साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटारो ‘च’

चटारोको बाटो लेउ लागेको जस्तै चिप्लो हुन्छ । हरियो बत्ती बलिरहने हुँदा यस मार्गमा सवार गर्दा दुर्घटना हुने सम्भावना ज्यादा हुन्छ । ठाउँठाउँमा रातो बत्तीको सिग्नल देखाउन सके चटारोले चटार्न सक्दैन भन्ने मेरो मनगढन्ते ठम्याई रहेको छ ।

Nepal Telecom ad

रेहित सैजु :

कोही भावनाको भवसागरमा डुबिरहेका छन्
कोही सपनाको आकाशमा उडिरहेका छन्
कुरा सुन्ने फुर्सद त, छैन हो कसैलाई पनि
यहाँ सबै आफ्नै तालमा दगुरिरहेका छन् ।

हाम्रा बुढापाकाले भन्ने गर्थे, ‘हेर् बाबु बाँच्नु मात्र पर्छ, अनेक देख्न पाइन्छ ।’ सत्य हो रहेछ । इहलीला पछि स्वर्ग देखिएला या नदेखिएला तर जिउँदो छँदा धर्तीको रामलीला भने प्रष्टै देख्न पाइन्छ । अचेल जताततै चटारो । अरे यार, जो पनि चटारोको खटारोमा चढेर यताउता दौडेका देखिन्छन् । साँच्चै यो चटारो बोकेको खटारोको ब्रेक फेल पो हुन्छ कि हुन्न होला… ! कहिलेकाहीँ यस्तो पनि लाग्छ, सबैभन्दा फुर्सदिलो चाहिँ मैँ हुँ, जो यिनीहरूको रमिता हेरेर बसेको छु ।

एकदिन अफिस जाने क्रममा माथि उकालो बाटोबाट एकजना आमाले स्कुले ड्रेस लगाएको बाबुलाई दौडाएर ओरालो झारिरहेको देखेँ । के पो भएछ भनेर एकटकले हेरेको त के हुनु तल रोडमा चर्को चर्को आवाजमा स्कुल बसले हर्न बजाएर उही बाबुलाई कुरेर बसेको रहेछ । बाबुलाई बसमा चढाएर ती आमा अघिकै बाटो सरासर उक्ले । ती आमा छोराको रमिता हेर्दा हेर्दै मलाई पनि अफिस पुग्न चटारो भइसकेछ । त्यसदिन मैले चटारोको चटनी मजाले पिरो हुनेगरी चाट्न पाएँ । त्यस घटनाबाट मैले एउटा ज्ञान लिएँ, निश्चित समयमा आफ्नो वयमा हिँडेको यात्रीले यताउता पाखामा आँखा डुलायो भने कामको लगाम छुट्ने रहेछ ।

चटारो ‘च’को चर्चा गर्दै जाँदा यसको कहानी घरबाटै शुरु हुँदोरहेछ । घरबाट पनि के भन्नु अझ आफैँबाट । तसर्थ चटारोको खानी चाहिँ ‘म’ पात्र नै रहेछ । बिहान आँखा खोले देखि राति आँखा चिम्म नगरे सम्म मान्छेलाई चटारोले साथ नछोड्ने रहेछ । बिहान आँखा खोल्यो, ‘ला आज त ढिला पो उठिएछ, अब यसो गर्नु छ, उसो गर्नु छ… हत्तेरिका खोइ कताकता पो भ्याउनु… त्यो पनि गर्नुपर्छ, यो पनि गर्नै पर्‍यो । त्यहाँ पनि पुग्नै पर्‍यो, उता त पुग्नु नै छ… ।’ अब लखतरान भएर बेडमा पुग्यो, ‘यो भ्याएन, त्यहाँ पनि पुगिएन… यसो भएन उसो भएन । यसो गर्दागर्दै आँखा चिम्म र भोलिबाट फेरी त्यही दैनिकी शुरु ।

मेरो स्कुले जीवन सकेपछि र अफिसमा जोडिनुपूर्व मलाई कुनै कुराको चटारो थिएन । मस्त जिन्दगी बिताइरहेको थिएँ । म आफैँ पनि थोप्पो चटारो लिन चाहन्थिनँ । चटारो नभएरै होला हतार भन्ने चीज कुनै कुराको नहुने रहेछ । यति फुर्सद थियो कि सास फेर्नु बाहेक मेरो केही काम नै थिएन । हो नि, कसैले के गर्दै छस् भन्दा खेरी अँ सास फेर्दै छु भन्दिन्थेँ । मलमुत्र विसर्जन गर्नसम्म अल्छी गर्दथेँ । कोही साथीले भेट्न बोलाउँदा पाँच मिनेटमै आइपुग्छु है भनेर आधा घण्टासम्म जानीजानी नपुगेको छु । फेरी यो अवस्थामा कसैलाई आफ्नो इच्छा व्यक्त गर्‍यो भने ‘कोइलाई के धन्दा घरज्वाइँलाई खानकै धन्दा’ भनेर मनै अमिल्याइदिन्छन् ।

