सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ ग्रन्थ : महत्वपूर्ण प्राप्ति

भैरव अर्यालको हास्यव्यङ्ग्य शिल्पका बारेमा धेरैले भनेका कुरा यसमा परेका छन् तर अरु कसैले नभनेका कुरा पनि प्रशस्त फेला पार्न सकिन्छ । यस ग्रन्थकाे एउटा थप विशेषता याे पनि हाे ।

Nepal Telecom ad

हास्यव्यङ्ग्य महारथी भैरव अर्याल ग्रन्थ

(समालोचक ठाकुरप्रसाद भण्डारीद्वारा लिखित भैरव अर्यालका समग्र हास्यव्यङ्ग्य कृतिमाथि गरिएको समालोचनात्मक कृति ‘हास्ययङ्ग्य महारथी भैरव अर्याल’ सुरभि साहित्य प्रतिष्ठानबाट भर्खरै प्रकाशित भएको छ । गत ०८० जेठ १५ गते भव्य समारोहबिच लोकार्पण पनि भयो । लोकार्पण समारोहमा प्रस्तुत समीक्षात्मक टिप्पणीको क्रममा व्यक्त विचारहरूको टिपोट हो यो ।)

१.
कुराको थालनी चाहिँ भैरव अर्यालका बारेमा मैले २२ वर्षअघि बोलेको सन्दर्भबाट गरुँ भन्ने लागेको छ । २०५८ तिरको भैरव पुस्कार बितरण समारोहमा भैरव पुरस्कार गुठीले अर्यालबारेमा बोल्नका निम्ति आग्रह गरेको थियो । समारोहमा मैले बोल्नका लागि तयार गरेको टिपोटलाई थोरै बिस्तार गरी सानो आलेखको स्वरुप दिएँ र त्यो संझना भैरव स्मृतिग्रन्थमा प्रकाशित पनि भएको छ ।

मैले त्यो बेला भैरवलाई नेपाली हास्यव्यङ्ग्यका सगरमाथा हुन् भन्दै उनको समग्र व्यक्तित्व र कृतिहरूको मूल्याङ्कन, पुनर्मूल्याङ्कन हुन नसकेकोमा चिन्ता व्यक्त गरेको थिएँ । मैले भनेको थिएँ- “२०१७ पछि नेपाली हास्यव्यङ्ग्यलाई सर्वाधिक उचाइमा पुर्‍याउने एक्लो वीर भैरव अर्याल हुन् । नेपाली कविता-काव्यका देवकोटा जस्तै नेपाली हास्यव्यङ्ग्यका सगरमाथा अर्यालको हास्यव्यङ्ग्यकारिताका बारेमा समग्र मूल्याङ्कन, समीक्षा तथा समालोचना हुन सकेको छैन । अर्याल नेपाली हास्यव्यङ्ग्यको भूत, वर्तमान र भविष्य पनि हो । त्यसकारण अर्यालको ऐतिहासिक योगदानको लेखाजोखा, मूल्याङ्कन एवम् पुनर्मूल्याङ्कनका सम्बन्धमा सम्बद्ध सबैको ध्यानाकृष्ट हुनु जरुरी छ ।”

२.
बितेका यी २२ वर्षमा भैरव पुरस्कार गुठीले भैरवबारे धेरै कार्यहरू गरेको छ । भैरवका कृति तथा रचनाहरू प्रकाशन पुनर्प्रकाशन गरेर हास्यव्यङ्ग्यका पछिल्ला पाठकहरूलाई भैरव पढ्न सहज बनाउँदै आएको छ । तथापि भैरवको समग्र व्यक्तित्व र कृतिहरूको मूल्याङ्कनमा आधारित ग्रन्थ निकाल्नेतर्फ गुठीले अगुवाइ र नेतृत्व गर्नुपथ्र्यो भन्ने मलाई लागिरहेकै हो । यस अर्थमा सुरभी साहित्य प्रतिष्ठानले बाजी मार्‍यो र आज भैरवका समग्र कृतिहरूको सुव्यवस्थित समीक्षा गरिएको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ नामक ग्रन्थ लोकार्पित भएको छ । भैरव अर्याल पढ्दै आएका र पढ्न खोज्ने नयाँ पुराना सबैका निम्ति यो खुसीको कुरा हो । म त आल्हादित भएको छु । ग्रन्थ लेखनमा परिश्रम गर्नु हुने बलिया समालोचक ठाकुर शर्मा भण्डारी, प्रकाशनको आँट गर्ने सुरभि साहित्य प्रतिष्ठान, सुरभिलाई पनि आँट भर्ने गोकर्णेश्वर  नगरपालिका र यसको नेतृत्व तहलाई साधुवाद भन्छु ।

