सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भेटेको मोबाइल

चेल फेसबुकाँमा मसँग छोरी मान्छे मात्रै झुम्मिन्छन् । तीमध्ये एउटी पुलिस्नी छोरी मान्छे छे । पिल्सिङ पकाएपछि म तपैँसँग बिहे गर्छु भन्छे । बुडेसकालमा बसीबसी खाऔँला भन्छे । अब तिमी के भन्छ्यौ ? म के गरुँ ?

Nepal Telecom ad
नन्दलाल आचार्य :
म हडबडमा थिएँ । एक्लैदोक्लै बिहानै मर्निङ वाकमा थिएँ । खासमा बिहानको आठ बजिसकेको थियो । दस बजेको स्कूलका लागि तयार हुनु पनि थियो । लोकमार्ग छेउमा हिँड्दाहिँड्दै निकै टाढा पुगेँछु । बाटामा अधिकारी बाजेको घरमा पसेर हाइप्रेसरको जडिबुटी पनि लिनुथियो । फर्किन समय लाग्ने भएकाले पनि म हतारमा थिएँ ।
त्यतिकैमा एउटा फुच्चे गाडी आयो । मेरै नजिक भएर गयो । झ्यालबाट निस्केको ज्याकेटको सप्को मेरो टाउकैमा लाग्यो । म रिसले धुँवाधुँवा भएँ । र; फर्केर हेरेको त गाडीका दुई कुनामा लेखिएको थियो- मुर्कुची-काठमाडौं । अर्थोक केही पढ्न भ्याइनँ । गाडी हुइँकी गयो । बरू नजिकै केही वस्तु फ्यात्त खसेको आवाज आयो । आ, जेसुकै खसोस् भनेर सरासर तीनचार पाइला अघि बढाएँ ।
तुरुन्तै मन बदलियो । नजानिँदो गरेर पछाडि फर्केको ता ठुलोे साइजको सामसुङ मोबाइल पो छ्याल्लब्याल्ल परेको अवस्था देखियो । टिप्न निहुरिनुपूर्व चारैतिर नजर दौडाएँ । नजिक कोही थिएनन् । हत्तपत्त टिपेँ र गाडी गएतिर हेरिरहेँ । गाडी कहाँ पुग्यो, पुग्यो । कोही पनि मेरो मोबाइल भन्दै दौडदै आएन । गोजीमा खाँदखुद पारेर केही नभएझैँ गरी कोठा फर्किएँ ।
कपडा बदलेँ । गृहलक्ष्मीको सहयोगले स्नादि गरेँ । र; चार गाँस तात्तातो चारो टिपेर स्कूलतिर दौडिएँ । प्रार्थना घण्टी भर्खरै लागेको रहेछ । दुई मिनेट ढिलो भएको भए आधा घण्टा गेटमै कुर्नुपर्थ्याे । म त सानो दर्जाको मास्टर, हेडसर ढिलो भए पनि प्रार्थना नसकीकन गेट खोलिन्थ्यो । नियम सानाठुलालाई एक समान थियो ।
यहाँका कार्यालय सहयोगीहरु रैथाने रहेछन् । धेरै वटा हेडसरलाई चलाएका मात्रै हैन धेरै वटा भोटा फटाएका पनि रहेछन् । त्यसैले एक पटक पाएको निर्देशन उनीहरुलाई राम्रो लागे कहिल्यै फेर्न चाहँदा रहेनछन् । कहिलेकाहीँ त लाग्छ- यिनीहरुको मन पनि मेसिनको बनिसकेको हुनुपर्छ । नत्र नव आगन्तुक आएर गेट ढक्ढकाएको १५ मिनेट बितिसक्दा पनि पनि गेट खोलिदिँदैनन् । हामी जागिरेलाई नियमले पक्रनु स्वभाविकै थियो । एक दिन आउने पाहुनालाई त विद्यालय सहज बनाइदिनुपर्छ नि ।