चटारो यत्रतत्र सर्वत्र छ । यसको व्यापकता चारैतिर फैलिएको छ । गधाले के भारी बोक्छ, जति मान्छेले चटारोको भारी बोक्छ । गर्भभित्रको बच्चाले समेत चटारो लिइरहेका छन् । सजिलोसँग आफ्नै बाटो जाने कि अन्तै बाटो चिरेर जाने । लोग्ने स्वास्नीको चटारो, आमाबुवाको चटारो, दाजुभाइ दिदीबहिनीको चटारो । खासमा मान्छे चटारो नबोकी बाँच्न नसक्ने रहेछ । जिजीविषा साँच्नु पनि एउटा चटारो नै हो । त्यसैले चटारो कसलाई छैन, सबैलाई छ । कारिन्दादेखि हाकिम, राजनीतिको सिकारु कर्मीदेखि जुझारु कर्मी, वडासदस्यदेखि मन्त्री सांसद, बैङ्कका कर्मचारी, सेवाप्रदायक, सेवाग्राही, सञ्चालकदेखि लेखापरीक्षक, वकिल न्यायधीश, ठेकदार, रिबन काट्नेदेखि कुरा काट्ने, गुन्द्रुक खानेदेखि कमिसन खानेसम्म ठगदार, हल्दार, बिरामी, डाक्टर, गाडीको प्यासेञ्जर, कण्डक्टर, साहित्यकारदेखि घोस्ट राइटर, पास्टरदेखि मास्टर, पत्रकारदेखि अलपत्रकार, भुइँमान्छेदेखि टुप्पाको मान्छे सुन्ने बुझ्ने सबैसबैले चटारो बोकेकै देखिन्छन् ।

किसानलाई महाचटारो असार र मङ्सिर महिना हुन्छ । उसले सारा विश्वको रित्तो पेट भर्ने ठेक्का लिएका हुन्छन् । शिक्षकको चटारो शैक्षिक सत्रको अन्त्यतिर हुन्छ । उनीहरूको नतिजा प्रकाशन, मार्कलेजर तयार, भर्ना अभियानजस्ता विषयले खप्परमा ठक्कर दिइरहेका हुन्छन् । लेखापरीक्षकको चटारो आर्थिक वर्षको अन्त्यतिर हुन्छ । झोले कार्यकर्ता नेताहरूको चटारो बर्खा लाग्न थालेपछि हुन्छ । कसरी हुन्छ, बजेट फ्रिज हुन नदिने । विद्यालय, अस्पताल, अदालत, सरकारी कार्यालय, सांसद भवनतिर चाहिँ बाह्रै मास चटारोले चाम बाटिरहेकै हुन्छ । प्राइभेट अस्पताल, स्कुलतिरको चटारो सबैभन्दा चर्को हुन्छ । भन्सार विभागमा तस्करहरूको लस्करको झन् कुरा गरी साध्यै छैन ।

चटारो पनि कस्ता कस्ता । कसैलाई चुनावमा वडासदस्यमा भए पनि उठ्न चटारो । भ्रष्ट कर्मचारीलाई घुस खान चटारो । लुटेरा प्रवृत्ति भएकालाई लुट्न चटारो । नेतालाई अब आफ्नो भोटदाताहरूलाई के आश्वासन दिने होला भन्ने चटारो । कार्यकर्तालाई झुलाउन चटारो । सबैलाई आफ्नै आफ्नै प्रकृतिको चटारो । जेहोस् चटारो ‘च’ ले संसार खर्लप्पै खाएको छ । जता पनि भ्याएको छ । रामराज्य सबैतिर धाएकै छ ।

कतिपय चटारोको चक्रव्यूहमा परेर काम गर्दा त्यसले झटारो हान्न सक्छ । मेरो साथीलाई के भएछ भन्दा डायरिया भएछ । काठमाडौंमा फ्ल्याट सेयर गरेर बस्ने मान्छे बाथरुममा मान्छे नुहाइरहेको अवस्थामा जानैपर्ने आवश्यक परेछ । डायरिया इन्द्रेको बाउ चन्द्रेले त रोक्न नसक्ने चीजलाई त्यसले झन् के सकोस् । विचरा उसको लागि नमीठो अनुभव तर श्रोताको लागि रमाइलो किस्सा । यस्ता घटना मेरा पनि थुप्रै छन् ।

बुझ्दै जाँदा चटारोको मुख चराको जस्तै चुच्चो हुन्छ । यसले जुन पनि बेला ठुँग्न सक्छ । चटारोको बाटो लेउ लागेको जस्तै चिप्लो हुन्छ । हरियो बत्ती बलिरहने हुँदा यस मार्गमा सवार गर्दा दुर्घटना हुने सम्भावना ज्यादा हुन्छ । ठाउँठाउँमा रातो बत्तीको सिग्नल देखाउन सके चटारोले चटार्न सक्दैन भन्ने मेरो मनगढन्ते ठम्याई रहेको छ । म मेरा पाठकवृन्दसँग के अनुरोध गर्दछु भने चटारोलाई काखी च्यापेर होइन साइडतिर मिल्काएर अघि बढ्न सके प्रतिफल सुन्नलायक हुने देखिन्छ । हाम्रो देशमा पनि जति काम हुन्छ सबै चटारोकै आसपास हुने गरेको छ । सिस्टमेटिक ढङ्गले काम व्यवहारमा उतार्न सके व्यक्तिगत, संस्थागत मात्र नभएर सारा देश समुन्नत हुन सक्नेमा कुनै दुईमत छैन । कि कसो साथीहरू… !

चटारोलाई,
काखी च्यापेर होइन मिल्काएर अघि बढौँ
समुन्नतको शिखरतिर सधैँ यसैगरी चढौँ
हतारले काम गर्दा मेलो बिग्रिन्छ याद गर्नु
काममा प्रणाली अपनाऔँ है सबैलाई जदौ ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x