साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदको चमत्कार !!

पैसा र पावरको त कुरै नगरौँ । कमिसन खानदेखि कर छली गर्न पाइन्छ । ठेक्कापट्टा कुम्ल्याउनदेखि निर्दोष निम्छराहरूको ढाड सुम्ल्याउन पाइन्छ । स्कुल, अस्पताल, अदालत, सरकारी कार्यालय, संस्थान, प्राइभेट कम्पनी सबैलाई आफ्नो मुठीमा कस्न पाइन्छ ।

Nepal Telecom ad

रेहित सैजु :

साथी हो, मलाई पद चाहिएको छ । म नहराएको पदको खोजीमा छु । तपाईंलाई अचम्म लाग्न सक्छ, पद भनेपछि तीनकोस पर भाग्ने मनुवाले आज आाफैलाई ‘पद चाहियो’ भन्ने अभिव्यक्ति पोख्यो भनेर । अचम्म नमान्नुस् । खासमा खाँटी कुरो यही हो । मलाई अहिलेको परिप्रेक्ष्यमा पद चाहिएको छ । जसरी पनि चाहिएको छ । मैले आफूपछि पर्नुको चुरो यही पद हो भन्ने थाहा भएपछि अब मलाई पद लिनबाट कसैले रोक्न सक्ने छैन । त्यसो त बिना पदमा रहँदा आफ्नै साथीभाइ, हितैषी मित्रबाट पानी नचल्ने जात जस्तो व्यवहार आउन थालेपछि न पदको पगरी गुँथ्ने इच्छा राखेको हुँ । खोजेर हुन्छ कि खोसेर अब पदमा त थ्याच्च बस्ने नै हो ।

हुन पनि हो, राजनीतिमा प्रवेश गर्न आफैले बेलामा बुद्धि पुर्‍याइएन छ । पढाई जीवनको आधार हो भनेर पढ्नतिर लागियो । धत् ! केको आधार हुनु ! मेरो लागि त पढाई जीवनको बाधा हो भनेजस्तै भइरहेछ । अहिले आएर पो बुझ्दै छु, पढाइ नभएर पद चाहिँ जीवनको आधार हो । स्कूल पढ्दा पढाउने शिक्षकले राजनीति गर्नु गराउनु हुँदैन भनेर राजनीति गर्न खोज्ने सरको विरोधमा लागियो । स्कूलमा तालाबन्दी समेत गरियो । क्याम्पस पढ्दै गर्दा साथीहरूले सङ्गठनको सदस्यता लिनुपर्छ त भनेका थिए तर के गर्नु आफ्नो सोझो दिमाग ! लाग्दै छ, त्यतिखेर आफ्नो सोझो दिमागलाई अलिकति मात्र भए पनि बङ्ग्याउन सकेको भए आज यसरी डाँको छोड्न त पर्दैनथ्याे ।

मसँग पद नभएकै कारण अरु त के कुरा गर्नु, म आफ्नै श्रीमतीबाट समेत अपहेलित हुनु परेकाे छ । श्रीमती मसँग च्याठिँदै भन्छिन्, ‘अई, तिमीसँग के छ ? मसँग त महिला सङ्घको भए पनि सदस्यता कार्ड छ । हेर बुढा अब तिम्रो यस्तै ताल भइराख्ने हो भने म तिमीसँग छाेड्पत्र गर्छु है । पाखुरा बलियो बनाएर राख, फेरि बुढेसकालमा एक्लै रोएर बस्नु पर्ला नि होस गर ।’ यही विषायमा लोग्ने स्वास्नीको बीच विवाद नभएको कुनै दिन र रात हुँदैन । यदि कुनै दिन विवाद भएनछ भने वरपरका छिमेकीहरू तिनका स्वास्नी माइत गई होलिन् भन्ने आशङ्का  गर्ने गर्छन् । विचरा पसलेहरूले त तक्मा लगाइसके- हैन, यिनको घरकै लागि मात्र भए पनि डाडु र झाडु पसल त राख्नै पर्छ ।

पदविहीन भएर बस्नु पर्दा कतिसम्म गिर्नुपर्छ भन्ने विषयमा म जत्तिको विज्ञ शायद कोही छैनन् । आज त भात गिलो, साह्रो भएछ । तरकारीमा नुन चर्को भएछ त भन्नसम्म पाउँदिनँ । यदि केहीगरी ‘नुन बढी भयो कि क्या हो, चर्को भएछ त’ भन्ने आवाज मेरो मुखबाट फुत्क्यो भने कति चर्को गालीको सामना गर्नुपर्छ त्यो मलाई मात्रै थाहा छ । ‘मीठो मसिनो खान त गतिलो पद पनि हुनु पर्‍यो नि, कुनै पदमा भएको भए त तिम्रो घरमै भान्छे हुन्थ्यो, मीठो मीठो पाक्थ्यो । मेरै अभागी खप्पर । कस्तासँग लगन जुराइदिएका हुन् भगवानले पनि… आफै पकाउनु त कता हो कता पकाएर दिँदा पनि श्रेय नदिने । कुन जुनीको पाप हो, हे श्रीकृष्ण !!’ लु तपाईं आफै भन्नुस् त यस्तो अवस्थामा म के गरूँ… !

