नमस्कार, मेरा प्यारा देश विदेश निवासी नेपालीहरू । मेरो तुहिन लागेका विचारहरूको समर्थनमा दुवै हात माथि ठड्याउन तत्पर अन्धभक्त समर्थकहरू । आजबाट म तपाईंहरूको ऋणी भएको छु । मलाई लाग्छ, मैले जस्तोसुकै शब्दहरूले सम्बोधन गरे पनि त्यो चौलानी भन्दा पन्यालो हुनेछ । दिनहुँ मार्सी चामल, सत्र भन्दा बढी थरीका परिकार, भोजनले पनि अघाउन नसकेको म खन्चुवालाई तपाईंहरूले मेरो भोकको अवस्थालाई बुझेर सपथ खुवाउनु भएको छ । सपथ खाने मेरो ठूलो सपना थियो । फेरि यो आँखाले देखेपछि मनभित्र लोभको डेरा बस्दोरहेछ । हुन त यो सर्वव्यापी गुणै हो क्यार, म मेरा हरेक सपना जपनामा पनि सपथको रथमा चढेको नै कल्पना गरिरहन्थेँ । मेरो सपना साकार भएर विपनामा आकार ल्याउन तपाईंहरूले खेल्नु भएको भूमिकालाई म कुन शब्दले पो आभार प्रकट गरूँ… यो उन्मादै उन्मादको दोसाँधमा यतिखेर म बडो फसादमा परेको छु ।
त्यसो त मैले यो सपथ खान गरेको तपस्या सानो भने पक्कै छैन । यो तपस्या गरिरहँदा मैले थुप्रै समस्यासँग पौँठाजोरी खेल्न पुगेको छु । यसको पृष्ठभूमि खोतल्दै जाँदा मेरो बालापनमै पुग्नुपर्ने हुन्छ । मैले घरमा, विद्यालयमा गरेको व्यवहारले उबेला नै मलाई देख्नेहरूले भन्ने गर्थे, ‘यो त पक्कै नेता बन्छ’ । तर आज मैले नेता मात्र होइन मन्त्रीको सपथ समेत खाइसकेको छु । हुन पनि मैले के पो गरिनँ… छिमेकी घरको परेवा मारेर घरमा पाहुनापातलाई भनेर लुकाई राखेको धानको भात एक्लै पो खाइनँ कि ! विद्यालय हिँडेको मान्छे बीचबाटोबाटै बाटो मोडेर उरेन्ठेउले साथीहरूसँग जङ्गलतिर चरा मार्न पो गइनँ कि… ! अँ साँच्चै एकखेप त चरा लखेट्दै गर्दा बाटोमा नाचिरहेको मृग भेटेर त्यसैको पछि पछि दौडियौँ । त्यसपछिको कुरा विचरा त्यो मृगले बाँचेर आफ्नो जीजिविषा साँच्नै पाएन । चरा, मृग त कति मारियो कति । यिनीहरूको मासु त बेचेर आएको पैसा मेरो बाबाले कमाउने पैसा भन्दा धेरै हुन्थ्यो । गाउँका मै हुँ भन्नेहरूलाई खुट्टा ढोगेर मृगको मासु कोसेली दिइयो । गैँडाको खाग, हात्ती, बाघको छाला दिन मन कहाँ नभएको हो र… विडम्बना, मेरो गाउँकाे जङ्गलमा ती जीव जनावरको अस्तित्व नै थिएन । बरू कहिलेकाहीँ गाँजा, गाेटी, चरेस भने ओसारप्रसार चाहिँ टन्नै गरियो है । आजको यो सफलतामा यस्तै यस्तै क्रियाकलापहरूको हात छ भन्ने जो ठम्याइँ मेरो छ ।
स्कुल पढ्दा पहिलो, दोस्रो बेन्चमा बस्ने नजर कहिल्यै परेन । यदि केहीगरी रोटेसन गर्दा पहिलो दोस्रो बेन्चमा बस्ने पालो आयो भने त्यतिखेर कसैलाई नलागेको झाडापखाला मैलाई लाग्थ्यो । स्कुलमा आफू हल्ला गरेर सरलाई अर्कोतिर इशारा गर्नु मेरो दैनिकी थियो । अँ है एकचोटी सरले पढाउँदै गर्दा म झण्डै निदाउन लागेको थिएँ । मेरो चालामाला देखेर सरले जुरुक्कै उठाउनु भो र सोध्नु भो, ‘पढाउने बेला तँ निदाउन लागिराछस्, भन् तेरो जीवनको लक्ष्य के हो ?’