मनमा यस्तै कुरा आए । र; नियम भनेको नियमै हो भन्दै सेलाएर गए पनि । विद्यार्थीहरुसँग हुँदा घरपरिवारका सारा काम कुरा बिर्सने बानी छ । छुट्टीको घन्टी बजेपछि पो सम्झिएँ- बिहान लगाएको कपडामा भेटेको मोबाइल थियो । बाहिरबाट हेर्दा मोबाइल नयाँ देखिन्थ्यो । स्क्रिनको सिसा भर्खरै फुटेको थियो । सायद ज्याकेट समेट्दा उछिट्टिएर खसेको हुनुपर्छ ।
कसको हो कुन्नि ? कत्ति चोटि फोन आइसक्यो होला । अब कसरी फिर्ता गर्ने होला ? नानाभाँतीका कुरा खेलाउँदै कोठामा पुगेँ । कोठा ढक्ढकाएको त, हाई साउन्डमा मोबाइल बज्न सुरू भयो । पलङको एक कुनामा लक्ष्मी लडीबुडी गर्दै हाँसिरहेकी भेटिइन् । उनी खित्का छाडेर हाँस्दा माहोल आश्चर्यजनक भयो । हाँस्नुको कारण सोध्न चाहन्थेँ । उनी बोल्न नसकेर बजिरहेको मोबाइलतिर मात्रै सङ्केत गरिरहेकी थिइन् ।
मोबाइलमा सुनिँदै थियो-
मेरी पियारी काली,
मुलाई त आश छ, उहाँ तिमी सुखमै बसेकी हौली । तहाँ शान र मानमा कमी नहोला । म त तिमीले त्यागेको त्रिजुगा नदीधारमै माथि जाने दिन गन्दै बसेको छु । अचेल लामा भाइकाँ कम्पेटर चलाउन पनि सिकिर’को छु । कम्पेटरमा फिलिम बजाउन र फुटो हेर्न भने जान्दछु । जेठो छोराले एउटा चैनिज मुबाइल किन्देको छ । त्यस्मै लेख्न र बोलेर रिकर्ड गर्न समेत आफैँले सिक्तै छु ।
जोवानीमा त घरको काम गरिएन त्यो ता तिमीलाई पनि थाहै छ । अइले सात दशक उमेर खा’को बुढो कायाले मर्ने बेलामा के नै काम गर्नु र ? जानेको पनि छइन । मुबाइलमा कविता, गीद, गजल र लोकगीद लेखिबसेको छु । एकान्त भेट्यो कि हरदम तिमीलाई नै सम्झन्छु ।
दिनगन्ती गर्दा तिमी पनि मुलाई सदाको लागि छाडेर गा’को तीन दशक लागेछ । यस बिचमा त्रिजुगामा धेरै पानी बगेर गयो । मुइले पनि धामीझाँक्री गर्दै हिँड्ने काम कम गरेँ । अब मान्छेहरू झारफुकको काममा कम चासो दिन्छन् कि क्या हो । मुलाई उत्तिसारो मान मनितो गर्न छाडे । विश्वास गर्न पनि छाडेँ । म झारफुक मात्रै होइन शेर्पा दाइले झैँ जडीबुटीको ओखती पनि दिन्थेँ । यो खानु र त्यो नखानु भनेर कहन्थेँ । बेरामी मान्छेलाई ठिकै भा’को थ्यो । तो ता तिमी पनि जान्दछ्यौ ।
काली, मुइले भन्न चाहेको र अनुमति लिन खोजेको कुरा अझै तिमीलाई सुनाको छइन । मुबाइलको चारजर सकिन आटो । पैले चारज लाउँछु । अनि खाट्टी कुरो बताम्ला है त ! बाई पियारी काली !!!