३.
समालोचनामा सिद्धहस्त व्यक्तित्व ठाकुर शर्माका दर्जन बढी समालोचनात्मक कृति प्रकाशित भैसकेका छन् । फुटकर समालोचना एवम् समीक्षाहरूको सङ्ख्या नै पनि पर्याप्त देखिन्छ । छन्द संरचनामा कविता काव्यका स्रष्टा एवम द्रष्टा ठाकुर शर्मा भण्डारी स्पष्ट दृष्टिकोणका साथ समालोचनामै केन्द्रित हुनुहुन्छ । उहाँले भैरवका हास्यव्यङ्ग्य रचना र कृतिहरूलाई यस ग्रन्थ मार्फत पर्गेल्नु भएको छ । हास्यव्यङ्ग्यीय सिद्धान्त र दृष्टिकोणको आड लिएर निणर्यात्मक मूल्याङ्कन अघि सार्नु भएको छ ।


चारवटा खण्ड वा प्रकरणमा झण्डै ३०० पृष्ठ ओगटेको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृति भैरव अर्यालको संश्लेषित परिचयबाट आरम्भ भएको छ । पहिलो खण्डमा निबन्ध संरचना, यसको विधागत उपस्थिति, विषयगत र नेपाली हास्यव्यङव्यङ्ग्य लेखनको इतिहास कोट्याउँदै भैरव अर्यालको योगदान-चर्चामा २० पृष्ठ खर्चिएको देखिन्छ । यसमा नेपाली हास्यव्यङ्ग्य लेखनको छनक दिने शक्तिवल्लभको ‘हास्यकदम्व’, गुमानी पन्तको ‘साँढ्याको कवित्त’ र ज्ञान दिलदास हुँदै आदि व्यङ्ग्यकार भानुभक्तको ‘रोज् राेज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछु’ कवितासम्मको उल्लेख गरिएको पाइन्छ ।

५.
हास्यव्यङ्ग्यको समृद्ध र कौशलपूणर् अभिव्यक्तिमा भानुलाई भेटिए पनि उनका ३, ४ वटा फुटकर श्लोकमै मात्र हामीले चित्त बुझाउनु परेको, एकै पटक १९९० को दशकपछि केशवराज पिँडालीका फाट्टफुट्ट निबन्धमा देखा परि कृतिको रूपमा ‘खै खै’ पाउन २०१६-०१७ सालसम्म पर्खिनु परेको सङ्केत कृतिकार ठाकुरले गर्नु भएको छ ।

६.
२०१३-०१४ सालदेखि हास्यव्यङ्ग्य लेखनतिर लहसिएर २०१९ सालमा बेजोडको हास्यव्यङ्ग्य कृति ‘काउकुति’ प्रदान गर्ने भैरव अर्यालका त्यसपछिका सबै कृतिहरूको कृतिपरक पर्यावलोकन गरिएको छ दोस्रो खण्डमा ।

७.
अघिल्लो चरणका ‘काउकुती’, ‘जयभुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दशऔतार’, प्रवेशिका निबन्ध’ र अर्यालका पछिल्लो चरणका थप हास्यव्यङ्ग्य कृति ‘टेढो ऐना’, ‘राजीनामा’ समेतको समालोचना यस ग्रन्थमा समेटिएको छ । यिनका अतिरिक्त भैरवको समालोचनात्मक सिप उजागर गर्ने ‘भैरव अर्यालका समीक्षा’को समीक्षण गर्दै उनका कविता-काव्यमा प्रकृति’ भित्रको प्रकृति खुट्याउनेसम्मको कार्य समालोचक ठाकुर शर्माले गर्नु भएको छ ।

८.
सङ्ग्रह भित्रका हरेक निबन्धको शीर्षकमा छिरेर त्यसले समेटेको विषय क्षेत्र, असङ्गति-विसङ्गतिका तत् तत् सन्दर्भ समेत केलाउँदै भैरव अर्यालको हास्यव्यङ्गीय शिल्पचातुर्यको विस्तृति गरिएको छ । सङ्ग्रहका एक एक निबन्धलाई चालेर, निफनेर केलाउनु कम कष्टसाध्य कार्य हुँदै हैन भन्ने मलाई लाग्छ ।