‘एमबिबिएस’- मैले निर्धक्क छाती फुल्याएर भनिदिएँ ।
विचरा ती सर अक्क न बक्क परे । हुन पनि स्वभाविकै हो, आफ्नो नाम थरको बाहेक अरु स्पेलिङ नआउने यो लबस्तरोले कसरी एमबिबिएस भन्दै छ भनेर ।
सरले तत्काल मलाई जवाफ फर्काउनु भयो, ‘चिट चोरिनस् भने कुनै पनि विषयको जाँचमा पाँच कटाउन गाह्रो छ अनि फेरि लक्ष्य चाहिँ एमबिबिएस रे… के हो एमबिबिएस भनेको पूरा रूप आउँछ ?’
‘मेम्बर अफ ब्याक बेन्चर्स स्टुडेन्ट’ – मैले शानसँग जिब्रो बटार्दै भनेँ ।
त्यसपछिको कुरा त नगर्दै वेश होला । सरले मेरो जुल्फी कपाल र्वाइँ र्वाइँ दुई झापु बाघे पञ्जाले मेरो सुकोमल ढाडमा बजार्नु भयो । हेर्नुस् न मान्छेलाई लाज भन्ने कुरा केही नहुने रहेछ, त्यो बेला रामधुलाई गोधाई दिएका सरले आज बिहानै सबेरै सम्झेर बधाई दिनु भो । कुन्नि के योजना लिएर भेट्न आउँछु भन्नु भएको छ । अनि मैले उहाँको देनलाई मनमुटुमा बसालेर हुन्छ भनेको छु ।
सामाजिक, गणित, अङ्ग्रेजी, विज्ञानलगायत अरु अरु किताब पल्टाएको इतिहास मेरो दिमागमा एक भाग पनि बस्न सकेको छैन । प्रथम हुनुपर्ने ठाउँमा अन्तिम र अन्तिम हुनुपर्नेमा प्रथम हुने मेरो अद्भूत क्षमताको कदर बल्ल आज पूरा भएको महसुस भइरहेछ । म सानैदेखि कलाहरूको शृङ्खला भएको मान्छे थिएँ । तर मेरो कलाको मूल्याङ्कन कहिल्यै भएन । बरू फेला परे रामधुलाई गोद्थे । अर्काको चीज मेरो हो भनेर दावी गर्न सक्नु चानचुने कुरा हो जस्तो लाग्दैन । अरु त अरु म गणितको समेत चिट चोर्न खप्पिस थिएँ । चिट चोरेरै मैले गाउँकाे स्कुलमा एसएलसी टप गरेको हुँ । स्कुलका मास्टर तथा मलाई चिन्नेहरूले मेरो नतिजा स्वीकार्नै गाह्रो मानिरहेका थिए । फेरि कतिले चाहिँ ‘हिरोको रोल अन्तिममा आउँछ’ भन्दै चुपचाप स्वीकारे ।
विद्यालय जीवनपछि मेरो काठमाडौंको क्याम्पसतिर सराई भयो । के विषय लिएर पढ्दै छु भन्ने थाहा पाउन झण्डै दुई वर्ष लाग्यो । साथीहरूले परीक्षाको नजिकतिर गेस पेपर, सहयोगी पुस्तक थमाइदिन्थे । परीक्षा सञ्चालन गर्ने गार्ड र मेरो अघिल्लो साँझ बफे डिनर चदल्थ्यो । अनि यस्तो रोमान्समा मैले फेल हुने चान्स नै भएन नि । पढ्नु पर्ने बेला विभिन्न युनियन, सङ्गठनतिर आवद्ध भइयो । क्याम्पसमा कक्षामा बसेको उही सङ्गठनको चुनावी प्रचार प्रसारमा मात्र हो । आफू कक्षामा बसेर नपढे पनि कुन सर पढाउन आयो, कुन सर आएन त्यसको बहीखाता मसँग हुन्थ्यो ।
हुन पनि म क्याम्पसमा नाइके नै थिएँ । सङ्गठनमा सदस्य वृद्धि गर्ने देखि लिएर सङ्गठनलाई सक्रिय बनाउने सबै सबै भ्याउथेँ । अनेक निहुँमा क्याम्पसमा तालाबन्दी लगाउने कार्य हाम्रो सङ्गठनको लागि औँसी पूर्णे जस्तै थियो । आन्दोलनमा सहभागी हुन नियमित नै जान्थेँ । उता गाउँको जङ्गलमा गुलेली खेलाएको सिपले आन्दोलनमा ढुङ्गा हुइँक्याउन खुब काम गर्यो । आन्दोलनमा