सुनेर म पनि हाँस्न थालेँ । मेरो हाँसोमा आश्चर्य मिसिएको थियो । उनको हाँसोमा खै के थियो कुन्नि ? ठम्याउन सकिनँ । हामी जोईपोइको निश्चल हाँसो देखेर पाँच वर्षे छोरी गजल पनि हाँस्न थालिन् । उनको हाँसो चाहिँ लैलैको हाँसो थियो । अबुझ र बेहोसी हाँसो थियो । तिनै जना हाँस्दाहाँस्दा थाकियो ।
हामी हाँस्नुको कारण नै मोबाइलमा रेकर्ड गरिएको चिठी थियो । दाँत फुक्लिसकेका सत्तरी वर्ष हाराहारीका प्रौढले २०५० सालतिर स्वर्गवास भएकी पत्नीलाई सम्बोधन गरिएको वाचन थियो । त्यहाँ भएका ग्रामीण शब्द र लवजले स्तरीय नेपाली बोल्ने हामीलाई आश्चर्यमा पारेको थियो ।
लक्ष्मीले भनिन्, ‘यो कसको मोबाइल उठाएर ल्याउनुभयो । आन्द्राभुँडी अलगअलग थियो । जोडजाड पारेर यसो बजाउन खोजेको त यस्तो पो बज्यो । हाँस्दा हाँस्दा झन्डै मरेँ ।’
‘अर्काका गोप्य कुरा सुन्न कस्तो अप्ठ्यारो नलागेको ।’, मैले पनि सहज भएको बहाना गर्दै जवाफ फर्काएँ ।
उनले कुरा बुझ्न कोसिस गरिरहिन् । म भने सक्तो छलेर झन् जिज्ञासु बनाई रहेँ । अन्तमा हायलकायल भएर साँचो कुरा बताउन बिन्ती गर्न थालिन् । मैले पनि बिहानको सारा वृतान्त बताएँ ।
अनि व्यङ्ग्य गर्दै उनले भनिन्, ‘तपैंकै उदयपुर जिल्लाको मान्छेको रैछ, यो मोबाइल ! बुढेसकालमा जवानी पसेको मान्छे रै‘छ । बोल्न पनि जान्दो रै‘नरछ । कुरो चैँ सरक्क मिलाउँदो रछ, है !’
उनको व्यङ्ग्यले धेरै कुरा भनिसकेको थियो तर मैले सुनेकोमा ती कुरा आएकै थिएनन् । पक्कै पनि अर्को रेकर्ड होला भन्ने लाग्यो । र; मोबाइल कोट्याउन थालेँ । तुरून्तै अर्को फाइल ओपेन भयो ।
पियारी काली,
अस्ति पठाको मेसेज तिमीले पायौ होली । आज पनि लेख्न ता बसेँ तर लेखी सिद्धयाँउँला या नसिद्धयाउला भन्न चैँ सक्तिनँ ।
पोक्ची ! मरिसकेको मान्छेलाई साउन्ड मेसेज किन पठाको भनउली ! संसारका लागि तिमी मरेकी हउली तर मेरा लागि चैँ तिमी सारसौँदी छेऊ । अज हाम्रा धार्मिक ग्रन्थहरुले भनेका छन्- मान्छे भनेको आत्मा हो । आत्मा न कहिल्यै मर्छ न कहिल्यै जन्मिन्छ । न यसको रुप हुन्छ, न यसलाई कसैले दबाउन सक्छ । यो त अविनासी छ, अजम्बरी छ ।
आत्माले शरीर फेर्छ । तिमी कालीको शरीरमा थियौ र मेरी पत्नी भयौ । कालीको शरीरबाट तिमी भिन्न भएपछि तिमी अर्को खुट्किलो मात्रै चढ्यौ । तिमी बाँचेकै छेऊ । तिमी मेरै पत्नी हऊ । 
मलाई त लाग्छ- म तिमीलाई देख्दिनँ र भेट्दिनँ पनि । तर, तिमी सब कुरा देख्न सक्छ्यौ । सिर्फ भोग्न सक्तिनौ । मेरो आवाज सुन्न पनि सक्छेऊ । मेरा रिकडको त के कुरा मेरो मनको भावना पढ्न पनि सक्छेऊ ।
कहिलेकाँही तिम्रो मोबिल लम्बर भए हुन्थ्यो भन्ने लाग्छ । तर, म नै हुस्सु २०५० सालतिर हाम्रा गाउँमा काँ मोबिल आ’को थ्यो  र ! फेरि तिमी शरीरमा छइनऊ । काँ को कुरा हुनु !
