
झर्रो संस्कृति र ‘झड्केलो छोरो’
साहित्य भनेको सम्भ्रान्त वर्गको विलासी कर्म हो भन्ने भाष्यलाई दुबै साहित्यिक बन्धुले एकाएक भत्काइदिएका छन् । जनताको आवाजलाई शब्दमा बदलेर साहित्यलाई सर्वसाधारणसँग जोड्ने काम दुबै बन्धुले सजिलै गरेका छन् ।

नन्दलाल आचार्य :
देशविदेश घुमेका, अनेक पुस्तकपत्रिका पढेका, थरीथरीका मान्छेको संगत गरेका व्यक्तिसँग शब्दभण्डारको ठूलो भकारी हुन्छ । तत्सम, तद्भव, आगन्तुक शाब्दिक, भाषिक बोध छेलोखेलो हुन्छ ।
दोस्रो कोटीका मान्छे जसले देशविदेशको संगत गरेका हुँदैनन्; ज्ञानविज्ञानको महासागरमा हेलिएका रहँदैनन्; हेलिइहाले पनि आफ्नोपनलाई मुटु मानेका हुन्छन् । उनीहरू नेपाली माटोमा भिजेका, हुर्केका, फस्टाएका र मौलिक चिन्तन बोकेका नेपाली शब्दहरू नै प्रयोग गर्न रुचाउँछन् । आफूसँग पर्याप्त शाब्दिक सामथ्र्य हुँदाहँुदै अन्य भाषाबाट पैँचो लिएर बकम्फुसे आधुनिक बन्न किमार्थ रुचाउँदैनन् । दोस्रो कोटीमा बलियो गरी खुट्टा टेकेका उदयपुरको कटारी निवासी भीम पौडेल ‘घाँसे’ (२०१८) ले रविमाला कविता सङ्ग्रहपछि हालै उपन्यास कृति प्रकाशन गरेका छन्- ‘झड्केलो छोरो’
उदयपुर चौदण्डीकी कवयित्री सिर्जना सरोवर ओडिसा, भारतका कवि हलधर नाग (ई.१९५०) सँग तुलना गर्दै ‘घाँसे’ का बारेमा भन्छिन्- ‘घाँसे’ नेपाली साहित्यका हलधर नाग हुन् । उनको सद्य उपन्यास कृति ‘झड्केलो छोरो’ पढेर प्रतिक्रिया दिँदै कञ्चनरूप १२, रूपनगर, सप्तरीकी सर्जक लक्ष्मी रिजाल भन्छिन्- नेपाली साहित्यको अजम्बरी फूल हो ‘झड्केलो छोरो’ । यो पारिजातको ‘शिरीषको फूल’ लाई उल्टाएर बनेको हो । सर्जकहरू सिर्जना र लक्ष्मीले यस्ता कुरा भन्नुको कारण पछि खुलाउने सोच राख्तै म भने ‘झड्केलो छोरो’ लाई झर्रो संस्कृतिसँग जोड्दै छु ।
हिन्दीमा आगन्तुक शब्द लेखेजस्तै नेपालीमा पनि लेखिन थालेपछि नेपालीपन नस्ट भएको अनुभूत गर्दै २०१३ सालमा झर्रोवादी आन्दोलन चलेको थियो । चूडामणि रेग्मी, तारानाथ शर्मा, बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल, कोषराज रेग्मी लगायतले ‘झर्रोवादी आन्दोलन’ चलाए । त्यो पछि आएर नेपाली साहित्यको आन्दोलनमा मानक बन्न पुग्यो ।
त्यसअघि नै २०१२ फागुनमा संखुवासभाको चैनपुरमा २४ युवा अभियन्ताले पूर्वीय युवा भेला आयोजना गर्दै गठन गरेको जनसांस्कृतिक सभाले झर्रो भाषा-संस्कृतिका पक्षमा अभियान अघि चलाएको थियो । २०१३ सालबाट ‘नौलो पाइलो’ पत्रिकामा प्रकाशित ‘झर्रो संस्कृति र साहित्यको नमुना’ शीर्षकको लेखले झर्रो आन्दोलनको जग बसाएको थियो ।
पछि आएर ‘नौलो पाइलो’ पत्रिका काठमाडौं, बनारस र विराटनगरबाट समेत निस्कियो । झर्रोवादको मूल अभीष्ट आगन्तुक भाषाको बहिष्करण थिएन । आगन्तुक शब्दलाई नेपालीकरण गरेर मात्रै प्रयोग गरिनुपर्छ भन्ने थियो । यसो हुँदा नेपाली भाषाको मौलिक लवज बाँच्थ्यो । कसैको पिछलग्गु बनेर हैन आफ्नोपन लिएर रहन सक्थ्यो ।