एक दिन सुत्ने बेलामा बुढीलाई माया गरेर भनेँ, ‘ए बुढी, तँ जतिखेर नि पद पद मात्रै भन्छेस्, आखिर तैँले पदमा के देखिस् हँ, जुन मैले देखिनँ भन् त ?’ ‘ए बुढा तिमी अन्धा छौ कि आँखा फुकालेर हिँड्ने गर्‍या छौ हँ ? सिरानघरे बाटुलीलाई देख्दैनौ, तिनको चमकचमक फुर्ति ? यो सबै उनको लोग्ने राजनीतिको ठूलो पदमा भएर हो । उनीहरूसँग पद छ, पैसा छ, पावर छ । यताउता जान पोजेरो छ । ढोकामा पालेदेखि भान्सामा भान्छेसम्म पैसा दिएर पालेका छन् । हप्तामा एक दिन पाँचतारे होटलमा डिनर गर्न जान्छन् । गरगहनाको त कुरै नगर्नु । जग्गा पनि सत्र ठाउँमा प्लटिङ गरेर राखेका छन् । सत्र पुस्तालाई पुग्ने मनग्गे सम्पत्ति कमा’का छन् । कता कता सुन्दै छु, उनीहरू त मङ्गल ग्रहमा पनि जग्गा खरिद गर्न लाग्दैछन् रे… !

म भन्छु, ‘हैट, हैन होला… यस्तो अकुत सम्पत्ति हुनेलाई त अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण आयोगले बाँकी राख्दैन नि ।’
‘आ बुढा, वाहियात कुरा नगर, देखावटी नाम मात्र हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग त । खासमा यसको नाम अख्तियार सदुपयोग अनुसन्धान आयोग हुनुपर्ने हो । जो भ्रष्टाचार गर्छ उसलाई उत्साह दिइरहेका हुन्छन् । ठूलाठूला घर-घरानियाँहरूको सम्पत्तिमाथि छानबिन भएको समाचार कहिल्यै सुनेका छौ ? हिजो फित्ते चप्पलमा सडक आन्दोलन गरेका उनीहरूलाई कहिल्यै भ्रष्टाचार गरेको आरोप लागेकाे छ र ? छैन नि । यो सब उनीहरूको पदको करामतले गर्दा भएको हो । भ्रष्टाचार निवारण आयोगको नाम फेरेर भ्रष्टाचार आवरण आयोग राख्नुपर्छ कि कसाे । खासमा भ्रष्टाचार निवारण आयोगको काम भ्रष्टाचार रोक्ने हो तर यहाँ लुकाउने काम गर्ने गरिन्छ । भ्रष्टाचारीलाई ढाकछोप गर्ने गरिएको छ । भन्न त छानबिन समिति बनाएका छौँ भन्छन् पनि तर के गर्नु छानबिन समितिका पदाधिकारीहरूले पो झन् रामवाणले समेत गर्न नसकेको चमत्कार गरिदिन्छन् । उनीहरूले भ्रष्टाचार नगरेको ठहर त गर्छन् गर्छन्, हुँदाहुँदै उनीहरू समेत आफैले आवरण फेरिसक्छन् । अनि पदको कुरा किन नगर्नु त… तिमी आफै भन त बुढा… ।

एसिड भन्दा चर्को बुढीको कुराले मलाई झ्वाम्म पोल्यो । घरमा टिकटकमात्र चलाएर बस्छिन् होली भनेको त देश विदेशको घटना, विचार, समसामयिक गतिविधिबारे पनि हेक्का राख्ने गर्दिरहिछिन् । एक छिन् टोलाएँ । काठमाडौं छिरेको यत्रो वर्ष भइसक्यो घर बनाउने त परको कुरा घडेरीसमेत खरिद गर्न सकेको छुइनँ । फेरि सँगै छिरेको साथीले काम गरेको पनि देख्दिनँ, उसले गगनचुम्बी हवेली ठड्याइसक्यो । आफ्नै निजी कारमा सरर डुल्छ । अझ घरमा महँगाे मूल्य पर्ने विदेशी कुकुर पनि पालेकाे छ । लवाइखवाइको त कुरै नगरौँ । दिनदिनै नयाँ नयाँ ठाउँमा गएको फोटो फेसबुकमा हालिरहन्छ । आफू चाहिँ मन लागिनलागी लाइक कमेण्ट गर्नु पर्‍या छ । पछि बुझ्दै जाँदा यी मित्र त राजनीतिक पार्टीको धुरन्धर कार्यकर्ता पो भइसकेका रैछ । कुकुरले आफ्नो मालिकको थुक चाटेजस्तै यिनी पनि थुप्रै मन्त्री, हाइप्रोफाइलका मान्छेहरूको थुक चाट्न सिपालु रैछ । औँसी पूर्णे जस्तै पार्टी बदलिरहँदा रैछ । कहिले राजावादीको पछाडि, कहिले प्रजातन्त्रवादी, कहिले लोकतन्त्र, गणतन्त्रवादीको अगाडि पछाडि लाग्दाेरैछ । गुप्तचर विभागमा काम गर्ने कर्मचारी जस्तै याे मित्र घरि यता घरि उता गरी देख्ने बुझ्नेहरूलाई नमज्जासँग छक्याएकाे रैछ ।