काली ! कुरा गर्दा गर्दै अन्तै बहकिएँछु । हाम्रा गाउँमा नेपाल र इन्डियाको लाहुरमा पिलसिङ पकाउने मान्छे धेरै भए । मुइले ता चानस पाउँदै पाइनँ । यता तईंले छाडेर गइस्, उता दुई, चार बर्खमा सिमेन्ट कम्पनीको जागिरले नै मुलाई छाडिदियो । जागिर जाँदा त मेरो पहिचोन नै हरायो । हातमा पैसा आउन छाडेसी सारै दुःख पाएँ ।
भोगेका दुःख-बेमारका कुरा समेटेर किताप पनि लेखेँ । नाउ चाहिँ अचम्मैकै राखेँछु । अहिले आ‘र आर्को किताप पनि छपाको छु । नाम चैँ सुहाउँदिलै राखेको छु । के भने दुःखले पीडा दिन्छ । पीडाले आँसु निकाल्छ । आसुसँग मान्छे हाँस्न सक्तदैन । यस्तै कुरो समेटेर नाउ राखेको छु । 
पल्ला घरका सुबेडी बाजे भन्न थाले, ‘बुडा ! तिमी कविता, गीदहरु लेख्दा रै‘छौ । आफ्नो दुःख हइन, देशको दुःख लेख । हाम्रो दुःख लेख । हामेरु कसरी हाँस्नू ? उपाय बता‘र र बाटो देखा‘र लेख । अनि तिमी अमर हुने छौ ।’
मुलाई उनको कुरो मुन परो । र; सोच्दासोच्दा गरेर नाम जुराउन पुगेँ । रोएको देश कसरी हाँसोस् र ! देश नहाँसेको कुरा लेखेँ । बेथिति मौलार जगतै ढाकिस‘को भनेर लेखेँ । थुनामा मान्छेले ज्वाइँजस्तो पोसिएर हैन कमारोजस्तो जोतिएर देशकोेेे ऋण तिर्नुपर्छ भनेर लेखेँ । 
मुख्ये कुरा नबताईकनै मोबिलको दम रोकिन लागेको सूचना आयो । चारज भएपछि एकछिन फेसबुकाँमा टाइम बिता’र तिमीसँग बात मारौँला है काली ! बाई !!!  
बुढाका कतिपय कुरा मन परे । बुढाले बुढीसँग अनुमति लिन चाहेको मुख्य कुरो के थियो कुन्नि ? मनमा खुल्दुली लागिरह्यो । मोबाइल कोट्याउतिर ध्यान दिन थालेँ । नयाँ मोबाइल चलाउने ढङ्ग पनि थिएन ।
लक्ष्मीले देखेर व्यङ्ग्य गरिन्, ‘अर्काको गोप्य कुरा के थाहा पाउन खोज्या कुन्नि ? खुरूक्क कसको मोबाइल हो, उसलाई फोन गरेर दिनु क्या ! कि तपैँ पनि कृष्ण धरावासीले झैँ कथा लेख्ने ? उनले आफ्नो घरमा झुण्ड्याएको झोलाभित्र भेटेको पुरानो कागजको जानकारीका आधारमा ‘झोला’ शीर्षकको कथा लेखेका थिए रे । पछि त्यो यति प्रसिद्ध भएछ कि ‘झोला’ नामको सिनेमा पनि बनेको छ । मैले पनि हेर्ने अवसर पाएकी छु । कि त्यस्तै नाम कमाउने लोभ छ ?’
म निरूत्तर मोबाइल कोट्याउन व्यस्त थिएँ । लक्ष्मी गनगन गर्न छाडेर सुसेधन्दामा व्यस्त बनिन् । कान्छी छोरी छिमेकी सन्ध्या सिंहसँग ब्याडमिन्टन खेल्न व्यस्त थिइन् । म भने अर्को फाइल बजाउन चाहन्थेँ । त्यो मुख्य कुरो पत्ता लगाउन चाहन्थेँ । नभन्दै फाइल भेटेँ । बज्न थाल्यो- काली ! म त फेरि आएँ । फेसबुकाँमा १५ मिनेट समए बिताएँ । यो एनसेल मोराले पैसा सपै काटो । नचलाईकन चित्त बुज्दैन । चलाउनसाथ पैसा भुर्कुट पार्छ । अज यसले सरखारलाई तिरो बुझाएन भनेको सुन्छु । हामेरुबाट ग्वाम्म असुल्छ । तिरो तिर्न किन कन्जुस्याइँ गर्छ ? धनीमानीको सरखार ठग्ने चलन देख्दा छक्क पर्छु । अज सरखार पनि धनीमानीकै पछि लाग्छ । लाजमर्दो कुरो ! नियमकानुनले काम गर्नुपर्ने ! किन डराउँछ कुन्नि ?