झर्रो आन्दोलनको अभियानलाई सिद्धान्त र व्यवहारमा बढी प्रयोगपरक बनाउने काममा साहित्य सिर्जनाले नेतृत्वदायी भूमिका खेल्यो । गाउँघरमा बूढापाकाका जनजिब्रोमा सिमित भएका लोप हुन लागेका शब्द खोजीखोजीकन साहित्यमा प्रयोग गर्ने अभियान नै चल्यो । घाँसेको ‘झड्केलो छोरो’मा पनि त्यस्ता नेपाली माटोमा उम्रेका र नेपाली हावापानीमा सिँचित भएका झर्रा शब्दहरूको बर्गेल्ती प्रयोग छ ।
बाहिरी भाषाको नचाहिँदो प्रभावबाट मुक्त रहेका, अध्ययनका दृष्टिले प्राज्ञिक र विश्वविद्यालय तहको पहुँचमा नपुगेका कारणले पनि घाँसेले उपन्यासमा प्रयोग गरेका शब्दको हिज्जेलाई नेपालीकरण र सरलीकरण गर्ने काम गरेका छन् ।
मताबे, बिङ्गा, ओझायो, काउकाउ, सटारो, चाक्लो, खड्कान, मेखमारी, भुकभुके, चरुवा, खाइनपाइन् जस्ता धेरै नेपालीकरणका मौलिक शब्दहरूको मिठासपनबाट मुख मिठ्याउन पाइन्छ उपन्यास पढ्दा ।
झर्रो शैलीमा लेखिएको तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्ता’ निबन्धको झर्रोरस ‘झड्केलो छोरो’ मा प्रशस्त भेटिन्छ । यस हिसाबले प्रायोगिक रूपमा झर्रोवादी आन्दोलनमा टेवा पुर्याउने काम घाँसेको ‘झड्केलो छोरो’ले गर्यो भन्दा अतिशयोक्ति नहोला ।
सर्जक सिर्जना र लक्ष्मीको बुझाइमा घोत्लँदा फेला परेका कुरा अघि सार्दै छु- हाम्रो सामाजिक अस्तित्व द्वैध चरित्रको छ । पागल चरित्रलाई साधुराम देख्छ । खाट्टी साधुलाई शूलीमा चढाउँछ । गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटाहरुलाई फरक-फरक विषयका पागलहरू भनी उपमा भिराउँछ ।
खाली खुट्टा, सेतो धोती र बनियानको परिधानमा रहन रुचाउने भारतीय लोककवि हलधर नाग पनि पागलभित्रका यस समयका महापागल हुन् । उनको सादगीपूणर् जीवन बाँच्ने पागलपनको धुनले विचित्रको त्याग देखाउने हठ गर्यो । उनी जीवन र माटोको नाता अत्यन्त गहिरो देख्छन् । माटोलाई स्पर्श गरिरहन आनन्द मान्छन् । जीवनभर तिखा काँडाहरूका घोचाइहरूलाई सहर्ष स्वीकार गर्न सक्नु पनि सानो पागलपन पक्कै होइन । उनका लागि माटो पर्दामर्दाको सबैभन्दा नजिकको साथी हो । चप्पल, जुत्तामा सजिएर साथीहरूबाट टाढिन उनी किमार्थ चाहँदैनन् । उनी माटोसँगको स्पर्श सकिँदा स्वतः आफ्नो जीवन पनि सकिने ठान्छन् ।
हलधर नागझैँ एक भुईं मान्छे उपन्यासकार घाँसे पनि हुन् । हलधरले झैँ घाँसेले पनि जीवनका धेरै कविता बनाए । हलधरले खाली खुट्टा हिँडेरै गाउँगाउँ पुगेर सुनाए । तर घाँसेले गाउँगाउँको व्यथालाई अक्षरमा रूपान्तरण गरी साहित्यको माला बनाए । आफूले भोगेको जीवनलाई आफूले देख्न चाहेको जीवनमा रूपान्तरण गरे । यस्ता बाहिरबाट देख्नेहरूका लागि पागलपनका खेलहरू हलधरलेझैँ घाँसेले खेलिरहेका छन् ।
