भुइँचालो
खटिया र घरको छानो नै काँपिरहेको थियोे । साथमा दाजु पनि काँपेको देखेँ । उहाँ भने कामको सुरमा रहेरै मलाई खिल्ली उडाउन व्यस्त हुनुहुन्थ्यो ।
नन्दलाल आचार्य :
“यस्तरी के कामेको, लाजमर्दो ?”
खटियामा बसेर हिसाब बनाइरहँदा दाजुले मलाई यसो भन्नुभयो । त्यसबेला उहाँ बट्नेउटोको सहयोगले दाम्लो बाटिरहनुभएको थियोे । म भने उहाँले नै दिएको हिसाब गरिरहेको थिएँ ।
अङ्ग्रेजी र गणित मेरा लागि काल नै थिए । कनिकुथी कखरा छिचोलेर अरू विषयमा उत्तीर्ण हुन्थेँ । अङ्ग्रेजी र गणितमा भने कमजोर नै थिएँ । आमाले पनि कमजोर विषय नै सिकाउन भन्नुभएको थियोे दाजुलाई ।
दाजुले दिएको काम भने पछि अरू बेला समेत मेरो मुटु काँप्न थाल्थ्यो । यद्यपि त्यसबेला मुटु मात्रै नभएर मेरो पूर्ण शरीर नै काँपिरहेको थियोे । खटिया र घरको छानो नै काँपिरहेको थियोे । साथमा दाजु पनि काँपेको देखेँ । उहाँ भने कामको सुरमा रहेरै मलाई खिल्ली उडाउन व्यस्त हुनुहुन्थ्यो ।
“म मात्रै हैन, तपाईं पनि काम्दै हुनुहुन्छ ।”
मैले यसो भन्नासाथ उहाँले हतारहतार मलाई नै बोकेर बारीको खुला पाटातिर हानिँदै कराउनुभयो- खुला ठाउँतिर भागौँ । नभ्याए खाटमुनि पसेर सुरक्षित बनौं । भुइँचालो आयो, भुइँचालो …….. !
०००
उदयपुर