अलि अस्ति अफिसबाट डेरा फर्कने क्रममा खचाखच भएको गाडीमा चढ्न पुगेछु । बाटो उही खल्ड्याङखुल्डुङ । गाडी हल्लिनु स्वभाविक थियो । त्यस्तैमा खै कताबाट एउटी दिदीलाई छुन पुगेछु । रामराम मेरो त सातो नै खाइन् । भन्दै थिइन्, ‘ए भाइ पातलो कदका रहेछौ, आफ्नै हदमा बस । खराब नियतले आफ्नो हैँसियत देखाउन गाडीमा नचढ । तिमीहरू जस्तोलाई कसरी तह लाउनुपर्छ मजाले जानेको छु ।’ मैले रोक्दै ‘ए दिदी त्यस्तो होइन’ भन्न मात्र के लाग्दै थिएँ, ती दिदीको हात त मेरो घाँटीमा आइपुगिसकेछ । बिचरा त्यत्रो भिडमा मैले माफी माग्नै पर्ने भयो ।  दिदीले मेरो गिदी नै खल्बलाई दिइन् । शायद यिनी पनि कुनै न कुनै पद ओगटेर पो बसेकी होलिन् र त यत्रो आँट गरिन् । फेरि यहाँ महिलावादीहरू सशक्त भएर लागेको बेला आफू चुपचाप अशक्त भएर बस्नुमै वेश हुन्छ भन्ने ठम्याएँ ।

पदप्राप्तिको लागि मान्छेले जस्तोसुकै घृणित काम गर्न पनि तम्सिनुपर्छ । पदमा पुग्नको लागि चोर विधि अपनाउँदा को आफ्नो को पराई केही ठम्याउनै हुँदैन। उस्तै परे घुर्की देखाएर हुन्छ कि आफ्नै दाजुभाइलाई गोली ठोकेर हुन्छ पदप्राप्तिको बाटो पार गर्नै पर्छ । फेरि पदमा पुगेपछिे स्वभाव, चालढाल र ढङ्ग सबै नै बदल्नु जरुरी हुन्छ । देख्नेहरूले त भन्लान् ‘पदको चमत्कार, नैतिकतामाथि बलात्कार’ । तिनीहरूलाई के थाहा इमान्दारी भएर पदप्राप्तिको पथमा रथ दौडाउँदा सगरमाथा चढ्नु भन्दा पनि गाह्रो छ भनेर । अनि को लागोस् त यतापट्टि ।

वास्तवमा हो नै, राजनैतिक पदमा हुँदा के गर्न पाइँदैन ? सबथोक गर्न पाइन्छ । लाइन मिच्न पाइन्छ । कसैले प्रतिरोध गर्न खोजे तिनको घाँटी अँठ्याउन पाइन्छ । पैसा र पावरको त कुरै नगरौँ । कमिसन खानदेखि करछली गर्न पाइन्छ । ठेक्कापट्टा कुम्ल्याउनदेखि निर्दोष निम्छराहरूलाई महङ्गीले ढाड सुम्ल्याउन पाइन्छ । स्कूल, अस्पताल, अदालत, सरकारी कार्यालय, संस्थान, प्राइभेट कम्पनी सबैलाई आफ्नो मुठीमा कस्न पाइन्छ । नबन्ने र नहुने काम जबरजस्ती गर्न पाइन्छ । गैरजिम्मेवारी र लापरवाह हुन पाइन्छ । सबैभन्दा ठूलो काम संविधानकाे बेवास्ता गरेर गैरकानुनी काम गर्न पाइन्छ । नेपालको कानुन दैव जानून् भन्ने उखान त सबैलाई थाहा भएकै कुरो हो ।

तसर्थ पदमा हुनेलाई न कानुन लाग्छ न सतीको सराप नै लाग्छ । यो क्षेत्र स्वतन्त्र छ । यहाँ कसैको केही लाग्दैन । पदमा हुनेहरूको चमत्कार सृष्टिको चमत्कार भन्दा पनि भयानक छ । त्यसकारण पनि अब त मैले जेजसरी हुन्छ पदको पगरी गुँथ्नै पर्ने भयो ।

जे जस्तो नि गर्न छुट छ पदमा हुनेलाई
वास्ता हुन्न को को टुट्छ पदमा हुनेलाई
यो यस्तो ठाउँ हो, कसरी पो वर्णन गरूँ,
पैसा, शक्तिको एकजुट छ पदमा हुनेलाई ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rehit Saiju
Rehit Saiju
1 year ago

राम्रो

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x