हलधर दलित र गरिब परिवारमा जन्मेका थिए । क्षत्रीकुलमा जन्मे पनि घाँसे गरिवीसँग संघर्ष गर्न कम्मर कसिरहे । दुबैको बाल्यकाल र किशोरकाल अत्यन्त कष्टकर बित्यो । दुबै भोक र गरिबीसँग लडे । संघर्षलाई जीवन बनाए । सहारा दिने आमाबाबुको मृत्युपछि परिवारको बोझ लामो समयसम्म काँधमा बोके । दुबैले पेटभरि खाना खान पनि पाएनन् । दुबैको सामान्य पढाइ सकिन नपाउँदै विद्यालयीय जीवन छुट्यो । दुबैले पढाइ छोडेर काम गर्नुपर्यो । अर्काको हरेक खाले मजदुरी गरेर जीवनयापन गर्नुपर्ने बाध्यता एकातिर थियो भने कविता/साहित्य सिर्जना गर्ने धुन अर्कोतिर रहर बनेर दुबैको घाँटीमा झुन्डिरहेको थियो ।
यी दुबैले बाँचेको जीवनको अनुभवले पहिले नै सगरमाथाको चुली चुमिसकेको थियो । दुबैको जीवनशैली नियाल्दा शान्त र शालीन मान्छे देखिन्छन् । आफ्नो इमान र साधनाले उचाइ प्राप्त गरेको भेटिन्छन् । तर दुबैका कृतिमा विद्रोही चेतना प्रशान्त महासागर बनेर छचल्किरहेको भेटिन्छ । दुबै साहित्यिक व्यक्तित्वले जोकोहीलाई पनि नतमस्तक बनाउँछ ।
साहित्य भनेको सम्भ्रान्त वर्गको विलासी कर्म हो भन्ने भाष्यलाई दुबै साहित्यिक बन्धुले एकाएक भत्काइदिएका छन् । जनताको आवाजलाई शब्दमा बदलेर साहित्यलाई सर्वसाधारणसँग जोड्ने काम दुबै बन्धुले सजिलै गरेका छन् ।
सन् २०१६ मा भारत सरकारले हलधरलाई पद्मश्री अवार्ड दियो । औपचारिक शिक्षाका रूपमा कक्षा ३ सम्म मात्र पढेको भए पनि हलधरलाई विश्वविद्यालयले मानार्थ पीएचडी अवार्ड समेत दिलायो । आडम्बररहित जीवनमा आफूलाई अभ्यस्त पारिसकेका घाँसेले पुँजीवादी समाजका भौतिक सुखसुविधाहरूलाई नछोई हलधरको उचाइ चुम्न पनि निरन्तर खारिँदै जानुपर्छ । घाँसेका लागि समेत नेपाली पद्मश्री अवार्ड कुरेर बसेको हुनुपर्छ ।
हलधर नागले राष्ट्रपति प्रणव मुखर्जीबाट सन् २०१६ मा पद्मश्री पुरस्कार पाउनु अघि नै ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले उनलाई मासिक १८ हजार ५०० रुपैयाँ कलाकार भत्ता दिइरहेका थिए । ओडिशा सरकारले बस्नको लागि जग्गा पनि दिएको थियो । त्यसमा एक डाक्टरले आफ्नै खर्चमा घर समेत बनाइदिएका थिए । डा. हलधर नागको जन्म ३१ मार्च १९५० मा ओडिशाको बरगढ जिल्लाको गेन्स गाउँमा भएको थियो । उनले लेखेका कवितामा पीएचडी गर्नेहरू धेरै छन् । नागका धेरै प्रसिद्ध कृतिहरू संकलित हलधर ग्रन्थावलीलाई विश्वविद्यालयहरूको पाठ्यक्रममा पनि समावेश गरिएको छ ।
यी सारा कुरा बुझेपछि घाँसेलाई नेपाली हलधर नागको उपमा दिनु कवयित्री सिर्जना सरोवरको उक्ति श्रेयस्कर लाग्यो । घाँसेको उपन्यास मृत्यु वा ध्वंशलाई पराजय गरी आदर्श जीवन शैलीमा टुङ्गिएको कारण ‘शिरीषको फूल’ बिर्साइदिने भन्नु पनि लक्ष्मीको मत मनासिब छ । ‘रुपमती’ले स्थापना गरेको आदर्शोन्मुख समाजमा एउटा सुन्दर औपन्यासिक भवन निर्माणको काममा घाँसे जुटेका देखिन्छन् । समाज रूपान्तरणको बाटोमा उपन्यासकारको कलम निरन्तर दगुरोस् भन्ने चाहना र शुभकामना व्यक्त गर्दछु ।
०००
२०८०-०४-०६
सिद्धार्थटोल, उदयपुर । हाल- सिर्जनाकुटी, सिरहा