तँइले छाड्दा छोराछोरी बालखै थे । उदर्को हेरविचार गर्दा म कत्ति रोएँ, चाँडै छाडेर गइस् भनेर तँलाई कत्ति सरापेँ, हिसाप छइन । पछि सपैले आआफ्नो लगनी गरे । छोरीहरू ज्वाइँसँग गए । छोराहरू बुहारीसँग मिले । कोई विदेश पसे, कोई भने काठमान्डु भासिए । म नाति र नातिनीसँग यहीँ गाममा बस्थेँ । दुःखको कुरो- एगार बर्खको नाति केटोलाई दुई मैना अघि ढुङ्गा बोक्ने ट्रिपरले किचेर मारिदियो । 
हामीहेरूले हेलिकेप्टर बोला’र बेलैमा अस्पताल पुरा’को भए तै बाँच्थ्यो कि ? क्या जाति भन्छन् कुन्नि, यताको गामघर पनि कम्लेस्ट र काङग्रेच भरूको छ । पीरमर्कामा सहयोग गर्न पनि दिक्क मान्छन् । परेको बेलाँ पनि आफ्नु पार्टी खोज्छन् । राष्ट्रेले त दुःख पा‘को छ । अम्रिकाको राष्टेपति बरू हामी गरिप जन्ताजस्ता छन् । तर गामकै नेता राष्ट्रेपतिजस्ता छन् ।
माउवादीको नेता भा’को हर्कमानलाई हुटेलमा चिये पिउँदै गरेको देखेथेँ । जुठो बार्दा अलिनो खा’को मान्छे बोल्ने ताकतै थिएन । केही सरसल्लाहा दिन्थे कि ? पछि कुरा गरौँला भनेर परबाटै घुरेँ । त्यै नातिनीले गाईको दुद हालेको मीठो चिये बना’र दिई । सधैँ दे है नानी भनेको त उसले भनी, ‘हजुर्बा ! छोरीको जात काँ सधैँ पाउँछु र ! कइले काँ जानुपर्ने हो, के ठेकान ?’ 
काली ! उसको उत्तरापत्ताराले म त भुतुक्क भएँ । सहयोग गर्ने नाति दैवको पियारो भो । पकाईतुल्याई खुवाउने नातिनीले पनि छाडेर अर्काको घर गएपछि म एक्लै पर्ने भएँ । त्यसैले बाँकी जीवन बाँच्नका लागि तँसँग सल्लाहा माग्न खोजेको हुँ ।
अचेल फेसबुकाँमा मसँग छोरी मान्छे मात्रै झुम्मिन्छन् । तीमध्ये एउटी पुलिस्नी छोरी मान्छे छे । पिल्सिङ पकाएपछि म तपैँसँग बिहे गर्छु भन्छे । बुडेसकालमा बसीबसी खाऔँला भन्छे । अब तिमी के भन्छ्यौ ? म के गरुँ ?
मलाई सपनी आ’र उचित जवाफ देऊ है काली ! मेरो विवशता बुज है काली ! यति नै !!! 
+++
मोबाइल बन्द हुँदा पनि म भने काननेर लगेर सुनिराखेको रहेँछु । लक्ष्मीको झकझकाहटले पो म झसङ्ग भएँ । सम्झेर ल्याउँदा आफैँ रातोपिरो बन्न पुगेँ ।
०००
उदयपुर
Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
छलछाम छात्ते छ पार्टी

छलछाम छात्ते छ पार्टी

नन्दलाल आचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य