तेस्रो खण्डमा भैरव अर्यालका गीत, कविता र काव्य अन्तर्गत ‘उपवन’, ‘राष्ट्रिय आव्हान’, ‘विरही राम’, ‘कारिन्दाको दिनचर्या’ र ‘के भयो ?’ कृतिमाथि गरिएको विश्लेषण-विवेचनलाई प्रस्तुत गरिएको छ । यस खण्डले भैरव अर्यालको ओझेलमा परे वा पारिएको कविता काव्यगत क्षमता पनि उत्तिकै बलशाली रहेको तथ्य ठाकुर शर्माले प्रकट गर्नु भएको छ ।

१०.
चौथो खण्डको उपशीर्षक नै विविध राखेर झण्डै परिशिष्टको झल्को दिने गरी भैरव अर्यालका हास्यव्यङ्ग्य इतर सामग्रीहरूको समेत सन्दर्भ-चर्चा सहित विवेचन गरिएको छ ।

११.
यसरी हेर्दा पहिलो खण्डमा ३ वटा, दोस्रो खण्डमा १० वटा, तेस्रो खण्डमा ५ वटा र चौथो खण्डमा ५ वटा गरी २३ वटा मूलशीर्षकमा आधारित भएर भैरव अर्यालको समग्र मूल्याङ्कन, रेखाङ्कन, समीक्षण तथा विश्लेषण गरिएको छ । हरेक मूल शीर्षकको अन्त्यमा निस्कर्षात्मक धारणा राखिएको छ ।

१२.
भैरव अर्याल बहुमुखी र बहआयामिक प्रतिभा सम्पन्न व्यक्ति थिए । उनको लेखनको विधागत क्षेत्र समेत निकै व्यापक थियो, निबन्ध उनको लेखनको मूल क्षेत्र हुँदाहुँदै पनि उनले कवितामा कलम चलाएका छन्, जमेर समीक्षा समालोचना गरेका छन्, दशऔतारका कतिपय समीक्षामा त उनले हास्यव्यङ्ग्यात्मक शैली नै अपनाएका छन्, गीत लेखेका छन्, अर्काकै नाममा छापिए पनि नियात्रापरक संस्मरण लेखेका छन् । प्रहसानात्मक एकाङ्की पनि भेटिएको छ । यसरी भेटे र पाइएसम्मका अर्यालकृत कृतिहरूको विश्लेषण-विवेचना एउटै ग्रन्थमा समेट्ने जुन प्रयत्न यहाँ गरिएको छ- यो सर्वथा प्रशंसनीय छ । ठाकुर सर तपाइँलाई हार्दिक बधाई छ, यो दुष्कर कार्यका निम्ति ।

१३
यस ग्रन्थका केही थप विशेषताहरूलाई यसरी बुँदामा बाँधेर उल्लेख गर्न सकिन्छ :-
क) भैरव अर्याल नेपाली हास्यव्यङ्ग्यका सगरमाथा नै हुन् भन्ने वस्तुतथ्यलाई समालोचक ठाकुर शर्माको यस समालोचनात्मक कृतिले प्रामाणिक ढङ्गले पुष्टि गरिदिएको छ ।

ख) हास्य र व्यङ्ग्यको उपयुक्त सन्तुलनकै बलले अर्याललाई नेपाली हास्यव्यङ्ग्यको सर्वोच्च उचाइमा पुर्‍याएको हो भन्ने आधार र प्रमाण यस ग्रन्थमा ठाकुर शर्माले पर्याप्त विन्यास गर्नु भएको छ ।

ग) हरेक मूल शीर्षक अन्तर्गत रहेका विवेच्य कृतिहरूको यथोचित विवेचना-विश्लेषण गरिसकेपछि त्यस कृतिले उपस्थापन गरेको विचार, विषयव्याप्तिमा अटाएको प्रक्षेपण र प्रहारको तिक्ष्णता र प्रभावलाई सारसंक्षेप गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।

घ) आम पाठकहरूको पहुँचमा नपुगेका वा अप्राप्य रहेका भैरवका कतिपय रचना वा कृतिहरूको समेत चर्चा, समीक्षा र विश्लेषण यस ग्रन्थमा परेको छ ।