सबैभन्दा टाढा ढुङ्गा मैले पुर्याउन सक्थेँ । कतिले त मलाई क्रिकेटको फास्ट बलरको रूपमा प्रयास गर्न जानु भन्ने सल्लाह दिन्थे । ढाल लगाएका पुलिसहरू मेरो ढुङ्गा खाइने पो हो कि भनेर डराउँथे । मेरो फोक्सोमा अक्सिजन र कार्वनडाइअक्साइड ग्याँस भन्दा बढी अश्रु ग्याँसले भरिएको छ । जेलमा कतिचोटी गयो भनेर मलाई सोध्दै नसोध्नू । बिहान डेरामा खाना खाएपछि त्यसको निष्कासन जेलमा हुन्थ्यो । पुलिसहरू मबाट फूलिस (मूर्ख) भइसकेका थिए । उनीहरू घरव्यवहारको कारणले होइन मेरो कारणले सरुवा माग्थे ।
मेरो विचारमा राजनीतिको दहमा होमिएपछि सामाजिक कार्य झन् अपरिहार्य तत्व हो झैँ लाग्छ । यस विषयमा म निकै अगाडि पर्छु । गाउँ छिमेकमा कसैको बिहे, भोज लगायतका कार्यक्रम हुँदा स्कुल बन्द हुनुपर्छ भनेर झडपको ललिपप खुवाउने मै हुँ । चिन्ने नचिन्ने कतिको जन्ती, मलामी गइयो । मान्छे त मान्छे भइहाले, गाडी हिँडे पनि नहिँडे पनि भैँसी हिँड्नुपर्छ भन्ने सिद्धान्तमा सडक योजना पेश गर्ने मै हुँ । कृषि सडक भनेर खेत खेतमा सडक पुर्याइयो । अकोँ सालको बर्खाले सडक खेत सबै सबै बगाएपछि मेसिनरी वाल, ड्याम्प निर्माणको लागि बजेट पार्ने पनि मै हुँ । वृक्षारोपण कार्यक्रम, कृषि कार्यक्रम, रोजगारका कार्यक्रम लगायतका अनेकौँ कार्यक्रममा भुमिका खेल्दै आइरहेको छु । यदि मैले दम नचलाएको भए यी कार्यक्रम नै हुने थिएनन् ।
आर्थिक पाटो चाहिँ गोप्य नै राख्दा ठिक होला । सबैलाई थाहा भएकै कुरा हो नेपालमा नेताहरूले पैसा कसरी कमाउँछन् भनेर… । म पनि त्यो वर्गबाट कसरी अछुतो रहन सक्थेँ र… । संविधानमै ‘गोपनियताको हक’ उल्लेख भएपछि गोप्य राख्न पाउनु मेरो मौलिक अधिकार हो । यो पदमा रहेपछि मैले हदमा बस्नै पर्ने हुन्छ, त्यसो नगरेको खण्डमा मेरो पदच्यूत नै हुन सक्ने सम्भावना पनि बुझेको छु । बरू यो सपथ खाएपछि ग्यास्ट्रिक पो हुन्छ कि हुन्न होला… ? नभए त राम्रै हो यदि भइहाल्यो भने कस्ता कस्ता सलाद खानु पर्ने होला… ? आशा छ, यस विषयमा जानकारहरूले बताउनेछन् । र अन्त्यमा देश विकास प्रणालीमा आली लाउने बाउँसे सम्झेर मलाई सपथ खुवाउनु भएकोमा सम्बन्धितहरूप्रति नतमस्तक छु । यहाँहरूले सिकाइदिनु भएको धर्ममा मबाट कुनै कुकर्म नहुनेमा विश्वास दिलाउन चाहन्छु । यहाँहरूकै लोलीमा यो तोते बोली मिलाउने छु । जय देश ।
प्रतिपक्षलाई पक्षमा फर्किन आह्वान गर्नेछु
आवश्यक परे हानाहान, तानातान गर्नेछु
गरेपछि हुनेभनेकै विकास या त विनाश हो,
बल्ल पाएको सपथको सदैव सम्मान गर्नेछु ।
पदको पगरी गुँथेर अभिमानलाई तापेपछि
सिकारलाई जालमा पार्न ढोक्सा थापेपछि
कसले सुइँको पाउला र, हाम्रो गतिविधिको
जो विपक्षीको आँखामा हिलो छ्यापेपछि ।
०००
रामेछाप, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