ङ) भैरव अर्यालका हास्यव्यङ्ग्यले राष्ट्रिय स्तरका विकृति र विसङ्गतिमाथि लेथ्नु त काढेकै छन् । उनको प्रहारको निसाना अन्तर्राष्ट्रिय तहमा प्रकट भएका विकृतितिर पनि सोझिएको, प्रक्षेपण भएको कुरालाई यस कृतिले पुनर्पुष्टि गरिदिएको छ ।

च) भैरव अर्यालको हास्यव्यङ्ग्य शिल्पका बारेमा धेरैले भनेका कुरा यसमा परेका छन् तर अरु कसैले नभनेका कुरा पनि प्रशस्त फेला पार्न सकिन्छ । यस ग्रन्थकाे एउटा थप विशेषता याे पनि हाे ।

छ) ग्रन्थमा प्रयुक्त भाषा सरल, सहज र संवेद्य छ, अनावश्यक लालित्य भरेर भन्न खोजेको कुरा पहिल्याउन निधारका नसा खुम्च्याइरहनु पर्दैन ।

ज) ठाकुर शर्माको यो समालोचनात्मक ग्रन्थ पढ्दा मलाई हास्यव्यङ्ग्य कृतिहरूमाथि गरिँदै आएका परम्परित समालोचनाहरूको एकरसता भन्दा पृथक अनुभूति भएको छ । समालोचनाका पाठकहरूलाई यसरी पृथक पृथक अनुभूति दिने समालोचकीय क्षमता प्रकट हुनु पनि यस ग्रन्थको विशेषता हो ।

केही सुझाव भनुँ कि टिप्पणी
समालोचनाकै समालोचना गर्ने आधिकारिक व्यक्ति म हुँदै हैन । भैरव अर्याल केन्द्रित यो समालोचनात्मक ग्रन्थ पढेपछि मलाई लागेका एक दुई प्रसङ्ग कोट्याएर म मेरो मन्तव्यलाई बिट मार्न चाहन्छु ।

१. पहिलो खण्डको आरम्भमा भैरवको संश्लेणात्मक परिचय दिइएको त छ तर उनको जीवनका महत्वपूर्ण घटना प्रसङ्गलाई प्रस्तुत गरिएको भए हुन्थ्यो । अरु १०/१२ पेज थपिन्थ्यो कति नै फरक पर्थ्याे  र ? यसो गर्दा भैरव अर्याललाई पाठकले जीवनीगत र कृतिगत दुवै ढङ्गले पढ्न पाउने थिए कि ?

२. चौथो खण्डमा थप एउटा शीर्षक संयोजन गरी भैरव अर्यालका कृतिहरूमाथि यस अघि भएका शोध-अनुसन्धान, समीक्षा एवम् मूल्याङ्कनहरूको संश्लेषित विवरण दिन पाएको भए यस ग्रन्थको ओज र गरिमा अझै बढ्ने पो थियो कि ?

३. भैरव पुरस्कार गुठी स्थापनापछि भैरवको स्मृतिलाई जीवन्त राख्न गरिएका अथकित प्रयत्नहरूको संंक्षेपीकृत जानकारी पनि यसमा अटाउन सकेको भए सुन त छँदै थियो अझ सुगन्ध नै थपिन्थ्यो कि ?

अन्त्यमा,
भैरवले टेकेको गोकर्णेश्वरको यो माटो शिरमा चढाउँदै म के भन्न चाहन्छु भने भैरव, वासुदेव, पिँडालीहरूले उठाएको हास्यव्यङ्ग्यको प्रभावशाली झण्डा अहिले अलि लत्रिन लागेको महसुस गरि लत्रिन नदिने अठोटकासाथ मट्याङ्ग्रा हान्दै अत्याधुनिक प्रविधि आत्मसात गरेर फित्कौली जुर्मुराइरहेको छ । हास्यव्यङ्ग्य अभ्युत्थानको यो अभियानमा भैरव पुरस्कार गुठी, वासुदेव लुइँटेल गुठी, सुरभि साहित्य प्रतिष्ठान, सिस्नुपानी नेपाल र गोकर्णेश्वर नगरपालिका लगायत हास्यव्यङ्ग्यप्रेमी सबैसबैसँग सहकार्य र सहसम्बन्धका लागि फित्कौली हातेमालो गर्न चाहन्छ । म हार्दिक आव्हान पनि गर्दछु । यति भन्दै म मेरो भनाइ यहीँ टुङग्याउँछु । मेरा कुरा सुनिदिनु भएकामा यहाँहरू सबैप्रति आभारी छु ।

०००
०८० जेठ १५
गोकर्णेश्वर, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे